केन्द्रीय संस्करण

यस्तै हो भने जनताले माफी गर्दैनन्

person explore access_timeबैशाख २८, २०७८ chat_bubble_outline0

दुई हजार वर्ष पहिले इसाको पहिलो शताब्दीमा रोम सहर ६ दिनसम्म लगातार जल्यो । सहरको करिब ७० प्रतिशत भागका बासिन्दालाई आगोले घरबारविहीन बनाइदियो । रोम सहरबाट अलि टाढा ठूलो क्षेत्रफलमा निरो आलिशान दरबारमा सयौँ भाइभारदारका मुखबाट आफ्नो प्रशंसा सुनेर रमाइरहेका थिए । उक्त घटनालाई विश्वभरि नै ‘रोम जलिरह्यो, निरोले बाँसुरी बजाइरहे’ भन्ने अर्थबाट बुझिन्छ ।  

आज नेपाल त्यही बेलाको निरो प्रवृत्तिबाट गुज्रिरहेको छ । सत्ताधारी हुन् या सत्ता बाहिरका सबै नेता र राजनीतिक दलहरू निरो प्रवृत्तिभन्दा भिन्न छैनन् । सुन्दर, शान्त नेपाललाई सत्ताधारी र सत्ता प्राप्तिका लागि लड्ने दलहरूले बर्बाद पारे । रातदिन नभनी जनताको पक्षमा काम गर्नुपर्नेमा जनताको अवश्यकता र दुःखलाई लात हान्ने मात्र काम गरिरहेका छन् । कोरोनाको पहिलो लहरलार्ई जितेर तङ्ग्रिन सुरसार गरिरहँदा पुनः दोस्रो लहरले देश नै थला पर्ने अवस्थामा पुगेको छ ।

सङ्घीय सरकारका प्रधानमन्त्री केपी शर्मा ओली बेमौसमको बाजाजस्तो विश्वासको मतका लागि दौडिए र पदमुक्त पनि भए । उनले अहिले कोरोनाविरुद्ध लड्नुपर्ने बेला हो । तर, सबैको ध्यान अन्तै मोडिदिए । केपी ओलीकै पार्टी एमालेको अर्को माधव नेपाल पक्ष ओलीलाई जसरी पनि सत्ताबाट बहिर्गमन गर्न लागिपरेको थियो ।

ओलीलाई विश्वासको मत दिनुभन्दा संसदबाट राजीनामा दिनु उत्तम भनिरहेको माधव पक्ष अन्तिममा सदनमा अनुपस्थित रह्यो । जुन काम कम्युनिस्ट पार्टीको सिद्धान्त र आचरणभन्दा फरक हो । कम्युनिस्ट पार्टीमा कहीँ नभएको जात्रा दुवै पक्षबाट देखाइँदैछ । नेपाली काँग्रेस त झन् च्याँखे थापेर बसेको छ । त्यस्तै मधेसवादी दल जसपा यता र उता कुदेको कुदै छ । आफ्नो भाउ र मोलमा मोलाई गर्दैछ ।  

 सङ्घीय सरकारमा मात्र नभएर प्रदेश सरकारहरूमा पनि विखण्डन सुरु भएको छ । गण्डकी प्रदेशमा त मुख्यमन्त्रीले राजीनामा नै दिए भने लुम्बिनी प्रदेशमा अविश्वासको प्रस्ताव संसद्मा पेस गरे । लुम्बिनीमा पनि मुख्यमन्त्री पोखरेल सरकार फेरिने लगभग निश्चित छ । अब विस्तारै यो प्रवृत्ति अन्य प्रदेशमा पनि सर्दै जानेछ । कुनै एउटा राजनीतिक दल मात्र होइन, सबै राजनीतिक दललाई नागरिकको दुःख, पीर मर्काको कुनै ख्याल छैन । कुनै मतलव छैन । उनीहरू जनताका दुःखलाई खिल्ली उडाएर निरो जसरी बाँसुरी बजाएर बसेका छन् ।

एकातिर देश रोइरहेको छ भने अर्कोतिर जनताबाट देश चलाउन जिम्मा पाएकाहरू राज्यसत्ताको लडाइँमा नै व्यस्त छन् । जब–जब देशमा सङ्कट आउँछ, तब दलाल शासन सत्ताले लुट्ने, कमिसन खाने, भ्रष्टाचार गर्ने गर्छन् । दलाल चरित्रले भरिएका यहाँका समाजवादी कम्युनिस्ट भनौदाहरू आदर्शको ठूलो ठूलो डङ्का फुक्ने तर सिन्को नभाँच्ने गर्नाले नागरिकले सङ्कट बेहोरिरहेका छन् ।

यस्ता दलालहरूको कुनै राष्ट्र, वर्ग, धर्म हुँदैन । यिनीहरुलाई आफ्नो पद र पैसा सिवाय अरू कुनै कुराको मतलब हुँदैन । कोरोना त यस्ता पिसाचुहरूका लागि कमाउने माध्यम बनेको छ । देशमा यस्तो प्रवृत्तिबाट निरन्तर राष्ट्र र जनघात भइरहेको छ । यस्ता कुराले देश सङ्कटको भुमरीमा फसिसकेको छ ।

आज सयौँ नागरिक अक्सिजनको अभावमा मरिरहेका छन् । बेडको अभावमा तड्पिरहेका छन् । उपचार पाउँदा बाँच्न सक्ने व्यक्ति पनि अनाहकमा अमूल्य जीवन गुमाउन बाध्य छन् । हस्पिटलमा बेड छैनन् । सङ्क्रमितका लागि चाहिने औषधि छैन । गरिबको चुलोमा आगो बलेको छैन । सङ्क्रमितले जसोतसो बेड पाएर हस्पिटल भर्ना भई हालेमा उपचार गर्ने पैसा छैन । उपचारका लागि लाखौँ रुपैयाँ तिर्न सक्ने क्षमता छैन । यस्तो विषम परिस्थितिमा राज्य लाचार बनेर बसेको छ । जनताले कुनै हालतमा कहिलै माफी गर्न नसक्ने व्यवहार राजनीतिक दलहरूले देखाएका छन् ।  

नेपालका राजनीतिक दलहरू नागरिकको मृत्यु र भोकसँग खेलबाड गरिरहेका छन् । हरेक पार्टीका मुख्य नेतृत्वमा रहेका नेताहरू निकृष्ट, पापी, स्वार्थी र दुष्ट हुनभन्दा अन्यथा नहोला । उनीहरूले जनतालाई जुन सपना देखाए र बाँडे त्यो सबै बिर्सिएर विश्व नै चकित हुने गरी यो कोभिडको महामारीमा जात्रा देखाइरहेका छन् । यस्तो जात्रा जनताले कहिलेसम्म हेर्ने ?

जनता त चुनावको दिनभन्दा अघि वा पछि सार्वभौम भएनन् । आज जनता लाचार भएर आँखाभरी आँसु लिएर टुलुटुलु हेर्न बाध्य भएका छन् । जनताको आँसुले अहिलेको नेतृत्वलाई कुनै दिन अवश्य पाप लाग्नेछ । यस्ता राजनीतिक नेतृत्वलाई तह लगाउने भनेको चुनावबाट हो । तर जनताका सामु विकल्प नै छैन । वृद्ध नेताहरू लाचार भएर आईसीयूमा पुग्दा पनि पद छाड्दैनन् ।  

अब देश चाँडै नै चुनावमा जाने निश्चित छ । चुनावमार्फत जनताले यस्ता दुष्ट र निकृष्ट नेता र राजनीतिक दलहरूलाई ठेगान लगाउनै पर्छ । डेट एस्पायर नेता र उनीहरूको गलत राजनीतिक संस्कार र प्रवृत्तिको शिकार नेपाली जनता भएका छन् । अब अझ यी वृद्ध नेताहरूको भार नेपालीले झेल्न सक्दैनन् । नेताहरूको रात दिनको लडाइँ हेर्दा हेर्दा जनता आजित भएका छन् । दुःखको सागरमा छटपटाइ रहेका छन् । रोग र भोकले प्राण जाने अवस्था छ । तर, नेतृत्व मूकदर्शक भएर चरम भ्रष्टाचार र सत्ताको लडाइँमा केन्द्रित छ । 

देशमा नागरिकको स्वास्थ्य र शिक्षाको जिम्मा राज्यले लिनुपर्ने हो । तर, दुर्भाग्य यी दुवै विषय माफिया र दलालको हातमा पुग्यो । जसको परिणाम अहिले नागरिकले भोगिरहेका छन् । देशमा सङ्कट परेका बेला राज्य र नागरिकलाई साथ नदिने स्वास्थ्य क्षेत्रका माफियाहरूलाई सरकारले नै संरक्षण गरेको छ ।

सरकार यस्ता माफिया र दलालको चङ्गुलमा छ । स्वास्थ्य क्षेत्रका राम्रालाई प्रोत्साहन गर्ने र माफियालाई तुरुन्त कारबाही नगर्ने हो भने भयावह स्थिति आउने निश्चित छ । केही समयका लागि राज्यले सम्पूर्ण स्वास्थ्य संस्थालाई राज्यले आफूसँग लिएर हरेक सङ्क्रमित नागरिकको निःशुल्क उपचार गर्नुपर्छ ।

‘सुखी नेपाली समृद्ध नेपाल’ भनेर चिच्याउनेहरू आज के हेरेर बसेका छन् । दैनिक ज्यालादारी काम गर्ने मजदुर, सुकुम्बासी, गरिब जनताहरू कोरोनाले आक्रान्त छन् । थोरै भए पनि मलमपट्टि लगाइदिने कोही छैन । पैसा हुने त जसोतसो बाँचेकै छ । तर, पैसा नहुनेहरू मृत्युलाई कुर्नु सिवाय केही गर्न सक्ने अवस्थामा छैनन् । राज्यको व्यवस्थापन कमजोर हुँदा गरिब नागरिकमा हाहाकार छाएको छ ।

यही बेलामा जताततै कालो बजारी, तस्करी र महँगी मौलाएको छ । यस्तो अवस्थालाई नियन्त्रण नगरी राज्य नै माफियाको कब्जामा पर्नाले नागरिकहरू महँगीको सिकार भएका छन् । यतिबेला नागरिकहरूमा निकै ठूलो तनाव र चिन्ताको अवस्था सिर्जना भएको छ । भोकले मरिने हो कि रोगले भन्ने त्राहिमाम छ ।  कोरोना महामारीको प्रकोप कुनै जाति, वर्ग, समुदाय र पार्टी विशेषको होइन । यो सबैको साझा समस्या हो । यस्तो साझा समस्यासँग जुध्न सबै मिल्न आवश्यक छ ।

कोरोनासँग सम्बन्धित समस्यालाई विशिष्टीकरण गरी प्राथमिकताका साथ निवारण गर्न जरुरी छ । नागरिकको जीवनमा परेको अहिलेको सङ्कटमाथि बज्रपात गर्ने जुनसुकै प्रवृत्ति र पात्रमाथि यथाशीघ्र नियन्त्रण र कारबाही हुन जरुरी छ । राज्य प्रणाली र शासक सबैभन्दा पहिला सुध्रिनु जरुरी छ । अहिलेको राजनीतिक विचलन र विनाशकारी विचार र व्यवहारलाई नियन्त्रण गरी सतर्कतापूर्वक कोरोनासँग लड्न जरुरी छ ।

कोरोनासँग लड्ने विषयको नेतृत्व सरकार र राजनीतिक दलहरूले नै गर्ने हो । केही समय सत्ता र भत्ताको फोहोरी खेललार्ई छाडेर कोरोनासँग लड्न एकीकृत रूपमा सङ्गठित भई समाजका सबै वर्ग, समुदायलाई सङ्गठित गरी अगाडि बढ्न जरुरी छ । नेताहरूले तीता मीठा सबै कुराहरूलाई बिर्सिएर तेरो मेरो नभनी एक भएर कोरोनाविरुद्ध लड्न जरुरी छ ।

अझै पनि कोरोनालाई उपहास गरेर राजनीतिको फोहोरी खेल देखाउँदै गएमा अहिलेका राजनीतिक दल र त्यसको नेतृत्वलाई जनताले कदापी माफी गर्ने छैन । त्यसैले बेलैमा सोचौँ अहिले पनि धेरै बिग्रिएको छैन । अझै पनि हामी आफ्नो स्वार्थ छाडी एक भएर अगाडि बढे कोरोनालाई जित्न र त्यसले दिएको चोटलाई उपचार गर्न सक्छौँ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.