बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

तटस्थमा मतदान गरेका जसपा सांसद कसरी पुगे विपक्षमा ?

सोमबार, २७ वैशाख २०७८, २१ : ४८
सोमबार, २७ वैशाख २०७८

जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रतिनिधिसभा सदस्य चन्द्रकान्त चौधरी (महन्थ ठाकुर पक्ष) ले प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मतमा तटस्थतर्फ मतदान गरेका थिए । तर, उनले आफ्नो मत सच्याए र पुनः विपक्षमा मतदान गरे ।

सप्तरीबाट प्रतिनिधिसभाको चुनाव जितेका चन्द्रकान्त चौधरी जसपाका वरिष्ठ नेता राजेन्द्र महतो निकट छन् । अर्थात् उनी महतोले भनेको मान्ने नेता हुन्  । त्यसैले, महतोले भनेकै आधारमा उनले तटस्थमा मतदान गरेका थिए ।

तर, जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षमा रहेका राष्ट्रियसभाका सदस्य मृगेन्द्रसिंह यादवले फोन गरेर ‘यो तपाईंले के गर्नुभएको, महन्थ ठाकुरहरुको लाइन गडबड छ, तपाईलाई रेणु यादवले जे भन्नुहुन्छ, त्यो गर्नुस्’ भनेपछि सांसद चन्द्रकान्त चौधरीले आफ्नो मत सच्याएर पुनः विपक्षमा मतदान गरेको स्रोतले बतायो ।

महन्थ ठाकुर र राजेन्द्र महतोका साथमा चन्द्रकान्तले तटस्थमा मतदान गरेपछि रेणु यादवले त्यहीँबाट मृगेन्द्रकुमार सिंह यादवलाई फोन गरेकी थिइन् । चन्द्रकान्तले तटस्थमा मतदान गर्नुभएको छ, तपाई एकचोटि सम्झाएर यता विपक्षमा मतदान गर्न लगाउनु त, भन्दै मृगेन्द्रसिंह यादवलाई फोन गरेपछि चन्द्रकान्त चौधरीले तीन मिनटमै मत सच्याएर विपक्षतिर मत हाल्न गएका थिए ।

राष्ट्रियसभाका सदस्य मृगेन्द्रसिंह यादव पनि राजेन्द्र महतोका मान्छे हुन् । यादव पूर्व सद्भावना पार्टीका भएका कारणले महतोसँग उनको कुरा मिल्छ । तर, महन्थ ठाकुर र राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएको कुरा उनलाई मन परेको छैन । त्यही भएर उनले महन्थ ठाकुरले चलाएको हस्ताक्षर अभियानमा हस्ताक्षर पनि गरेका थिएनन् । मृगेन्द्रकुमार सिंह यादव राष्ट्रिय सभा सदस्यका साथै पार्टीका केन्द्रीय कार्यकारिणी समितिका सदस्य पनि हुन् ।

यस विषयमा जान्नका लागि सांसद चन्द्रकान्त चौधरीसँग पटक– पटक सम्पर्क गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप