शनिबार, ०१ मङ्सिर २०८१
ताजा लोकप्रिय

कोरोना महामारीले सुनसान मातातीर्थ

मङ्गलबार, २८ वैशाख २०७८, १६ : ५४
मङ्गलबार, २८ वैशाख २०७८

काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना महामारी तीव्र नभएको भए राजधानीको पश्चिमी भेगस्थित चन्द्रागिरि नगरपालिका–६ थानकोट नजीकैको मातातीर्थमा लाग्ने मेलामा हजारौँ भक्तजनको भीड लाग्थ्यो । कोरोना महामारी तीव्र भएसँगै चन्द्रागिरि नगरपालिकाले वैशाख कृष्ण औँसी अर्थात् आमाको मुख हेर्ने औँसीका दिन दिवङ्गत आमाको सम्झनामा आज मातातीर्थमा लाग्ने मेला स्थगित गरेपछि सुनसान भएको हो । 

प्रत्येक वर्ष आमाको मुख हेर्ने दिन मातातीर्थमा हजारौँ भक्तजनको ओइरो लाग्ने गर्छ । गत वर्ष पनि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्दाबन्दी गरिएकाले मेला स्थगित गरिएको थियो । जसका कारण गत वर्ष पनि मातातीर्थ मेलाका दिन यो स्थान सुनसान बनेको थियो । आमा नहुने नरनारी औँसीका दिन बिहानै उक्त तीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव)को दर्शन र पूजा गर्ने गर्थे । यस वर्ष स्थानीयवासीलाई पनि मातातीर्थमा नजान सूचित गरिएको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिए । यद्यपि नजीकैका केही स्थानीयवासी भने मातातीर्थमा आएर पूजा आराधना गरेका थिए । हजारौँको भीड हुने दिन एक, दुईजना आए पनि मातातीर्थ सुनसान बनेको छ ।
 
मातातीर्थ संरक्षण समितिले गर्ने नित्य पूजा भने विधिवत् सम्पन्न गरिएको  नगरपालिकाले जनाएको छ । घरघरमै बसेर जीवित आमालाई खुशी बनाउने र मृत आमाका नाममा श्रद्धा प्रकट गर्न सकिने धर्मशास्त्रविद्को भनाइ छ । मातातीर्थको परिसरमा मूर्तिकार रामकृष्ण भण्डारीद्वारा निर्मित सबैकी आमाको प्रतीक ‘साझा आमा’ को मूर्ति पनि स्थापना गरिएको छ । यो मूर्तिले पनि मातातीर्थको महत्व बढाएको छ । मूर्ति स्थापना भएपछि यहाँ पूजा गर्ने भक्तजनको पनि भीड लाग्ने गरेको थियो ।

मातातीर्थको उत्पतिका सम्बन्धमा प्रचलित कथाअनुसार धेरै वर्ष पहिले त्यस ठाउँमा गाईवस्तु चराउने चौर थियो । एक दिन एउटा गोठालाले सो चौरमा फ्याँकेको रोटीको टुक्रा हरायो । उसले अचम्म मानी रोटीको अर्को टुक्रा पनि फ्याँक्यो, त्यो पनि हरायो । अरू गोठालाहरूले पनि रोटीका टुक्रा फ्याँके, तीनमध्ये आमा जीवित हुनेले फ्याँकेका रोटी त्यहीँ रही आमा नहुनेले फ्याँकेका रोटीमात्र अलप भए । 

कथाअनुसार पहिलोचोटि रोटी फ्याँक्नेकी आमा पनि थिइनन् । त्यो दिन वैशाख कृष्णपक्षको औँसी थियो । दोस्रो दिन भने अघिल्लो दिनको जस्तो रोटी हराएन । सो कुरा चाल पाई गाउँलेहरूले औँसीको दिन मृत आमाहरू त्यस ठाउँमा आई आफ्ना छोराछोरीले दिएको चीज खाँदा रहेछन् भन्ने विश्वास गरेर त्यस ठाउँमा कुण्ड बनाई त्यसको नाम मातातीर्थ राखे । 

यसरी हरेक वर्ष वैशाख कृष्ण औँसीकै दिन आमा नहुनेहरूले त्यहाँ गई कुण्डमा नुहाएर मीठा मीठा खाद्यपदार्थ चढाई मातृ दिवस मनाउन थाले र मातातीर्थ मेला लाग्न थाल्यो । यसैले  वैशाख कृष्ण औँसीलाई मातातीर्थ औँसीसमेत भनिन्छ । आमाको महत्वलाई संस्कृतका विभिन्न श्लोकहरूमा यसरी वर्णन गरिएको छ, ‘मातृदेवो भव, पितृदेवो भव, आचार्यदेवो भव’ अर्थात् आमा, बाबु र गुरुलाई देवताजस्तै सम्मान गर ।
 
‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति’ अर्थात् छोरा छोरी नराम्रा भए भने पनि आमाले सबैलाई सन्तानका रुपमा माया गर्छिन् । आमा प्रत्येक मानिसका पहिलो शिक्षिका अर्थात् गुरु आमासमेत हुन्छिन् । बालबालिकाले आमाबाटै धेरै कुरा सिक्छन् । बन्दाबन्दीका कारण छोराछोरी आमा भएका स्थानमा पुग्न नसके पनि वचनबाट पनि खुशी राख्न सकिने शास्त्रीय मान्यतासमेत रहेको छ ।

कोरोनाबाट बच्न जारी निषेधाज्ञाका कारण छोराछोरी आमा भएको स्थानमा जान सक्ने अवस्था पनि छैन । यसैले फोन, सामाजिक सञ्जाललगायत माध्यमबाट आमाप्रति सम्मान प्रकट गर्नु पनि शास्त्रसम्मत हुने धर्मशास्त्र विद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउँछन् । महामारीको यो बेलामा वचन वा भावले नै आमाप्रति सम्मान भाव प्रकट गर्न सकिने वैकल्पिक उपाय अवलम्बन गर्न सकिने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप