मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेश : प्रदेश प्रमुखसमक्ष बहुमत पेश गर्ने तयारीमा विपक्षी गठबन्धन

आइतबार, २६ वैशाख २०७८, २२ : ००
आइतबार, २६ वैशाख २०७८

पोखरा । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएसँगै विपक्षी गठबन्धनले प्रदेश प्रमुख समक्ष बहुमत सांसदको हस्ताक्षरसहित सरकार गठनका लागि दावी गर्ने भएको छ । नेपाली काँग्रेसका प्रदेशसभा सदस्य विष्णु लामिछानेका अनुसार सम्भवतः सोमबार नै विपक्षी गठबन्धनले सरकार बनाउन दावी गर्नेछ ।

‘अहिले हामी छलफलमा छौं,’ आइतबार साँझ रातोपाटीसँग उनले भने, ‘आज त ढिलो भइसक्यो, सम्भवतः भोलि हामी प्रदेश प्रमुखलाई भेटेर बहुमतसहित सरकारको दावी गर्ने छौं ।’ नेकपा माओवादी केन्द्रका सांसद दीपक कोइराला पनि विपक्षी गठबन्धनले अब स्वाभाविक रुपमा सरकारमा दावी गर्ने बताउँछन् । ‘मुख्यमन्त्री संसदमा फेस गर्न डराउनुभयो,’ उनले भने, ‘अविश्वास प्रस्तावमाथि मतदान हुने पूर्वसन्ध्यामा उहाँले राजीनामा दिनुभयो । स्वाभाविक रुपमा अब विपक्षी गठबन्धनले सरकारमा दावी गर्दछ ।’

विपक्षी गठबन्धनलाई तोड्न सरकारले अनेक प्रयास गरे पनि अन्ततः त्यो सफल हुन नसकेपछि मुख्यमन्त्रीले राजीनामा दिएको उनको भनाइ थियो । ‘गठबन्धनका साथीहरु सहित प्रदेश प्रमुखकोमा बहुमतको सरकार बनाउन जान्छौं,’ उनले भने, ‘सम्भवतः भोलि नै हामी प्रदेश प्रमुखलाई भेट्छौँ ।’

विभिन्न प्रयास विफल भएपछि राजीनामा

मुख्यमन्त्री गुरुङले अविश्वास प्रस्ताव आउने सम्भावना देख्नासाथ संसदको अधिवेशन अन्त्य गरेका थिए । तर नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जसपा नेपालका सांसदहरुले मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दै प्रदेशसभाको विशेष अधिवेशन माग गरेपछि प्रदेश प्रमुखले विशेष अधिवेशन आह्वान गरेका थिए ।

विशेष अधिवेशनको पहिलो दिन अविश्वास प्रस्ताव पेश हुनका साथै सांसदहरुले छलफलमा भाग लिए पनि दोस्रो दिन सत्तारुढ नेकपा एमालेकै सांसदले प्रदेश सभा बैठक अवरुद्ध गरे । उनीहरुले सांसदहरुको पीसीआर परीक्षणको माग गर्दै बैठक चल्न दिएनन् ।

उल्लेखनीय छ, प्रदेश सरकारले विशेष अधिवेशन आव्हानको सूचना जारी भएको एक साताभन्दा लामो समयसम्म सांसदहरुको पीसीआर परीक्षणमा चासो देखाएको थिएन ।

विशेष अधिवेशनको तेस्रो बैठकमा सांसदहरुको बोल्ने क्रम समाप्त हुने र मुख्यमन्त्रीले जवाफ दिने कार्यतालिका रहेको अवस्थामा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही बेपत्ता भएपछि सोही पार्टीका सांसदले दिएको निवेदनका आधारमा प्रदेशसभा बैठक स्थगित भयो । बेपत्ता भएका सांसद शाही कोरोना संक्रमण भएको भन्दै एउटा अस्पतालमा भर्ना भएको पाइयो । जबकि, प्रदेशसभा सचिवालयमा भएको कोरोना परीक्षणमा उनको रिपोर्ट ‘नेगेटिभ’ आएको थियो ।

अन्ततः प्रदेशसभाको विशेष अधिवेशनको बाँकी कार्यसूची पूरा गर्नका लागि प्रदेशसभा सचिवालयले बैठकको मिति तोकि आवश्यक तयारी गरिसकेको अवस्थामा आइतबार मुख्यमन्त्री गुरुङले राजीनामा दिए ।

६१ सदस्यीय प्रदेशसभामा विपक्षी गठबन्धनले आफूसँग ३१ सांसदको समर्थन रहेको दावी गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप