बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

गण्डकीमा गुरुङ नै मुख्यमन्त्री बन्ने संकेत

बुधबार, २९ वैशाख २०७८, ०६ : ३३
बुधबार, २९ वैशाख २०७८

गण्डकी प्रदेशमा पृथ्वीसुव्वा गुरुङ नै मुख्यमन्त्री बन्ने संकेत देखा परेको छ । काँग्रेस लगायत विपक्षी गठबन्धनले आफ्नो पक्षमा सरकार बनाउन बहुमत ३१ सदस्यको हस्ताक्षर बुझाउन नसक्ने देखिएपछि पुनः मुख्यमन्त्रीमा उनै दोहोरिने संकेत देखिएको हो ।

मंगलबार राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले नै काँग्रेस लगायतको गठबन्धनलाई साथ नदिने स्पष्ट पारेका छन् ।

राष्ट्रिय जनमोर्चा नेपालका गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले पटक–पटकको छलफलमा पनि सांसद थापाले हस्ताक्षर गर्न नमानेको बताए । त्यसो त पार्टी सचेतक पियारी थापाले सोमबार कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनका लागि हस्ताक्षर जुटाउन आफ्ना सदस्यलाई ह्वीप जारी गरेकी थिइन् । ह्वीप समेत अस्वीकार गरेका थापालाई पार्टीले के कस्तो कारबाही गर्ने हो छलफल हुन बाँकी रहेको बरालले बताए ।

नयाँ सरकार गठनमा काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीको रुपमा अघि सारिएको छ ।
२७ वैशाखको लागि संसदमा मतविभाजन तोकिएको अघिल्लो दिन आइतबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले ३ दिनभित्र सरकार गठनका लागि आह्वान गरेकी छन् । सोको समयसीमा बुधबार सकिँदैछ ।

सचेतक पियारी थापा नयाँ सरकार गठनका लागि लागि पर्दा संसदीय दलका नेता कृष्ण थापा मुख्यमन्त्री गुरुङप्रति लचिलो देखिँदै आएका छन् ।

गण्डकीमा नेकपा एमालेका २७, काँग्रेसका १५, माओवादी केन्द्रका १२, राजमोका ३, जसपाका २ र १ स्वतन्त्र सांसद छन् । काँग्रेसलाई सरकार बनाउन माओवादी केन्द्र, राजमो र जसपाको साथ आवश्यक पर्छ ।

एमालेसँगको एकताका कारण बागलुङमा जनमोर्चा विजय भएको र वर्षौदेखिको दोस्ती र स्थानीय नेता, कार्यकर्ता दबाबका कारण पनि सांसद थापाले कांग्रेससँग सहमतिको सरकारमा अनिक्षा देखाएका हुन् । बागलुङमा कांग्रेसकै कारण आफ्ना नेता, कार्यकर्ताले दुःख पाइरहेको र झुटा मुद्दामा फसाएकाले कांग्रेसकै नेतृत्वमा जान नहुने उनको अडान थियो । जसकारण गण्डकीमा जनमोर्चा विभाजित भएको हो । सचेतक पियारी थापा भने नयाँ सरकारमा सहभागी हुनुपर्ने अडान राख्दै आएकी छन् । जनमोर्चाका शीर्ष नेतासहितको बैठक मंगलबार बसे पनि हस्ताक्षर गर्न सांसद थापाले नमान्दा नयाँ सरकारको विकल्प झिनो बन्दै गएको हो ।

यो समाचार राजधानी दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप