शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

ओली सरकार ढाल्न काँग्रेस–माओवादीलाई साथ दिने नेपाल पक्षको निष्कर्ष

सोमबार, २७ वैशाख २०७८, ११ : ४८
सोमबार, २७ वैशाख २०७८

नेकपा एमालेको माधव कुमार नेपाल पक्षले केपी ओली नेतृत्वको सरकार बहिर्गमनको विकल्प नभएको निष्कर्ष निकालेको छ। त्यसका लागि बन्ने गठबन्धनमा आफूहरुको साथ रहने नेपाल समूहले निर्णय गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको माधव नेपाल पक्षको एमालेका सांसदहरुको बैठकले काँग्रेस–माओवादी र जसपाबीच बन्ने गठबन्धनमा आफूहरुको साथ रहने निष्कर्ष निकालिएको सांसद मेटमणि चौधरीले रातोपाटीलाई बताए । ‘हामीले ओली सरकारको बहिर्गमन हुनुपर्छ भनेका छौं, त्यसका लागि बन्ने काँग्रेस, माओवादी र जसपाबीचको गठबन्धनमा हाम्रो साथ रहन्छ’, उनले भने ।

यसअघि नेपाल खनाल समूहका सांसदहरुले राजीनामा दिने चर्चा चलेको भएपनि तत्कालका लागि विश्वासको मत नदिएर अध्यक्ष ओलीलाई असहयोग गर्ने र पार्टी पनि बचाइराख्ने नीति सो समूहले लिएको छ । नेता भीम रावलले तत्कालका लागि प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने र त्यसका लागि प्रतिनिधिसभाको सोमबारको बैठकमा अनुपस्थित हुने निर्णय बैठकले गरेको जानकारी दिए।

उनले भने “प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिनु भनेको लोकतन्त्रलाई कमजोर तुल्याउने र राजनैतिक नैतिकतालाई ध्वस्त गर्ने र देशको राजनीतिक स्थायित्व, नेपाली जनताको स्वाभिमान , स्वाधिनताको दृष्टिकोणबाट देश र राज्यलाई कमजोर तुल्याउने हुने हुँदा हामीले आजको प्रतिनिधिसभाको बैठक प्रधानमन्त्री केपी शर्मा ओली जीले नेपालको संविधानका धााराहरुको अपव्याख्या गरेर विश्वासको मत लिने भनेर उहाँले बोलाउन लगाउनुभएको थियो । यो बैठकमा अनुपस्थित हुने निर्णय गरेका छौ । उहाँलाई विश्वासको मत दिनुहुन्न । उहाँले प्रधानमन्त्रीबाट हट्नुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा रहेको छ । ”

राजीनामा दिने यसअघिको निर्णयबाट पछि फर्किएको हो भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने “हामी पछाडि फर्केका छैनौ उहाँले विश्वासको मत माग्नुभएको हुनाले उहाँलाई विश्वासको मत नदिदाँ नै यो अहिलेलाई पर्याप्त हुने निष्कर्षका साथ हामीले यो निर्णय गरेका छौ । ”

सोही रणनीतिका साथसाथै आज केही सांसदले राजीनामाबारे असन्तुष्टि समेत जनाएपछि हाललाई राजीनामा टरेको बताइएको छ । यसबारे थप रणनीति बनाउन अझै पनि केही सांसदहरु छलफलमा रहेको बताइएको छ ।

नेता रावलले प्रधानमन्त्री ओलीले देशलाई राजनीतिक स्थायित्व र पार्टीलाई राजनीतिक स्थिरता तर्फ लैजाने भन्दा दललाई विभाजित गरि देश नै लथालिंग भताभुंग पार्न उद्धत भएको आरोप लगाए । उनले भने, ‘हाम्रो पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल जीले हिजो नै यदि  ओली जीलाई पार्टीगत दृष्टिकोणबाट उहाँलाई विश्वासको मत दिनुपर्ने कुरा हो भने उहाँले नेकपा एमालेको नवौँ राष्ट्रिय महाधिवेशनको निर्णय , त्यसबाट निर्वाचित केद्रीय कमिटी र त्यसको पुर्ण संरचनालाई स्वीकार गर्नुको साथै फागुन २८ गतेको निर्णय खारेज गर्नुपर्छ । पार्टी विधिसम्मत ढंगले चलाउने कुरामा उहाँ तयार हुनुपर्छ भनेर व्यक्तिगत रुपमा हामी सबैको तर्फबाट पत्र पठाउनुभएको थियो । तर उल्टै केपी शर्मा ओली जीले हिजो दम्भ, अहंकार र गैर जिम्मेबार रुपमा उहाँले वक्तव्य जारी गर्नुभयो । प्रधानमन्त्री ओली देशलाई राजनीतिक स्थायित्व र पार्टीलाई राजनीतिक स्थिरता तर्फ लैजाने भन्दा पार्टीहरुलाई विभाजित गर्ने,देशमा लथालिंग भताभुंग गर्ने तर्फ उद्धत भएको देखिएको हुनाले उहाँलाई विश्वासको मत नदिने निर्णयमा पुगेका हौँ ।’

नेता रावले नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीलाई प्रधानमन्त्री ओली स्वयंले भंग गरिसकेकाले वैध नरहेका अध्यक्षले आफ्ना सांसदलाई निर्देशन दिने अधिकार नराख्ने र अवैध अध्यक्षले दिएको निर्देशन आफुहरुलाई पनि मान्य नहुने टिप्पणी गरे ।

आजको बैठकले ओलीलाई विश्वासको मत दिन संसद बैठकमा नजाने र राजीनामा पनि तत्काल नदिने निर्णय भएको चौधरीको भनाइ छ। बैठकमा नेपाल पक्षका भनिएका ३५ सांसदमध्ये २५ जनाको सहभागिता रहेको थियो भने ३ सांसद निर्णय प्रक्रियामा असन्तुष्टि जनाउँदै बीचमै बैठकबाट बाहिरिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप