बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाबाट सङ्क्रमित सेलिब्रेटी

मङ्गलबार, २८ वैशाख २०७८, १० : ४१
मङ्गलबार, २८ वैशाख २०७८

काठमाडौँ । यतिबेला देशमा कोभिड–१९ को नयाँ भेरियन्टले हाहाकार मच्चाएको छ । अहिले दैनिक ८ हजारभन्दा बढी व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि हुन थालेको छ । यो भेरियन्टबाट सर्वसाधारणदेखि भीआईपीसम्म परेका छन् । यो भेरियन्टबाट सेलिब्रेटी पनि अछुतो रहन सकेनन् । कोरोनाको यो दोस्रो लहरमा पनि करिब दर्जन हाराहारीमा कलाकर्मी सङ्क्रमित भएका छन् । तीमध्ये कतिपयले यसलाई पराजित गरिसकेका छन् भने केही अझै लडिरहेका छन् ।

कोरोनाको दोस्रो भेरियन्टलबाट मात्र होइन यस अगाडिको लहरमा पनि थुप्रै कलाकार सिकार भएका थिए । जसबाट कोही सजिलै उम्कन सफल भए भने केहीले मुक्ति पाउन ठूलो सङ्घर्ष गर्नुपरेको थियो ।

कोरोनाको दुई लहर गरेर अहिलेसम्म दुई दर्जनभन्दा बढी सेलिब्रेटी (कलाक्षेत्रका व्यक्ति) सङ्क्रमित भएका छन् । कोको कलाकार कोरोना सङ्क्रमित भए त्यसको चर्चा यहाँ गर्न खोजेका छौँ ।

दोस्रो लहरमा सङ्क्रमित

१) मदनकृष्ण श्रेष्ठ (वरिष्ठ हास्यकलाकार) : वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ पनि कोरोना सङ्क्रमित भएका थिए । उनीलगायत उनको परिवारलाई गत वैशाख ६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनी अहिले कोरोना मुक्त भइसकेका छन् ।

२) वर्षा राउत (अभिनेत्री) : वर्षा राउत कोरोना सङ्क्रमित भएकी छन् । उनले शनिबार सामाजिक सञ्जालमार्फत आफूमा कोरोना पोजेटिभ देखिएको बताएकी हुन् । उनी अहिले होम आइसोलेसनमा छिन् ।

४) केकी अधिकारी (अभिनेत्री) : केकी अधिकारीलाई केही साता पहिले कोरोना सङ्क्रमण पुष्टि भएको थियो । आफूमा कोरोनाको लक्षण देखिएपछि परीक्षण गराएकी केकीमा कोरोना पुष्टि भएको थियो । अहिले उनी कोरोना मुक्त भइसकेकी छन् ।

३) ऋषि लामिछाने (निर्देशक) : निर्देशक ऋषि लामिछानेमा गत २५ गते कोरोना सङ्क्रमण देखिएको हो । लामिछाने आफैले आफू कोरोना सङ्क्रमित भएको सामाजिक सञ्जालमार्फत बाहिर ल्याएका* हुन् । उनी अहिले होम आइसोलेसनमा छन् ।

४) सरिता लामिछाने (कलाकार) : सरिता लामिछाने पनि केही दिनअगाडि कोरोना सङ्क्रमित भएकी हुन् । उनले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएकी थिइन् । उनी अहिले होम आइसोलेसनमा छिन् ।

५) दीपक आचार्य (कलाकार) : हास्यशृङ्खला ‘सक्किगोनी’का कलाकार दीपकप्रसाद आचार्य (काकु) लाई केही दिनअगाडि कोरोना सङ्क्रमित पुष्टि भएको थियो । उनी आफैले कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक सञ्जालबाट जानकारी गराएका थिए ।

६) नरेन्द्र महर्जन (निर्माता) : नेपाली फिल्मका निर्माता, वितरक तथा प्रदर्शक नरेन्द्र महर्जन यही वैशाखमा कोरोना सङ्क्रमित भएका थिए । उपचारका लागि अस्पताल भर्ना भएका उनी ठीक भएर घर फर्किसकेका छन् । जसको जानकारी उनले सामाजिक सञ्जालमार्फत गराएका हुन् ।

७) प्रकाश सपूत (गायक) : प्रकाश सपूतमा गत १७ गते कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । प्रकाश आफैले सामाजिक सञ्जालमार्फत कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जानकारी दिएका थिए । उनी अहिले होम आइसोलेसनमा छन् ।

८) शिल्पा मास्के (अभिनेत्री) : अभिनेत्री शिल्पा मास्केसमेत कोरोना सङ्क्रमित भएकी छन् । उनले केही समयअगाडि सामाजिक सञ्जालबाट आफू कोरोना सङ्क्रमित भएको जानकारी दिएकी थिइन् । उनले सामाजिक सञ्जालमा विगत ६ दिनदेखि आइसोलेसनमा रहेको कुरा उल्लेख गरेकी थिइन् ।

पहिलो लहरमा सङ्क्रमित

१) हरिवंश आचार्य : वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यमा गत वर्षको असोजमा कोरोना पोजेटिभ देखिएको थियो । उनीसँगै उनकी श्रीमती रमिला आचार्य पनि कोरोना सङ्क्रमित भएकी थिइन् ।

२) अशोक शर्मा (निर्मार्ता निर्देशक) : कलाकार, निर्माता, निर्देशक तथा प्रदर्शक अशोक शर्मा पनि गत वर्षको कात्तिकमा कोरोना सङ्क्रमित भएका थिए ।

३) मनोज गजुरेल (हास्यकलाकार) : कलाकार मनोज गजुरेल गत वर्षको कात्तिकमा कोरोना सङ्क्रमित भएका थिए । उनले कोरोना जित्न लामै सङ्घर्ष गर्नुपरेको थियो ।

४) विजय लामा (कलाकार तथा पाइलट) : कलाकारसमेत रहेका पाइलट विजय लामा गत वर्षको भदौमा कोरोना सङ्क्रमित भएका थिए ।

५) ऋचा शर्मा (अभिनेत्री) : अभिनेत्री ऋचा शर्मा पनि गत वर्षको कात्तिकमा कोरोना सङ्क्रमित भएकी थिइन् । होम आइसोलेसनमा बसेर उनले कोरोना जितेकी थिइन् ।

६) बाबु बलामी : निर्देशक तथा कलाकार बाबु बलामी गत वर्षको असोजमा कोरोना सङ्क्रमित भएका थिए ।

७) रजिना रिमाल (गायिका) : गायिका रजिना रिमालमा पनि गत वर्षकै असोजमा कोरोना पुष्टि भएको थियो ।

८) टङ्क बुढाथोकी : गायक तथा सङ्गीतकार टङ्क बुढाथोकी गत वर्ष कोरोना जितेका थिए ।

९) सञ्जय श्रेष्ठ (गायक) : गायक सञ्जय श्रेष्ठ गत वर्षको असोजमा कोरोनालाई हराएका थिए ।

१०) लोचन रिजाल : गायक लोचन रिजाललाई पनि गत वर्षकै असोजमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

११) दीपक ढकाल (अभिनेता) : अभिनेता दीपक ढकाल गत वर्षको भदौमा कोरोना सङ्क्रमित भएका थिए । भेरी अस्पताल नेपालगञ्जमा ल्याब टेक्निसियनका रूपमा कार्यरत रहेका उनी कामको सिलसिलामा सङ्क्रमित भएका थिए ।

१२) प्रेमराजा महत (लोकगायक) : लोकगायक प्रेमराज महतमा गत वर्षको अगस्टमा कोरोना सङ्क्रमण देखिएको थियो । महत र उनकी पत्नी कविता केसी महत दुवैमा एकसाथ सङ्क्रमित भएका थिए ।

१३) प्रकाश शाह : कलाकार प्रकाश शाहलाई गत वर्ष कात्तिकमा कोरोना सङ्क्रमण देखिएको थियो ।

१४) निर्मल शर्मा (कलाकार) : कलाकार, निर्माता तथा निर्देशक निर्मल शर्मा पनि गत वर्षको कात्तिकमा कोरोना सङ्क्रमित भएका थिए ।

१५) सुवास कार्की (बेलासे) : सुवास कार्की बेलासे कोरोनाबाट सङ्क्रमित हुने सबभन्दा पहिलो नेपाली कलाकार हुन् । पछिल्लो समय बेलायतमा बस्दै आएका उनी गत वर्षको वैशाखमा सङ्क्रमित भएका थिए ।

१६) देवीराम पराजुली (भोक लाग्यो) : हास्य शृङ्खला जिरे खुर्सानीमा ‘भोक लाग्यो’ पात्रका रूपमा निकै चर्चा कमाएका देवीराम पराजुलीलाई गत वर्षको भदौको दोस्रो साता कोरोना सङ्क्रमित भएका थिए । पराजुली पछिल्लो समय अमेरिका बस्दै आएका छन् । उनी उतै सङ्क्रमित भएका थिए ।

१७) अशोक धिताल : चर्चित हास्यटेलिशृङ्ला ‘भद्रगोल’मा ‘बाहुन डन’को भूमिकाबाट चिनिएका अशोक गत वर्षको असोजमा सङ्क्रमित भएका थिए ।

*सच्याइएकाे

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप