शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ मा सघन उपचार कक्षमा राख्नुपर्ने संक्रमितको संख्या बढ्यो

प्रदेशका ९ कोभिड विशेष अस्पतालका सघन उपचार कक्षमा ४५५ जना संक्रमित उपचाररत
बुधबार, २९ वैशाख २०७८, १६ : ४१
बुधबार, २९ वैशाख २०७८

विराटनगर । कोरोनाको संक्रमण दर उच्च भएसँगै प्रदेश १ का कोभिड अस्पतालमा सघन उपचार कक्षमा राखेर उपचार गर्नुपर्ने संक्रमितको संख्या बढेको छ । प्रदेश १ मा सञ्चालित ९ वटै कोभिड विशेष अस्पतालमा सघन उपचार कक्षमा राखेर उपचार गर्नुपर्ने संक्रमितको संख्यामा वृद्धि भएको हो ।

प्रदेशमा सञ्चालित ५ सरकारी र ४ निजी कोभिड अस्पतालमा मंगलबार बेलुकासम्म ७६२ जनाको उपचार भईरहेको छ । तीमध्ये सघन उपचार कक्षअन्तर्गत आईसियुमा १६४, भेन्टिलेटरमा २८, एचडीयुमा २६३, उपचाररत छन् । जबकि तीन दिनअघि यो संख्या आधा कम थियो ।

सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत ओमकुमारी राजवंशीले तीन दिनको अवधिमा सघन उपचार कक्षमा राखेर उपचार गर्ने संक्रमितको संख्या एक्कासी बढेको बताइन् । कोभिड अस्पतालमा सघन उपचार कक्ष सीमित छन्, जनस्वास्थ्य अधिकृत राजवंशीले भनिन्, ‘अस्पताल आउने अधिकांश संक्रमितलाई सघन उपचार कक्षमा राख्नुपर्ने बाध्यता छ ।

अस्पतालमा अति सीमित संख्यामा सघन उपचार कक्ष रहने भएकाले त्यस्ता संक्रमितलाई भर्ना गरेर उपचार गर्न निकै कठिनाइ हुन थालेको उनले बताइन् । मन्त्रालयका अनुसार चार दिन अघिसम्म प्रदेश १ का कोभिड अस्पतालमा जम्मा ६०८ जना संक्रमित अस्पताल भर्ना भएका थिए ।

महामारीका कारण प्रदेश १ मा सञ्चालित १ हजार ९४ बेड क्षमताका ९ वटै कोभिड अस्पताल भरिएका छन् । बिरामीले भरिएपछि सबै कोभिड अस्पतालहरु थप बिरामी भर्ना लिन नसक्ने अवस्थामा पुगेका छन् । तीव्र संक्रमण दरका कारण विशेषगरी आईसियु बेड खोज्ने बिरामीको संख्या थामिनसक्नु भएको अस्पताल सञ्चालकहरुले जनाएका छन् । हालै संक्रमित भएका ८ हजार ८८२ जनामध्ये ८ हजार १२० जना होम आईसोलेसनमा छन् ।

आधा संक्रमित विराटनगरमा

कोरोना संक्रमणका कारण प्रदेश १ को अस्थायी राजधानी विराटनगर नराम्री प्रभावित बनेको छ । समुदायस्तरमा संक्रमण फैलिएपछि सघन बस्ती रहेको विराटनगर संक्रमणको चपेटामा फसेको हो । प्रदेशको कुल संक्रमित संख्याको झण्डै आधा विराटनगरका छन् ।

प्रदेशमा कुल ८ हजार ८८२ जना संक्रमितमध्ये विराटनगरका मात्र ३ हजार ५४४ जना छन् । जसमध्ये ३ हजार १३६ जना संस्थागत एवं होम आइसोलेसनमा छन् । ४०८ जनामा भने गम्भीर स्वास्थ्य समस्या आएपछि विराटनगरका विभिन्न कोभिड अस्पतालमा भर्ना भएर उपचाररत रहेको विराटनगर महानगरपालिकाका कोभिड संयोजक हैदर अलीले बताए ।

अलीका अनुसार विराटनगरका कोभिड अस्पतालहरुमा ६२ जनालाई अक्सिजन बेडमा, २१ जनालाई आइसियुमा र २० जनाको भेन्टिलेटरमा राखेर उपचार भईरहेको छ । अन्य संक्रमित जनरल वार्ड एवं अस्पतालको आइसोलेसनमा उपचाररत छन् । कोरोनाको दोश्रो लहरपछि विराटनगरका २९ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् ।

विस्तार गरिँदै सेवा

कोरोना संक्रमण दर उच्च हुँदै गएपछि प्रदेशका अस्पतालमा क्षमता विस्तार गरिएको छ । यो बीचमा केही नयाँ अस्पताललाई कोभिड उपचारका लागि प्रयोगमा ल्याइएको छ ।

प्रदेश सरकारको आग्रहमा सरकारी तथा निजी स्तरमा सञ्चालित कोभिड विशेष अस्पतालहरुले एक साताको अवधिमा कुल ७३३ बेड क्षमतालाई बढाएर कुल १ हजार ९४ बेड क्षमतामा विस्तार गरेका छन् ।

ती अस्पतालले सघन उपचार कक्ष आईसियु, भेन्टिलेटर, एचडीयुसहित जनरल बेडको सेवा बिस्तार गरेका हु्न् । प्रदेश सरकारले पनि संक्रमणको दर उच्च भएसँगै थप दुई सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरी सेवा प्रवाह गरेको छ ।

पहाडी जिल्ला धनकुटामा २६ बेडसहितको कोरोना अस्पताल सञ्चालन गरिएको छ भने पूर्वी पहाडी जिल्ला संखुवासभामा ४५ बेड क्षमताको अस्पताल सञ्चालनमा आएको छ ।

कडा लक्षण भएका कोरोना संक्रमितको उपचार गर्न विराटनगरस्थित कोशी अस्पतालले कोभिड अस्पताल सञ्चालनको तयारी थालेको छ । अस्पताल परिसरभित्र भेन्टिलेटरसहित ६१ बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याउने तयारी गरिएको हो । ५ बेडको भेन्टिलेटरसहितको आइसियू, २४ बेडको एचडीयू, ३२ बेड अक्सिजनसहितको अस्पताल सञ्चालनमा ल्याउने काम भइरहेको कोशी अस्पतलाका सुपरिटेन्डेन्ट (मेसु) डा. चुमनलाल दासले जानकारी दिए ।

अस्पतालको मेडिकल कक्ष र ग्राउण्ड फ्लोरको पोस्टमेटल वार्डलाई एक साताभित्र कोभिड अस्पतालको रूपमा सञ्चालन गर्ने गरी तयारी भइरहेको उनको भनाइ छ । उनका अनुसार मेडिकल कक्षभित्र चारवटा कोठा छन् । यी सबै कोठमा अक्सिजनसहितको बेड राखेर कोरोना संक्रमितको उपचार हुने उनले बताए ।

प्रदेश १ मा कुल सरकारी र निजी स्तरमा कोभिड विशेष उपचारका लागि ९ वटा अस्पताल छन् । जसमा बिराटनगरमा सबैभन्दा बढी चार, धरानमा एक, झापामा दुई, धनकुटा र संखुवासभामा एक÷एकवटा छन् ।

यसबीचमा सामाजिक विकासमन्त्री उषाकला राईले नोबेल र विराट मेडिकल कलेजलाई आफ्नो क्षमता थप विस्तार गर्न निर्देशन दिएको बताएकी छन् । उनले विराटनगर१० स्थित कोभिड१९ उपचार केन्द्रलाई पनि पूर्ण क्षमतामा सञ्चालन ल्याउन तथा आवश्यक स्वास्थ्य जनशक्तिको माग आपूर्ति गर्न आन्तरिक गृहकार्य भइरहेको बताइन् ।

हामीले मोरङको नोबेल र विराट मेडिकल कलेजलाई क्षमता विस्तार गर्दै ५÷५ सय बेडमा पु¥याउन निर्देशन दिएका छौं, उनले भनिन्, ‘निर्देशन बमोजिम अस्पतालहरुले आफ्नो क्षमता विस्तार गरिरहेका छन् । महामारी नियन्त्रणमा हामी सक्रिय छौं ।

प्रदेश सरकारकै लगानीमा सञ्चालित कोशी अस्पताल अन्तर्गतको कोभिड१९ केन्द्रमा ८० बेडको पुरानो अस्पताल भने करिब १० दिनदेखि बन्द अवस्थामा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुव भट्टराई
ध्रुव भट्टराई
लेखकबाट थप