शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कुन धारा टेकेर सरकार गठनको आह्वान गर्ने ?, राष्ट्रपति परामर्शमा

सोमबार, २७ वैशाख २०७८, २१ : ००
सोमबार, २७ वैशाख २०७८


राष्ट्रपति विद्यादेवी भण्डारी नयाँ सरकार गठनको आह्वान गर्नुअघि परामर्शमा जुटेकी छिन् । ओली सरकारले विश्वासको मत गुमाएपछि काँग्रेस, माओवादी र जसपाको उपेन्द्र यादव समूहले बहुमतको सरकार गठनका लागि राष्ट्रपतिसँग आह्वान गरेका छन् भने एमालेले विपक्षीको बहुमत पुग्न नसक्ने जिकिर गर्दै ठूलो दलको हैसियतले फेरि आफ्नै नेतृत्वमा सरकार बन्ने बताउँदै आएको छ । 

यस्तै आजै प्रधानमन्त्रीसमेतले राष्ट्रपतिलाई भेटेका थिए भने लगत्तै राष्ट्रपतिले कानुनविद्सँग परामर्श थालेकी हुन् । शीतलनिवास स्रोतका अनुसार अब संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार गठनका लागि आह्वान गर्ने कि उपधारा ३ अनुसार अगाडि बढ्ने भन्नेमा राष्ट्रपतिले परामर्श गरिरहेकी हुन् । कानुनविद्को रायका आधारमा उनले नयाँ सरकार गठनबारे आह्वान गर्ने शीतलनिवास स्रोतले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन असफल भएलगत्तै तीन दलले संविधानको धारा ७६ को २ अनुसार नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन राष्ट्रपतिसमक्ष आग्रह गरेका छन् । प्रतिनिधिसभाबाट आवश्यक पर्ने विश्वासको मत नपाएपछि सोमबारदेखि प्रधानमन्त्री ओली स्वतः पदमुक्त बनेका छन् । प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत पुस्ट्याइँका लागि भएको मतदानमा हुन्छ भन्ने पक्षमा ९३ मत मात्रै पाए । प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत गर्न आवश्यक हुन्थ्यो । प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा १२४ मत खसेको थियो ।

प्रधानमन्त्री पदमुक्त भएको पत्र शीतलनिवास पुग्यो

संसदको विश्वास गुमाएर प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएको संसद सचिवालयको पत्र सोमबारै राष्ट्रपति कार्यालय शीतलनिवासमा पुगेको छ ।

संसद सचिवालयको पत्र प्राप्त भएकाले अब राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्ने तयारी थालेको शीतलनिवास स्रोतले बताएको छ ।

स्रोतले रातोपाटीसँग भन्यो ‘प्रधानमन्त्री ओली पदमुक्त भएको औपचारिक पत्र संसद सचिवालयबाट राष्ट्रपति कार्यालयमा आइपुगेको छ, सम्भवतः भोलि नयाँ सरकार गठनका लागि राष्ट्रपतिबाट आह्वान हुन्छ ।’

राष्ट्रपति भण्डारीले दलहरूलाई बहुमत जुटाएर सरकार बनाउन आह्वान गर्ने शीतलनिवास स्रोतको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप