बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

वैशाख कृष्ण औँसी अर्थात् आमाप्रति समर्पण

मङ्गलबार, २८ वैशाख २०७८, १६ : ०७
मङ्गलबार, २८ वैशाख २०७८

संसारको सबैभन्दा पवित्र नाता, आमा । संसारको सबैभन्दा पवित्र सम्बोधन आमा । हामीमध्ये धेरैले सर्वप्रथम बोल्न सिकेको शब्द आमा । पलपलमा सम्झना आउने, सुखदुःखमा झझल्को आउने एउटा अनुहार आमा नै हुन् । आज उनै आमाप्रति समर्पण हुने दिन मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । यो दिन हरेक वर्ष वैशाख कृष्ण औँसीको दिनमा पर्छ ।

आमा भनेको के हो र उहाँलाई कसरी मान्नु पर्छ ? हामी सबैले आमालाई ‘मातृदेवो भव’ अनि देवता जस्तो मान्ने होऊ । सधैँ हामीले मनन् गरौँ आमा भनेको सर्वमान्य व्यक्ति भएको हुँदा छोराछोरीले प्रेमपूर्वक श्रद्धाभक्तिअनुसार मीठा– मीठा परिकारहरू बनाई खुवाउने गर्नुपर्छ । यदि माताको मृत्यु भइसकेको छ भने छोराहरुले माताको सम्झनामा पिण्ड पानी दिने गर्नुपर्छ यही नै आमाप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ । यसो गरेमा छोराको कल्याण हुनेछ । त्यसैले भनिएको छ–

मातृदेवो भव । पितृदेवो भव ।। आचार्यदेवो भव ।।।

‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’

‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति’

‘मातृदेवो भवः’ भनेर सबैभन्दा पहिले भनिन्छ त्यसपछि मात्र ‘पितृदेवो भवः’ भनिन्छ अनि त्यसपछि ‘आचार्य देवो भवः’ भनिन्छ यसैबाट शास्त्रले आमालाई महत्त्व दिएको स्पष्ट हुन्छ ।

‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ आफू जन्मेको भूमि र आफ्नी आमा जस्तोसुकै भए पनि आफ्ना लागि स्वर्ग समान हुन्छन् ।

‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति’ अर्थात् छोरा कुपुत्र भए पनि आमा कहिले कुआमा हँुदिनन् भन्ने भनाइ छ । शास्त्रमा बाबुभन्दा आमा १० गुणा बढी मान्य हुन्छन् भनी व्याख्या पनि गरिएको पनि छ ।

सन्तान जहाँ जसरी बसे पनि आमाको माया र स्नेह अपार छ । आफ्ना सन्तानको उन्नति र प्रगतिको लागि म कहिल्यै बाधक बन्न चाहन्न भनेर गाउँबस्तीमै बसेर सुखदुःख बिताइरहेकी हुन्छिन् ।

सधैँभरि आफ्ना छोराछोरीलाई आमाले दिने माया ममता जस्तो छ, त्यसैगरी आमालाई माया ममता दिई एक्लोपनको महसुस हुन नदिऊँ ।

उजाड र निर्जन बस्तीमा बाबुआमालाई सधैँ राखेर एक दिन फोनमार्फत कुरा गर्ने वा भेट्न जाने मात्र गरेर आमाप्रतिको कर्तव्य पूरा हुँदैन भन्ने सबै सन्तानले हेक्का राख्नुपर्छ । समय परिस्थितिअनुसार आमाको चाहना र भावना बुझ्ने कोसिस गर्नु नै आमाप्रतिको सम्मान हुनेछ । एक दिनको भेटमार्फत दिइने मिठई, फलफूल, वस्त्र र मीठो बोलाईमा मात्र मातृ दिवस सीमित नहोस् ।

आजको दिनमा आमाप्रतिको सच्चा माया र सम्झना भनेको आमाप्रति देखाइने कर्तव्यबोध हो । जबसम्म सन्तानले आफ्ना आमाबाबुप्रति कर्तव्यबोध र दायित्वबोध गर्न सक्दैन, आज आमालाई भेटेर मीठाई खुवाई, नयाँ वस्त्र पहि¥याई देखाएको क्षणिक र देखावटी मायाले आमाको दसधारा दूधको भारा तिर्न सकिँदैन । आमाले दिएको शिक्षा, माया ममताको शुल्क सहजै तिर्न सकिँदैन जति आमाप्रति सम्मान र कर्तव्यबोधले सकिन्छ । आमाले जसरी हामीलाई माया ममता दिनुभएको छ त्यसैगरी हामीले पनि माया ममता दिएर नै सदा खुशी राख्नुपर्छ ।

आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झने दिन हो । यिनै आमा जसले हामीलाई संसार देखाइन्, गर्भमा राखेर जन्माइन् अनि काखमा राखेर पालिन् । ममताकी खानी अनि बालापनामा हाम्रा हरेक इच्छा, आकाङ्क्षा अनि चाहना पूरा गरिदिने, कल्पवृक्षसरी यस पृथ्वी लोकका सम्पूर्ण आमाहरुलाई कोटी कोटी नमन छ ।

अन्ततः सबै सन्तानलाई आमाप्रतिको कर्तव्य पालना गरी आमालाई सधैँ खुसी राख्न आग्रह गर्दै सबै आमाहरूलाई उहाँहरूको सुस्वास्थ्य, सदैव सन्तानका साथ अपार खुसी र सुखमय दीर्घजीवनका लागि हार्दिक मङ्गलमय शुभकामना ।

(जुम्ला घर भएका लेखक सिभिल इन्जिनियरिङका विद्यार्थी हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप