मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

लहानस्थित सिग्राही मटियर्वामा लुटपाट

मङ्गलबार, २८ वैशाख २०७८, १४ : १९
मङ्गलबार, २८ वैशाख २०७८

सिरहा । सिरहाको लहान नगरपालिका–१ सिग्राही मटियर्वास्थित इन्द्रदेव ठाकुरको घरबाट ठूलो परिमाणमा धनमाल लुटपाट भएको हो । मध्यरात सात÷आठ जनाको समूहमा आएका लुटेरा समूहले नगद रु ६ लाख र गरगहनासमेत गरी करीब रु १० लाख मूल्य बराबरको धनमाल लुटेर लगेको पीडित परिवारले बताएको छ ।

लुटेराहरू भर्‍याङको सहायताले छत हुँदै घरमा प्रवेश गरेको र आफ्ना दुई छोराको कञ्चटमा पेस्तोल राखी दराजको साँचो खोसेर नगद रु ६ लाख र छोरी–बुहारीले लगाएको २ तोला जति सुन र २० तोला चाँदी लुटेर लगेको ठाकुरले जानकारी दिए । लुटेराले घरका सबै सदस्यको मोबाइल कब्जामा लिएका थिए । केही बोले मारिदिने धम्की दिएको ठाकुरले समयमा प्रहरीलाई खबर गर्न नसकिएको ठाकुरको भनाइ छ ।

लुटेराहरू गइसकेपछि मात्रै घटनाबारे छिमेकी र प्रहरीलाई जानकारी गराएको उनले बताए । सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको र घटना सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक डा.तपनकुमार दाहालले जानकारी दिए । लुटपाटमा संलग्नहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

गाई काटेको आरोपमा पक्राउ

गाई काटेको अभियोगमा सिरहाको लहान प्रहरीले दुईजना पक्राउ गरेको छ भने एकजना फरार भएका छन् । लहान नगरपालिका–२ स्थित मिलन चौकमा गाई काटेको भन्दै स्थानीयवासीले दिएको उजुरीका आधारमा स्थानीय दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनाको नाममा खुलाउँदा अनुसन्धानमा असर पर्न सक्ने भन्दै प्रहरीले नाम खुलाउन चाहेन । 

मासु प्रयोजनका लागि गाई काटेको भन्दै स्थानीयवासीले प्रहरीमा उजूरी दिएपछि घरमूली फरार भए पनि उहाँको पत्नी र सालोलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक डा.तपनकुमार दाहालले जानकारी दिए । पक्राउ परेका दुवैमाथि मुद्दा चलाइएको र फरारको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक दाहालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप