ओलीलाई प्रचण्डको प्रश्न– यो सदन, यी सांसदसँग विश्वासको मत माग्ने नैतिक अधिकार छ प्रधानमन्त्रीज्यू ?
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘यो सदन र यिनै सांसदसँग विश्वासको मत माग्ने नैतिक अधिकार छ र ?’ भनेर प्रश्न गरेका छन् । प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी राखेको प्रस्तावमाथि छलफलमा भाग लिँदै प्रचण्डले ओलीलाई गत पुस ५ मा प्रतिनिधिसभा विघटन गरेको स्मरण गराए ।
‘आफैंले विघटन गरेको संसद, यिनै सांसदसँग विश्वासको मत माग्ने नैतिक अधिकार छ र प्रधानमन्त्रीज्यू ?’ उनले प्रश्न गरे । उनले प्रधानमन्त्रीले विश्वासको मत माग्नुमा पनि कुनै षड्यन्त्र छ कि भन्ने आशंका समेत गरे । उनले ओलीलाई प्रधानमन्त्री भएको पहिलो दिनदेखि नै संविधान र प्राप्त उपलब्धिहरुविरुद्ध क्रियाशील भएको आरोपसमेत लगाए । उनले फेरि पनि प्रतिनिधिसभा विघटन गर्ने मनसायका साथ आवश्यक प्रक्रिया पूरा गर्नका लागि त प्रधानमन्त्रीले विश्वासको मत मागेको होइन भन्ने आशंकासमेत गरे ।
प्रचण्डले शान्ति र स्थायित्वका लागि नयाँ संविधान बनाएपनि मुलुक त्यो दिशातिर नगएकोमा आफु खुसी नभएको बताए । उनले भने, ‘म खुसी छैन । के सोचेर संविधान बनायौं र अहिले ३ वर्ष नबित्दै अविश्वास प्रस्ताव जस्ता दुष्चक्रमा फस्दैछ’, उनले सरकारका गतिविधिले संविधानलाई नै कोरोना लागेजस्तो अवस्थाबाट गुज्रनुपरेको बताए ।
उनले यस्तो अवस्था आउनुमा प्रमुख जिम्मेवार को ? भन्दै देशको राष्ट्रिय स्वाधिनता, संविधान, कम्युनिस्ट आन्दोलनमा मुख्य संकट कसका लागि आयो प्रधानमन्त्री जी भन्दै प्रश्न गरे । उनले आफुलाई प्रधानमन्त्रीले राष्ट्रिय समस्या भनेको सुनेको भन्दै आफु कि तपाई राष्ट्रिय समस्या हो ? भनेर प्रश्न गरे ।
उनले बाम गठबन्धन र कम्युनिस्ट एकतालाई प्रधानमन्त्री ओलीले नै तुहाउने गरेको आरोप लगाउँदै पार्टीभित्रको लोकतान्त्रिक बहसका कारण संसद विघटन गरेर लोकतान्त्रिक कदम थियो भनेर प्रश्न गरे ।
प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत प्राप्त नहुने र यो विश्वास स्वयम् ओलीलाई पनि नभएको बताए । उनले ओलीलाई राजीनामा दिएर नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न पनि आग्रह गरे । प्रचण्डले भने, ‘प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न सक्ने स्थिति छैन । प्रधानमन्त्रीले अघि मतको लागि आग्रह गर्नुभएको छ । तर उहाँलाई पनि राम्रोसँग थाहा छ, यो सदनले उहाँलाई विश्वासको मत दिँदैन । उहाँले बुझ्दाबुझ्दै पनि अपिल गर्नुभएको छ। यो उहाँको अपीललाई लोकतान्त्रिक प्रक्रियाको रुपमा सम्मान नै गर्न चाहन्छु ।’
ओलीको कार्यशैलीकै कारण विश्वासको मत प्राप्त गर्ने स्थिति नभएको भन्दै उनले बरु ओलीलाई नैतिकताको आधारमा राजीनामा दिन मार्ग प्रशस्त गर्न विगतमा पनि आग्रह गरेको र अहिले पनि त्यही सुझाव दिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेश भ्रमण ५ दिनमा सीमित गर्न कर्मचारीलाई स्वास्थ्यमन्त्रीको निर्देशन
-
सट्टेबाजी खेलाउने गिरोहसँग मिलेर वालेटका कर्मचारीले गर्थे केवाईसी भेरिफाई
-
सुनको मूल्य तोलामा झण्डै १६ हजार रुपैयाँ घट्यो
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
-
सीटीईभीटी तालाबन्दी निषेध क्षेत्र घोषणा
-
अस्पताल थप्नेभन्दा भएकालाई राम्रोसँग चलाऔँ : मन्त्री पौडेल