शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सेना–प्रहरीमा फैलियो संक्रमण, ८७४ सुरक्षाकर्मी आइसोलेसनमा

सीडीओदेखि एआइजीसम्म संक्रमित, आइसोलेसनबाटै कमाण्डिङ
सोमबार, २७ वैशाख २०७८, ०९ : ०५
सोमबार, २७ वैशाख २०७८

काठमाडौं । कोरोनाभाइरसको पहिलो चरणको संक्रमणले सुरक्षा निकायलाई थिलथिलो बनाएको थियो । कोभिड–१९ संक्रमणको दोस्रो महामारी शुरु भएपछि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीमा फेरी कोरोना संक्रमण फैलिएको छ ।

नेपाली सेनाका २२५ जना सुरक्षाकर्मी आइसोलेसनमा छन् । सैनिक प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलका अनुसार १३३ जना सैन्य कर्मचारी अस्पतालमा छन् । अरु चाहिँ सेनाले तयार गरेको आन्तरिक आइसोलेसन र होम आइसोलेसनमा बसेर कोरोनासँग लडिरहेका छन् ।

सशस्त्र प्रहरी बलका १६५ जना सुरक्षाकर्मी संक्रमणको शिकार भएका छन् । काठमाडौं उपत्यकामा संक्रमण पुष्टि भएका २२ जनालाई बलम्बुस्थित एपीएफ अस्पतालको आइसोलेसनमा राखिएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी राजु अर्यालले रातोपाटीलाई बताए ।

रातोपाटीलाई प्राप्त तथ्यांक अनुसार नेपाल प्रहरीमा ४८४ जना सुरक्षाकर्मी संक्रमणको शिकार भएका छन् । तर, प्रहरी कर्मचारीको मनोवल खस्किने भन्दै नेपाल प्रहरीले संक्रमितको विवरण सार्वजनिक गरेको छैन ।

‘प्रहरीमा व्यापक संक्रमण छैन, ठिक ठिकै छ’ प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवरले रातोपाटीसँग भने, ‘प्राविधिक कारणले संक्रमितको तथ्यांक दिन असमर्थ छु ।’

प्रहरीमा जिल्लादेखि प्रधान कार्यालयसम्म कोरोना फैलिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत ४ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौं मातहतमा ३० जनाभन्दा बढी प्रहरी संक्रमित भएका छन् । प्रहरी प्रधान कार्यालयमा पनि उल्लेख्य संख्यामा संक्रमित भएका छन् । गत साल पहिलो चरणको संक्रमण शुरु हुँदा प्रधान कार्यालयमा सवारी चालक शाखाबाट संक्रमण फैलिएको थियो ।

 सीडीओदेखि एआइजीसम्म संक्रमित

कोरोना संक्रमण नियन्त्रणका गर्ने नेतृत्वदायी भुमिकामा रहेका गृह मन्त्रालय मातहतका प्रमुख जिल्ला अधिकारीदेखि प्रहरी अतिरिक्त महानिरीक्षक एआइजी) सम्म संक्रमणको शिकार भएका छन् ।

संक्रमण पुष्टि भएपछि ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला आइसोलेशनमा छन् । महानगरीय प्रहरी परिसर काठमाडौँमा कार्यरत दुई डीएसपी राजकुमार केसी र नरेन्द्र चन्द पनि कोरोना पोजेटिभ भएपछि आइसोलेसनमा छन् ।

वैशाख ८ मा कोरोना पोजेटिभ देखिएका महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा प्रमुख (एआईजी) हरिबहादुर पालले कोरोनालाई जितेका छन् । होम आइसोलेसनमा बसेर कोरोनालाई जितेका पाल नियमित काममा फर्किएका छन् ।

चितवनका एसपी ओमप्रसाद अधिकारीलाई गत बैशाख १४ गते संक्रमण पुष्टि भएलगत्तै कार्यालयको आवास गृहमा नै आइसोलेट भएर बस्नुपरेको छ । उनीसँगै चितवनमा अन्य दुई जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण भएको छ ।

यस्तै सिन्धुपाल्चोकका एसपी राजन अधिकारीलाई पनि गत बैशाख १८ गते कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएपछि उनी आवास गृहमा नै आइसोलेट भएर बसे । र, आइसोलेसनबाटै जिल्लाको कमाण्ड चलाइरहेका छन् ।

एसपी अधिकारीसँगै सिन्धुपाल्चोकको इलाका प्रहरी कार्यालय हेलम्बुका ५ जना प्रहरी कर्मचारी र जिल्ला प्रहरी कार्यालयमा कार्यरत अर्का १ जना प्रहरीलाई संक्रमण पुष्टि भएको छ । उनीहरु सबै प्रहरी युनिटमै आइसोलेसनमा बसेका छन् ।

कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि बागमती प्रदेशका १० जिल्लाका २९ जना प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको छ । काभ्रेका ९ जना, सिन्धुपाल्चोकका एसपीसहित ७ जना, मकवानपुरका ४ जना, रसुवाका ३ जना, चितवनका एसपीसहित ३ जना, धादिङका २ जना र नुवाकोटका एकजना प्रहरी कर्मचारीमा संक्रमण पुष्टि भएको छ ।

 संक्रमण पुष्टि हुनेमा फिल्डमा खटिएका प्रहरी जवान रहेका छन् । सिन्धुली, रामेछाप र दोलखामा कार्यरत प्रहरी कर्मचारीमा भने हालसम्म संक्रमण पुष्टि नभएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक डीआईजी बसन्तकुमार लामाले जानकारी दिए ।

त्यस्तै प्रदेशमा कार्यरत कुल ५ हजार १७९ जना प्रहरी कर्मचारीमध्ये ४ हजार २१८ जना प्रहरीले कोरोनाविरुद्धको खोप लगाएको डीआईजी लामाले जानकारी दिए । अन्य ९६१ जना प्रहरी कर्मचारीले विविध कारणले खोप नलगाएको लामाले बताए ।

बागमती प्रदेशमा पहिलो चरणमा ३९१ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो भने एकजना प्रहरीको मृत्यु भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप