शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

आसन्न राजनीतिमा प्रचण्डको अहम् कार्यभार

आगे प्रचण्ड र उहाँका सल्लाहकारहरूको विचार
बुधबार, २९ वैशाख २०७८, १४ : ५३
बुधबार, २९ वैशाख २०७८

नेपालमा कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठलाई केहीले ‘चीनविरुद्ध अमेरिकाको सीआइडी’ भनी तथ्यहीन फरेब लाउने गरेको सुनिन्छ । जुन निम्न तथ्यले शतप्रतिशत खण्डन गर्छ :

माओकालीन ‘महान् बहस’ पुस्तक पल्टाएर पढे हुन्छ, सन् १९५९ मा मस्कोमा कम्युनिस्टहरूको अन्तर्राष्ट्रिय सम्मेलन भयो । त्यहाँ माओले रुसी संशोधनवादविरुद्व ‘अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको आम कार्यदिशा’ प्रस्तावित गरे । त्यस सम्मेलनमा सहभागी पुष्पलालले सो प्रस्तावको समर्थन गरे । त्यसै आधारमा पछि पार्टी पुनर्गठन गर्दा पुष्पलालले नेपाली क्रान्तिको कार्यक्रम नयाँ जनवादी क्रान्ति भनी निर्धारण गरे । अतः प्रमाणित हुन्छ, ‘आम कार्यदिशा’ उल्लङ्घन गर्दै सर्वहारा अन्तरराष्ट्रवाद विरुद्व जाइलाग्ने खुस्चेबको नेपालस्थित सोभियत दूतावास धाएर पुष्पलालले चीनविरुद्व अमेरिकी सीआईडीगिरी गर्नुपर्ने कुनै स्थिति नै देखिँदैन । बरु त्यो काम त तेस्रो महाधिवेशनमा खुस्चेबको राष्ट्रिय प्रजातन्त्रको लाइन थोपरेर महासचिव बन्दै पार्टी विसर्जन गरेका तुलसीलाल अमात्यले गरेका हुन्, भन्ने पो ठहर्छ ।

अतः विश्लेषकको पगरी भिरेकाहरूले तथ्यको आधारमा बोल्न जान्नुपर्छ । अन्यथा खड्गप्रसाद ओलीजस्तै भष्मासुरे ताल हुने तथा देश र समाज भाँडिने मात्र हुन्छ ।

१. सोभियत छाताको अभावमा उत्पीडित राष्ट्रहरूको अवसान

भनिन्छ, खोक्रो नै भए पनि सोभियत सङ्घ रहँदासम्म विश्वका उत्पीडित तथा क्रान्तिकारी राष्ट्रहरू सुरक्षित देखिन्थे । जब सन् १९९० मा सोभियत सङ्घ ढल्यो, उत्पीडित राष्ट्रका शासकहरूको हत्या शृङ्खला तीव्र रूपमा बढ्यो । आफ्नै अभिजात वर्गीय आर्थिक जीवनशैली पनि जिम्मेवार थियो । तर बाह्य रूपमा अमेरिकी साम्राज्यवादको प्रहार निर्णायक ठहरियो, जसबाट रुमानियाका राष्ट्रपति निकोलाई चाउचेस्कु नराम्ररी मारिए । इराकका सद्दाम हुसेन, लिबियाका कर्णेल गद्दाफी हुँदै नेपालका राजा वीरेन्द्रको वंश विनाश भयो । मुस्लिम विद्रोही ओसामा बिन लादेनको हत्या पनि यसै सिलसिलाको उपज भन्न सकिन्छ ।

यद्यपि सोभियत सङ्घ हुँदै इन्डोनेसियाका सुकार्नो, चिलीका एलेन्डे तथा भोलिभियामा अर्नेस्टो चे ग्वेभाराको हत्या शृङ्खला चलेकै थियो । क्युबाका फिडेल क्यास्त्रो र भेनेजुयलाका ह्युगो चाभेजलाई पटक पटक मार्न खोजियो । भियतनामका हो ची मिन्हले भने प्रतिरोध सफल गरे ।

मार्क्सवादको कुशल प्रयोगद्वारा लेनिन– स्टालिनले सोभियत समाजवाद स्थापना गरे । योग्य उत्तराधिकारी स्टालिनद्वारा त्यसको रक्षा गर्दै निर्माण कार्य र दोस्रो विश्वयुद्धमा विजयबाट सोभियत सङ्घलाई विश्व महाशक्तिमा उठाउने काम भयो । सन् १९५३ मा स्टालिनको निधनपछि कम्युनिस्ट पार्टी र समाजवादी सत्ताविरुद्व प्रतिक्रान्ति गरे पनि सोभियत सङ्घको संरचनागत महाशक्ति भने ख्रुस्चेब हुँदै गोर्बाचोभसम्मकै निम्ति जरुरी थियो ।

यसरी आफ्नो पुँजीवादी सत्ता स्वार्थका लागि नै भए पनि सन् १९९० सम्म सोभियत सङ्घलाई सुरक्षित गर्नैपर्ने रुसी साम्राज्यवादी शासकहरूको उपस्थिति वार्सा सङ्गठन निकट उत्पीडित राष्ट्रहरूका निम्ति रक्षाकवच तथा संयुक्त राज्य अमेरिकाको निम्ति चुनौती बनेको थियो । अतः घटनाक्रमले पुष्टि गर्छ, आफ्नो तयारी नपुग्दासम्म क्रान्तिकारी विरासतका रूपमा स्थापित अभिभावकत्वको सख्त जरुरत पर्छ ।

२. अमेरिकी साम्राज्यवाद र नेपाल

आफ्नो पुस्तक ‘माङ्गेना : नेपाल मन्थन’ मा युग पाठक लेख्छन्, ‘१०४ वर्षको राणाशासन ढल्नु ठीक महिना दिनअघि नेपालमा एक अमेरिकी मिसन टोली घुस्यो र त्यसले २ हजार २०० अमेरिकी डलर अनुदान दिएर गयो । त्यो नै नेपालमा पहिलो आर्थिक अनुदानको बल्छी थियो ।’

सन् १७७६ को स्वाधीनता सङ्ग्रामका कारण अमेरिका र बेलायत बीचको सम्बन्ध कडा शत्रुतामा आधारित थियो । त्यसैले ब्रिटिस–भारत प्रभावका राणा शासन रहेसम्म अमेरिकाले टेक्ने आँट गरेन ।

भित्रभित्रै अमेरिकाले नेपाललाई चीनविरोधी अखडा बनाउने आफ्नो काम गरिरह्यो, बाहिर भने बेलायतको ठाउँ भारतले लिएको देखाउने गरिरहे । खम्पा विद्रोहको प्रपञ्चमार्फत सफल सैनिक गतिविधिमा उत्रेको अमेरिका शेरबहादुर देउवा गृहमन्त्री हुनासाथ सैन्य राजनीतिक आधार खडा गर्न सफल भयो । जसको तीव्रता नारायणहिटी कान्ड हुँदै इन्डो–प्यासिफिक रणनीतिको एमसीसीसम्म पुग्दैछ ।

भारतले कथित ठुल्दाइको रवाफ दर्साइरह्यो।  यसैलाई देखाएर महेन्द्रले बहुदलीय प्रणाली हटाइदिए । काँग्रेस– वाममोर्चा मिलेर १९९० मा  बहुदल पुनस्र्थापना भयो । त्यसमा भारतीय नेता चन्द्रशेखरको प्रत्यक्ष सहयोग रह्यो । आन्दोलनका बेला लन्डनमा पढेर बसेका देउवा १९९१ मा गिरिजा सरकारको गृहमन्त्री भए । अमेरिका अब भारतीय र बेलायती प्रभावबाट मुक्त गरेर देउवालाई आफ्नो तुल्याउने तानावानामा लाग्यो । परिणाम, जनआन्दोलनसँगै नेपालमा राजदूत बनाइएकी जुलिया चाङ ब्लकले अमेरिकी गैरसरकारी संस्था चलाइरहेकी आरजु राणासित देउवाको विवाह गराइदिइन् ।

संसदवादी दलहरूमा अहिले ओलीतन्त्रको जस्तै चरम विकृति बढ्यो । माओवादी जनयुद्व विस्तार हुँदै गयो । जब दोस्रो पटक कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री बने । लगत्तै राजा वीरेन्द्रले ‘माओवादी भनेको के हो ?’ भनेर अन्तर्वार्ता दिए । भट्टराईलाई हटाएर गिरिजा प्रधामन्त्री बन्न पुगे । अमेरिकी अस्वीकार्यताको लन्डनबाट आएर वीरेन्द्रका तर्फबाट धीरेन्द्रले माओवादीसँग वार्तालाभ गरे ।

चर्चा चलेको हो– वीरेन्द्र समक्ष अन्तिम राजा र प्रथम राष्ट्रपति बन्न, सेनामा बाराबरी जनदल तथा राजनीतिक, आर्थिक, सामाजिक रूपान्तरणको माओवादी कार्यसूची लिएर धीरेन्द्र शाह वीरेन्द्र कहाँ पुगे । सामन्तवादी सीमाभित्र पनि निश्चय नै वीरेन्द्र उदार राजा थिए । सम्भवतः उनी माओवादीको कार्यसूचीमा सहमत हुन पुगे ।

यस्तो कुरा अमेरिकालाई सह्य भएन । हत्याकाण्ड मच्चाएर वीरेन्द्रको वंश विनाश गराए । ज्ञानेन्द्रलाई कथित राजा घोषणा गरे । होलेरीमा असफल सैनिक परिचालन देखाउँदै गिरिजाले राजीनामा दिए । देउवा प्रधानमन्त्री भए । वार्ता मिलेन । सीधै अमेरिकी योजनामा माओवादीविरुद्व शाहीसेना परिचालन र सङ्कटकाल थोपरियो । दलहरूमा हाबी भारतीय प्रभावले देउवालाई अन्ततः साथ दिन इन्कार ग¥यो । देउवालाई ‘असक्षम’ घोषित गर्दै राज्य शक्ति ज्ञानेन्द्र स्वयंले हत्याउन पुगे ।

अमेरिका र दाजु वीरेन्द्रको दुईवटा लाइन एकैचोटि प्रयोग गर्दा ज्ञानेन्द्र असफलसिद्ध हुन गए । त्यो थियो, अमेरिकी सेवामा माओवादी समाप्त पार्ने र दाजुलाई देखाउँदै खासगरी महेन्द्रको सेवामा दलहरूलाई समाप्त पार्ने । तर नेपाली जनता जागेको दिन ज्ञानेन्द्रको मूर्खताले राजतन्त्र ढल्यो, माओवादीले भनेको आधा मात्र भए पनि गणतन्त्र आयो ।

३. प्रचण्डको अहम् कार्यभार

विचारधारामा माओवादको अडान तथा राजनीतिमा खड्ग ओली प्रतिको कठोर विद्रोहभावका कारण हामी छुट्टिएका थियौँ । परिबन्दले नै सही, प्रचण्डहरू माओवादमा आइपुगेका छन् भने ओलीविरुद्ध सम्झौताहीन सङ्घर्ष गरिरहेका छन् । यसै आधारमा माओवादी तथा पूर्व माओवादीबीच हामीले महाध्रुवीकरणबारे छलफल प्रारम्भ पनि गरेका छौँ ।

ओलीतन्त्रविरुद्व जोसुकैसँग कार्यनीतिक गठबन्धनमा हामीलाई आपत्ति छैन तर देश र जनताको हितमा इन्डो–अमेरिकी प्रपञ्चको एमसीसी खारेज गर्दै अहिलेको पुँजीवादी गणतन्त्रको रक्षा र यसलाई समाजवादी गणतन्त्रमा बदल्न स्पष्ट खाकासहित श्रमिकवर्गीय जीवनशैलीमा रूपान्तरण सङ्कल्पको कार्यभार उठाउने दीर्घकालीन योजनामा डट्ने हो भने प्रचण्डलाई हामीले साथ दिनुपर्ने वस्तुस्थिति स्वतः उपस्थित हुनेछ । जहाँ माओवादी तथा पूर्व माओवादी र सम्पूर्ण कम्युनिस्टहरू एवं देशभक्तहरू एक पटक सङ्गठित शक्तिमा परिणत हुनेछन् । जसले स्वाधीन र समृद्ध नेपालको आधुनिक जग स्थापित गर्नेछ र कमरेड प्रचण्ड भियतनाममा हो ची मिन्ह हुँदै क्युबामा क्यास्त्रो तथा भेनेजुएलामा ह्युगो चाभेजझैँ गणतन्त्र नेपालको अविभावक बन्न सक्ने छन् ।

महान जनयुद्धदेखि गणतन्त्र घोषणा गर्दै संविधान निर्माण र कार्यान्वयनसम्मको एक सहयोद्धाको सचेत आग्रह र सम्भव अपेक्षा हो यो । आगे प्रचण्ड र उहाँका सल्लाहकारहरूको विचार । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गोपाल किराती
गोपाल किराती
लेखकबाट थप