केन्द्रीय संस्करण

महामारीमा सही सूचनाको खाँचो

person explore access_timeबैशाख २६, २०७८ chat_bubble_outline0

गत साता साँझपख मेरो मोबाइलको घन्टी बज्यो । छेउमै टेबुलमाथि रहेको मोबाइलको स्क्रिनतिर आँखा पु¥याएँ । आमाले फोन गर्नु भएको रहेछ । आमा केही समयअघि मात्र काठमाडौँ आएर उपचार गरेर फर्किनुभएको थियो । 
आमाले सधैँ फोन गरेपछि मेरो सन्चो–बिसन्चो बारे चासो दिनुहुन्थ्यो । मैले त्यही होला भन्ने हिसाबले फोन उठाएँ । तर त्यो दिन उहाँ अन्य दिनमा जस्तो सामान्य रूपमा प्रस्तुत हुनुभएन । केही हतासमा हुनुहुन्थ्यो । उहाँ कोरोना भाइरस र त्यसपछि सरकारले लगाएको लकडाउनबारे सामाजिक सञ्जालमा देखिने– भेटिने समाचारलाई लिएर चिन्तित हुनुभएको रहेछ । मैले फोन उठाएँ र ‘हेलो’ भने । आमाले पहिलो बोलीमै भलिहाल्नुभयो, ‘बाबु भाइ–बहिनी, तेरा सबै अङ्कल–अन्टी लिएर गाउँ आइज ।’ 

घर डडेलधुरा भए पनि हाम्रो परिवारका अधिकांश सदस्य विभिन्न पेसा र पढाइका कारण काठमाडौँमै बस्दै आइरहेका छौँ । 
आमा मसँग फोनमा बोलिरहँदा उहाँको छेउमै बसेर ७८ वर्षीय हजुरआमा सुँक्क सुँक्क रुनु भएको सुनिन्थ्यो । पछाडि हजुरआमा भन्दै हुनुहुन्थ्यो, ‘जसरी भए पनि उनीहरुलाई यतै बोला ।’
त्यति सुनेपछि फोन हजुरआमालाई दिन आग्रह गरेँ । हजुरआमाले रुँदै भन्नु भयो, ‘बाबु, हिजोदेखि चिन्ताले गर्दा सुत्न सकेको छैन । कोरोना त बढेर, जसरी भए पनि गाउँ फर्क ।’

गत महिना भारतबाट गाउँ फर्केका युवाले फेसबुकमा एउटा फोटो हालेछन् । त्यसमा कोरोनाका कारण मृत्यु हुनेहरुलाई लाइनै लगाएर जलाइएको रहेछ । पछि त्यो फोटो सामाजिक सञ्जालमा भाइरल पनि भएको थियो । 
त्यही फोटो देखेर आमा र हजुरआमाले मसँग परिवारका सबै सदस्यलाई घर फर्कन आग्रह गरिरहेका छन् । मलाई अहिले हरेक दिन घरबाट कम्तीमा पनि दुई पटक फोन आउँछ, त्यसमा सन्देश हुन्छ, ‘सबै घर फर्क ।’ 
त्यति मात्र होइन, हरेक दिन सामाजिक सञ्जालमा देखिने कन्टेन्ट र सञ्चार माध्यमहरुमा कोरोना भाइरसका कारण मृत्यु भइरहेका समाचारले आमा र हजुरआमालाई अहिले सुत्न दिएको छैन । उनीहरु डडेलधुरामा छन् तर मन यता काठमाडौँमा रहेको आफन्तको चिन्तामा छ । 

आमा र हजुरआमाका लागि सबैभन्दा ठूलो चिन्ताको विषय हो, बहिनीको जागिर । बहिनी स्टाफ नर्सका रूपमा एक अस्पतालमा कार्यरत छिन् । अस्पतालमा काम गर्ने डाक्टर तथा नर्सहरुमा कोरोना भाइरस सरेको र उनीहरुको ज्यान जोखिममा रहेको भन्ने सुनेका रहेछन् । अब छोरीको अवस्था के हुन्छ भन्ने चिन्ताले सताउँदो रहेछ । फोन गरेपिच्छे बहिनीलाई जागिर छाड्न अनुरोध गर्छन् । 
तर बहिनी भने अहिलेको बेलामा काम नगरे स्वास्थ्यकर्मीले कहिले काम गर्ने भन्दै ८ घन्टाको ड्युटीको स्थानमा १२ घन्टाभन्दा बढी काम गरिरहेकी छन् । मलाई बहिनीको कुरा आमा र हजुरआमालाई बुझाउन गाह्रो भइरहेको छ । 

महामारीका बेला यसरी आत्तिने आमा र हजुरआमा त प्रतिनिधि पात्र मात्र हुन् । यसरी नै कयौँ नेपाली युवाका आमा–बाबुहरू घरमा बसेर सन्तानको चिन्ता गरिरहेका छन् । किनभने  विभिन्न माध्यमबाट महामारीलाई थप भयानक रूपमा प्रस्तुत गरिएको छ । त्यसमा पनि सामाजिक सञ्जालमा त व्यक्तिपिच्छे महामारीको बारेमा व्याख्या गरिएको छ । भारतमा कोरोनाका कारण मृत्यु भएका व्यक्तिहरुको सामूहिक दाहसंस्कारको फोटालाई सामाजिक सञ्जालमा सेयर गर्दै भाइरल बनाइएको छ । यसले  कोरोनालाई थप आतङ्कका रूपमा व्याख्या गर्ने काम गरेको छ । उक्त फोटोकै कारण मेरा आमा र हजुरआमाको निद्रा नै बन्द गराइदिएको छ । 
.... 
महामारी जस्तो सङ्कटका समयमा सञ्चार माध्यम र सामाजिक सञ्जालको प्रस्तुति फरक हुनुपर्ने हो । ‘पीडितलाई थप पीडा दिनु’ भन्दा ‘पीडितलाई राहत दिने’ गरी समाचार सम्प्रेषण र प्रसारण हुनु आवश्यक देखिन्छ । सञ्चार माध्यम र सामाजिक सञ्जालमा आउने समाचारले आम मानिसलाई महामारीबाट कसरी बच्ने र सुरक्षित रहने जस्ता कुरामा ध्यान दिए महत्त्वपूर्ण हुन्छ । एक युवा सङ्गठनको नेतृत्वकर्ताको हैसियतमा मलाई के लाग्छ भने हामीले समस्यालाई बल्झाउनेभन्दा त्यसलाई कम गर्नेतर्फ सोच्नु उपयुक्त हुन्छ । अहिलेको समय कोरोनालाई थप डरका रूपमा प्रस्तुत गर्नुभन्दा यसका कारण र यसबाट बच्चे उपायहरुलाई ध्यानमा राखेर सञ्चार माध्यमहरुले ध्यान दिए कसैले पनि सङ्कटको बेलामा आफ्नो सन्तानलाई लिएर रहेक दिन चिन्ता लिएर सुत्नै नसक्ने स्थिति भोग्नु पदैन थियो । 

लेखक नेपाल युवा संस्था सञ्जाल (आयोन) का अध्यक्ष हुन् ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.