मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

स्थानीयको अवरोध : संक्रमितको मृत्यु भएको १७ घण्टापछि अन्त्येष्टि

बुधबार, २९ वैशाख २०७८, ०९ : ११
बुधबार, २९ वैशाख २०७८

स्थानीय अवरोधका कारण धरानका एक कोरोना संक्रमितको मृत्यु भएको १७ घण्टापछि अन्त्येष्टि गरिएको छ ।  संक्रमण फैलिने भन्दै स्थानीयले अवरोध गरेपछि  धरानका ती युवाको शव  ४० किलोमिटर टाढाको दुरीमा रहेको  विराटनगरको सिंघिया खोलामा  मंगलबार अपरान्ह पाँच बजे अन्त्येष्टी  गरिएको थियो ।

धरान वडा नं ३ का ४३ वर्षीय संक्रमित पुरुषको वीपी प्रतिष्ठान स्थित कोभिड अस्पतालमा राति १२ बजेर ४८ मिनेटमा मृत्यु भएको थियो । स्थानीय एवं ३ नं का सदस्य  विकास वनेपालीले शव धरानको कुनै दाहसंस्कार स्थलमा जलाउन स्थानीयले अवरोध गरेपछि आफन्तले विराटनगर लगेर  दाहसंस्कार गरेको बताए ।

वडाका जनप्रतिनिधिहरुले समन्वय र पहल गरेपनि स्थानीयको विरोधको कारण धरानको दाहसँस्कारस्थलमा शव अन्त्येष्टी गर्न नपाएको र अन्त्यमा बिराटनगर लानु परेको उनको भनाइ छ ।
उनका अनुसार धरानमा मात्र नभै, शव इटहरी र चतराको घाटमा समेत अन्त्येष्टी गर्न दिइएन ।

 'संक्रमितको शवलाई जनस्वास्थ्य सुरक्षा प्रोटोकल अपनाएर सुरक्षित तरिकाले अन्त्येष्टि गर्नुपर्छ भन्ने माग जायज हो, तर शवलाई परम्परा अनुसार दाह सँस्कारस्थलमा जलाउनै नदिने अमानवीय घटना धरानमा दोहोरिएको छ', उनले भने ।  

चार दिनअघि धरानको खत्रीधारास्थित दाह संस्कारस्थलमा धरान १६ का एक संक्रमित पुरुषको शव अन्त्येष्टी गर्न लैजाँदा पनि स्थानीयले संक्रमण फैलनसक्ने भन्दै  विरोध गरेका थिए। त्यसपछि, उक्त शवलाई जंगलमा लगेर राती गाड्नु परेको थियो । 

संक्रमितको शव अन्त्येष्टी गर्न नदिएको बारेमा नगर प्रमुख तिलक राईले यसअघि नै सरोकारवाला दाहसँस्कारस्थल, वन समुहहरुसँग छलफल गरेर निर्णय गरेको भएपनि अहिले फेरि स्थानीयको अवरोधले समस्या भएको बताइएको छ । यस बिषयमा सरोकारवालासँग आज थप छलफल गरी सहज वातावरण बनाउने मेयर राईले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप