बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

लकडाउनमा पनि लागूऔषध ओसारपसार : चार पक्राउ

सोमबार, २७ वैशाख २०७८, ११ : ०१
सोमबार, २७ वैशाख २०७८

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले मुलुकभर लकडाउन गरिरहँदा भारतसित सिमाना जोडिएको कञ्चनपुरमा भने लागूऔषधको कारोबार रोकिएको छैन । 

पछिल्लो दुई दिनमा प्रहरीले खैरो हेरोइनसहित दुई भारतीयसहित चार  युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रहरीले दुई दिनअघि यहाँको बेलौरी नगरपालिका–१० स्थित नेपाल–भारत सीमा स्तम्भ नजिक १२ ग्राम ६३० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित दुई भारतीय युवकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश टाटरगन्ज तहसिल पुरनपुर थाना हजारका १६ वर्षीय कृष्ण सिंह र २५ वर्षीय राजेन्द्र सिंह रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले यसअघि खैरो हेरोइन पैठारीमा यहाँका सीमा नाकाबाट एक दर्जनभन्दा बढी भारतीय युवकलाई पक्राउ गरेको छ ।

त्यसैगरी प्रहरीले यहाँको दोधारा चाँदनीबाट पनि स्थानीयवासी ३३ वर्षीय प्रेमदत्त भट्ट र वेदकोट नगरपालिका–२ का ३२ वर्षीय केशव खत्रीलाई खैरो हेरोइनसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षक भरत गिरीले बताए । 

उनले अभियुक्तहरूको साथबाट १४।६९ ग्राम खैरो हेरोइनसमेत बरामद गरेको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले पक्राउ परेका अभियुक्तहरूलाई मुद्दा चलाएर कारबाही अघि बढाइने बताए । 

“लागूऔषध कारोबारी प्रहरी लकडाउनमा व्यस्त छ भनेर सलबलाए”, उनले भने, “तर प्रहरीले सबैतिर निगरानी बढाइरहेको छ ।”
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप