मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सङ्कटमा प्रवासीको साथ

बुधबार, २९ वैशाख २०७८, ०९ : ०६
बुधबार, २९ वैशाख २०७८

कोरोना महामारीविरुद्धको लडाइँमा प्रवासी नेपालीले साथ दिएका छन् । विश्वभर छरिएर रहेका बागलुङेको संस्था अन्तर्राष्ट्रिय बागलुङ समाजले महामारीका बेला अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेका हुन् ।

समाजको सहयोग र नेपाल पत्रकार महासङ्घ बागलुङको समन्वयमा मङ्गलबार धवलागिरि अस्पताललाई ५० थान व्यक्तिगत सुरक्षा कवच (पिपिइ), १५ लिटर स्यानिटाइजर, सर्जिकल मास्क १० प्याकेट र सर्जिकल ग्लोब्स तीन प्याकेट हस्तान्तरण गरिएको हो । 

समाजका कार्यालय प्रमुख सुरेन्द्र कँडेल र महासङ्घका अध्यक्ष नरेश कँडेलले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानामगरलाई सामग्री हस्तान्तरण गर्नुभएको थियो । यस्तै बागलुङ नगरपालिकाद्वारा सञ्चालित आइसोलेशन कक्षका लागि पाँच थान पिपिइ, १० प्याकेट सर्जिकल मास्क, एक प्याकेट सर्जिकल ग्लोब्स र १० लिटर स्यानिटाइजर प्रदान गरिएको समाजले जनाएको छ ।

ताराखोला गाउँपालिकाका लागि १० थान र बाँकी आठ स्थानीय तहका लागि चार थानका दरले पिपिइ र ६३ प्याकेट सर्जिकल मास्क उपलब्ध गराइएको समाजका कार्यालय प्रमुख कँडेलले जानकारी दिए । स्वास्थ्य कार्यालय बागलुङलाई शव व्यवस्थानमा चाहिने सर्जिकल ग्लोब्स तीन प्याकेट, ताराखोला गाउँपालिकालाई चार प्याकेट सर्जिकल ग्लोब्ससहित ३० वटा थर्मोमिटर पनि प्रदान गरिएको छ । 

यस्तै जिल्लामा क्रियाशील पत्रकारका लागि सर्जिकल मास्क १२ प्याकेट र पाँच लिटर स्यानिटाइजर समाजद्वारा प्राप्त भएको महासङ्घका अध्यक्ष नरेश कँडेलले बताउनुभयो । सदरमुकाममा सामग्री हस्तान्तरण गरिए पनि ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्था र आइसोलेशन केन्द्रमा आज सामग्री पठाइने भएको छ ।

सामग्री बुझ्दै अस्पतालका अध्यक्ष रानामगरले महामारीसँग जुधिरहेका चिकित्सक, स्वास्थ्यकर्मीलाई अत्यावश्यक सामग्री सहयोग गरेर समाजले उल्लेखनीय कार्य गरेको बताए । सङ्कटको घडीमा राज्य एक्लैले सबैथोक गर्न नसक्ने हुँदा नागरिकस्तरबाट सहयोगको हातेमालो हुनुपर्ने उनको भनाइ थियो ।

अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र वि पोखरेलले सीमित स्रोत, साधनका बीच पनि बिरामीको सेवामा आफूहरु दिनरात नभनी खटिएको बताए । अस्पतालले दक्ष जनशक्ति, स्वास्थ्य उपकरणसहित भौतिक संरचनाको समेत अभाव झेलिरहेको उनले उल्लेख गरे ।

समाजका उपाध्यक्ष बेलुकाजी थापाले जिल्लाको तत्कालीन आवश्यकता हेरेर स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरिएको बताए । उनका अनुसार महामारीको स्थिति हेरेर समाजले आउँदा दिनमा पनि सहयोगलाई निरन्तरता दिने भएको छ । आवश्यकता पर्दा बागलुङमा रहेको समाजको कार्यालयलाई आइसोलेशन कक्षका रूपमा प्रयोग गर्न सकिने निर्णयसमेत गरिएको उपाध्यक्ष थापाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप