शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा नयाँ सरकार : समर्थन गर्ने भन्दै जनमोर्चाले जिल्यायो दललाई

सोमबार, २७ वैशाख २०७८, १७ : ३६
सोमबार, २७ वैशाख २०७८

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि तयारी थालेका काँग्रेस लगायतका दललाई राष्ट्रिय जनमोर्चाले जिल्याएको छ ।  प्रदेश प्रमुख सीता कुमारी पौडेलले तीन दिनको समयसीमा तोकेर दुई वा दुई भन्दा बढी दलहरूको सहमतिमा सरकार गठनका लागि आह्वान गरेपछि काँग्रेस लगायतका दलले २८ जना सांसदका हस्ताक्षरसहित जनमोर्चाको प्रतिक्षा गरिरहेका छन् । तर, जनमोर्चाले सोमबार ११ बजे संसदीय दलको बैठक राखेकाले कार्यलय समयभित्रै निर्णय दिने बताएको भएपनि दिनभर फोन सम्पर्क गर्दा समेत बेवास्ता गरेर जिल्याई दिएको छ । 

जनमोर्चाका सांसदहरुले संसदीय दलको बैठकमा छलफल गरेपछि हस्ताक्षर गर्ने बताउनुभएकाले दिनभर उनीहरुको प्रतिक्षामा बिताएको एक सांसदले बताए । ‘उहाँहरुको प्रतिक्षामा दिनभर जस्तो कुरिराख्यौँ’ उनले भने । ‘तर,लामोसमय सम्म प्रतिक्षा गरेपछि बारम्बार टेलिफोन सम्पर्क गर्दासमेत फोन उठेन ।’ कार्यलय समय सकिएपछि भोलि निर्णय दिने भन्ने खबर आएको उनले बताए । 

जनमोर्चाका तीन सांसदको हस्ताक्षर पछि काँग्रेस लगायतका दलहरुले आज साँझसम्म आवश्यक बहुमत सदस्यको हस्ताक्षर बुझाउने तयारी थालेका थिए । जनमोर्चाले संसदीय दलको ११ बजे बैठक बस्ने बताएर नयाँ सरकार गठनका लागि अगुवाई गरिरहको काँग्रेस, माओवादी र जनता समाजवादी पार्टीलाई जिल्याइदिएको छ । 

जनमोर्चा संसदीय दलका नेता कृष्ण थापाले मंगलबार पुन संसदीय दलको बैठक बसेर निर्णय दिने बताएका छन् । राष्ट्रिय जनमोर्चा केन्द्रले यसअघि नै नयाँ गठबन्धनका लागि पार्टीले सहयोग गर्ने तर, सरकारमा सहभागी नहुने निर्णय गरिसकेको छ । पार्टीको निर्णयमा संसदीय दलका नेता कृष्ण थापा र खिम विक्रम शाहीले आलटाल गरेपछि जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्ट नै पोखरा आएर काँग्रेस नेतृत्वको नयाँ गठबन्धनलाई समर्थन गर्न निर्देशन दिएका छन् । 

पार्टी केन्द्रको निर्देशनलाई समेत चुनौती दिदी सांसद थापा र शाहीले नयाँ गठबन्धनमा आलटाल गर्न थालेपछि सोमबार साँझ प्रदेशसभामा जनमोर्चाकी सचेतक सांसद पियारी थापाले सांसदद्वय थापा र शाहीलाई काँग्रेस नेतृत्वको नयाँ बन्ने सरकारलाई सहयोग गर्न ह्विप जारी गरेकी छन् । 

सांसदद्वयले आलटाल गरेपछि सचेतक पियारी थापा मगरले काँग्रेस नेतृत्वको सरकार निर्माणका लागि हस्ताक्षर गर्न ह्विप जारी गरेकी हुन् । संघीय संसदमा पनि राष्ट्रिय जनमोर्चाले केपी ओली नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

प्रदेशसभामा ६० सदस्यमध्ये सरकार बनाउनका लागि ३१ सांसदको समर्थन आवश्यक पर्छ । नयाँ सरकार गठनका लागि काँग्रेस १५, माओवादी केन्द्र १२ र जनता समाजवादीका २ सहित २८ मत छ । राष्ट्रिय जनमोर्चाको तीन मत नयाँ सरकारका लागि निर्णायक मानिएको छ । 

जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले आफ्नो पार्टीको समर्थन नयाँ गठबन्धनका दललाई गर्न निर्देशन दिएका छन् । तर, जनमोर्चाको केन्द्रको निर्णय गरेपनि जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापा र सांसद खिम विक्रम शाहीले नयाँ गठबन्धनलाई समर्थन गर्न आलटाल गरिरहेका छन् ।

पार्टीकी अर्का सांसद पियारी थापा भने नयाँ गठबन्धनका लागि शुरु देखिनै खुलेर लागेकी थिइन् ।  राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका अध्यक्ष शंकर बरालले पार्टीले यस अघि नै नयाँ गठबन्धनलाई समर्थन गर्ने बताएकाले पार्टीको यो नै आधिकारीक निर्णय भएको बताए ।  उनले पार्टीको केन्द्रीय कमिटीबाट नै निर्णय गरेकोले पार्टीको निर्णय तलमाथि हुनै नसक्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप