शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

देउवालाई छेक्ने ओलीको बाटो : जसपालाई तटस्थ राख्ने, माधव नेपाललाई के गर्ने ?

मङ्गलबार, २८ वैशाख २०७८, ०९ : ५८
मङ्गलबार, २८ वैशाख २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत गुमाइसकेका छन् । सोमबार राति नै राष्ट्रपतिले ओली पदमुक्त भएको बताउँदै नयाँ प्रधानमन्त्रीका लागि दाबी प्रस्तुत गर्न दलहरूलाई बैशाख ३० गते राति ९ बजेसम्मको समय दिइसकेकी छिन् । यो अवस्थामा अब ओलीको रणनीति के होला ?

अब केपी ओलीले चाल्न सक्ने ‘स्टेप’ दुईवटा हुन सक्छन् ।

एक– जसपाको महन्थ ठाकुर पक्षलाई तटस्थ नै राख्न प्रयास गर्ने र शेरबहादुर देउवालाई बहुमत पुग्न नदिने ।

दुई– आफूलाई मतदान नगरेका माधव नेपाल पक्षका २८ सांसदमाथि कारवाही चलाउने ।

जसपा तटस्थ बस्दा ओलीलाई फाइदा

सोमबार प्रतिनिधिसभामा मतदान हुँदा जसपाका १५ सांसद तटस्थ बसेका थिए । एमालेका सबै १२१ सांसदले नै ओलीलाई मत दिने र जसपाका १५ जनाले सघाउने हो भने फेरि पनि ओलीकै बहुमत पुग्ने तर्क अहिले ओली समर्थकहरुले गरिरहेका छन् । महन्थ ठाकुरले भनिसकेका छन् कि उनी र उनको समूह कसैलाई भोट दिँदैन र सरकारमा पनि जाँदैन ।

यसअघि प्रधानमन्त्री ओलीले महन्थ ठाकुर पक्षलाई आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै आएका थिए र यसका लागि बालुवाटारमा तारन्तार बैठकहरू भएका थिए । वार्ताका लागि कार्यदल बनेको थियो । १२० भन्दा बढी कार्यकर्ताको मुद्दासमेत सरकारले फिर्ता लिएको थियो ।

तटस्थ बसेका १५ सांसदले अब शेरबहादुर देउवालाई सघाएनन् भने ओलीलाई नै फाइदा हुने देखिन्छ । महन्थ ठाकुर र राजेन्द्र महतोले देउवा गठबन्धनलाई नसघाउने बताएका छन् ।

यसो गर्दा देउवाको पक्षमा धारा ७६ (२) अनुसारको बहुमत पुग्दैन र ठूलो दलको हैसियतले केपी ओलीलाई नै फेरि प्रधानमन्त्री बन्ने धारा ७६ (३) को बाटो खुल्नेछ ।

ठूलो दलको हिसाबले बैशाख ३० पछि ओली नै प्रधानमन्त्री बने भने एक महिनापछि फेरि विश्वासको मत लिनुपर्छ । त्यसबेला ओलीले विश्वासको मत पाएनन् भने राष्ट्रपतिले धारा ७६ (५) अनुसारको सरकारको आह्वान गर्ने छिन् । र, त्यसबेला पनि देउवाको पक्षमा बहुमत नजुटे संसद विघटन गरेर चुनावमा जाने बाटो खुल्छ । त्यही कारणले जसपाका १५ सांसदलाई तटस्थ राखिराख्दा केपी ओलीलाई फाइदा छ । र, यसो गर्दा देउवाको सत्तारोहणलाई रोक्न सकिन्छ । संसद विघटन गरेर चुनावमा जाने ओलीको इच्छा पनि पूरा हुन्छ ।

तर, शेरबहादुर देउवालाई छेक्नका लागि केपी ओलीका लागि जसपाको तटस्थता मात्रै पर्याप्त हुने छैन, यसमा माधव नेपाल ‘फ्याक्टर’ पनि छ ।

माधव नेपाल ‘फ्याक्टर’

प्रधानमन्त्री ओलीले माधव नेपाल पक्षलाई कारवाही गर्न चाहे पनि उनीहरुलाई कारवाही गरेर सांसद पदबाट हटाउँदा गणितीय हिसाबले शेरबहादुर देउवालाई नै फाइदा पुग्ने देखिन्छ । किनभने, आफूलाई मत नदिने माधव पक्षका २८ सांसदलाई कारवाही गर्ने हो भने प्रतिनिधिसभाको सदस्य संख्या घट्छ र जसपाको महन्थ ठाकुर पक्षले भोट नदिए पनि देउवालाई बहुमत पुग्छ ।

जस्तो कि संसदको गणित हेरौं ।

प्रतिनिधिसभाका हलमा कायम रहेको सदस्य संख्या २७१ हो । यसबाट बहुमत ल्याउन १३६ भोट चाहिन्छ । काँग्रेस, माओवादी, उपेन्द्र यादव र साना दलको मत जोड्दा १२४ मात्रै पुगेको छ । तर, माधव पक्षका २८ जनालाई कारवाही भयो भने संसदको सिट संख्या २४३ मा झर्छ र १२२ जना हुँदा पनि बहुमत पुग्छ ।

त्यसैले, केपी ओलीमा तत्कालै माधव पक्षलाई कारवाही गर्ने ईच्छा भएता पनि देउवालाई फाइदा पुग्ने गरी कारवाही गरिहाल्ने स्थिति देखिँदैन ।

तर, माधव पक्षलाई कारवाही नगर्ने हो भने महन्थ ठाकुर पक्ष तटस्थ नै बसे पनि नेपाल पक्षले देउवालाई बहुमत पु¥याइ दिने अर्को सम्भावना पनि छ, जुन केपी ओलीलाई लागि घाटाको विषय हो । त्यो भनेको माधव पक्षले गर्ने सम्भावित राजीनामा हो ।

यो स्थितिमा माधव पक्षलाई घटाउँदा पनि घाटा, राख्दा पनि घाटाको स्थितिमा केपी ओली पुगेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप