शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय सञ्चारमाध्यमको विश्लेषण : भारतको ‘सुझाव’ मा महन्थ ‘तटस्थ’, दिल्ली पछि हट्नुपर्छ

बुधबार, २९ वैशाख २०७८, २१ : ००
बुधबार, २९ वैशाख २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सत्ता समीकरणका लागि यतिबेला रस्साकस्सी चलिरहेको छ । माओवादी केन्द्र तथा जनता समाजवादी पार्टीको समर्थनमा काँग्रेस सभापति शेरबहादुर देउवा नयाँ सरकार गठनको प्रयासमा छन् । तर, जसपा नेपालभित्रको अन्तरद्वन्द्वले देउवाको सत्तारोहण कठिन देखिन थालेको छ ।

भारतीय सञ्चारमाध्यम द हिन्दुस्तान टाइम्सले प्रधानमन्त्री ओलीले विश्वासको मत गुमाएपछि नेपालमा अर्को राजनीतिक अस्थिरताको शुरुवात भएको विश्लेषण गरेको छ । पत्रिकाले एक सम्पादकीय लेख्दै भनेको छ, ‘वैकल्पिक सरकार गठनका लागि काँग्रेस, माओवादी, एमालेको नेपाल पक्ष र जसपा एक ठाउँमा आउन जरुरी छ । तर, जसपा यतिबेला विभाजित छ । महन्थ ठाकुरको नेतृत्वमा एक पक्षले यतिबेला ओली र देउवा दुवैसँग समदूरीमा बस्ने नीति अख्तियार गरेको छ ।’ पत्रिकाका अनुसार ओलीलाई अझै पनि नयाँ दिल्लीको समर्थन रहेकाले भारतले नै ठाकुरलाई ‘तटस्थ’ बस्न सुझाव दिएको हो ।

​यदि बहुमतको सरकार बन्ने वातावरण तयार नहुने हो भने फेरि पनि ठूलो दलको हिसाबले राष्ट्रपति विद्यादेवि भण्डारीले पुनः ओलीलाई नयाँ सरकार बनाउन आह्वान गर्नेछिन् । यसरी ओली पुनः प्रधानमन्त्री बन्नेछन् । पत्रिकाका अनुसार भारतको समर्थन, जसपाको विवाद र देउवा (जो यतिबेला नेतृत्व लिँदा राजनीतिकरुपमा फाइदा हुनेबारेमा स्पष्ट छैनन्) को साथले फेरि पनि ओली नै शक्तिमा रहने प्रबल सम्भावना रहेको छ । तर, उनी कोरोनाको व्यवस्थापनमा गैरजिम्मेवार, पार्टीको आन्तरिक राजनीतिमा अलोकतान्त्रिक र अल्पसंख्यकको मामिलामा भेदभाव गर्ने गरेको सम्पादकीयमा भनिएको छ ।

पत्रिकाले सम्पादकीयमार्फत नयाँ दिल्लीलाई नेपालको आन्तरिक राजनीतिबाट एक कदम पछाडि हटेर ‘अर्गानिकरुपमा’ नेपालको राजनीतिलाई विकास हुन दिन र नयाँ सरकारमा जो आए पनि आफ्नो नजिकको छिमेकीलाई महामारीविरुद्ध लड्न मद्दत गर्नुपर्ने सुझाव दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप