शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निर्माण गर्ने परामर्शमा काँग्रेस

आइतबार, २६ वैशाख २०७८, १५ : २७
आइतबार, २६ वैशाख २०७८

काठमाडौं । नेपाली काँग्रेसले आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निर्माणका लागि परामर्श गरिरहेको जनाएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि सोमबार प्रतिनिधिसभामा पेश गर्ने विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको काँग्रेसले आफ्नै नेतृत्वमा बैकल्पिक सरकार निर्माणको पहल गरेको हो ।

यसका लागि दलहरूसँग छलफल चलिरहेको र नेकपा माओवादी केन्द्रले काँग्रेसलाई सहयोग गर्ने निर्णय गरिसकेको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । उनले अलमलमा रहेको जनता समाजवादी पार्टीलाई पनि वर्तमान सरकारबाट मुलुकलाई पुग्ने क्षतिबाट देश र जनतालाई बचाउनका लागि प्रधानमन्त्री ओलीको विपक्षमा उभिन आग्रह गरे ।

आइतबार आफ्नै निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता महतले नेपाली काँग्रेसको नेतृत्वमा वैकल्पिक सरकार गठन गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् । उनले काँग्रेसको नेतृत्वमा सरकार गठन गर्न सके कोभिड १९ रोकथाम तथा नियन्त्रण गरि, मुलुकलाई भ्रष्टाचार मुक्त बनाई आउँदो निर्वाचनलाई निष्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न हुन सक्ने दाबी गरे ।

उनले भने, ‘नेपाली काँग्रेस सरकारको नेतृत्वमा जान हतारिएको थिएन । हामीले ५ वर्षपछि अर्को निर्वाचनबाट नै जनादेश लिएर सरकारमा जाने हाम्रो लक्ष्य थियो । तर ५ वर्षका लागि निर्वाचित भनेर आएको ओली जीको सरकार अत्यन्तै गैह्जिम्मेबार ठहरियो । भ्रष्टाचारको कोणबाट, कोभिड व्यवस्थापनको कोणबाट, लोकतान्त्रिक मूल्य र मान्यतालाई कमजोर गर्ने कोणबाट । सबै कोणबाट जनता विरोधी देखिए । त्यसैले हाम्रो संसदमा संख्या कम भएपनि अरु यस्तै सोच राख्ने दलहरु मिलेर यस(वर्तमान सरकार)को विकल्प दिउँ भनेर हामीले त्यो पहल गर्ने निर्णय गरेको हो ।

यसैबीच प्रधानमन्त्रीले आफै विश्वासको मत लिन्छु भनेर अग्रसर हुनुभएको छ । यो विश्वासको मतमा ओलीजीलाई असफल पार्ने भन्ने हाम्रो पार्टीको निष्कर्ष छ । त्यसमा विभिन्न दलका नेताहरुसँग छलफल जारी छ । त्यसमा नेकपा माओवादी केन्द्रले विश्वासको मतलाई असफल पार्ने कार्यमा नेपाली काँग्रेसलाई साथ दिने निर्णय गरिसकेको छ । जसपा अलि अलमलमा छ । कुराकानी भइरहेको छ । उहाँहरुले पनि देशको परिस्थितिलाई ध्यानमा राखेर साथ दिनुभयो भने यो सफल हुन्छ । त्यसो भएको खण्डमा बैकल्पिक सरकार नेपाली कांंग्रेसको नेतृत्वमा बन्ने अवस्था आउँछ ।’

नेता महतले वर्तमान अवस्थामा देश कोभिड संक्रमणको गम्भीर चरणबाट गुज्रिरहेको र सरकार कोभिड नियन्त्रण तथा रोकथाममा पूर्ण रुपमा असफल भएको आरोप लगाए । उनले कोभिड १९ संक्रमण  र रोकथामको विषय जटिल देखिएको, अक्सिजनमा कालोबजारी, वेड अभाव लगायत समस्या भएका कुराहरु मुलुक भरबाट आइरहँदा पनि सरकार पुरै असंवेदनशील र अकर्मण्य भएको टिप्पणी गरे । यस्तो भयावह अवस्थामा पनि प्रधानमन्त्री ओलीले नेपालमा कोभिड संक्रमण नियन्त्रणमा नै छ भनेर विश्वसामु झुटो बोलेको टिप्पणी उनले गरे ।

उनले भने, ‘हिजो प्रधानमन्त्री ओलीजीले सिएनएनलाई अन्तरवार्ता दिने क्रममा कोभिड अन्डर कन्ट्रोल छ भनेर बोल्नुभएको छ । योभन्दा झुटो कुरा अर्को हुन सक्तैन । अहिले कोभिड संक्रमण बढ्दै छ र सरकार उदासिन छ भन्ने स्पष्ट नै छ । वीर अस्पतालमा १ हजार बेड तुरुन्तै सुनिश्चित गर्ने भनेको, अरु ठाउँमा पनि भनेको अहिलेसम्म अगाडि बढ्न सकेको छैन । ”

उनले संक्रमितको प्रभावकारी ढंगले उपचारको व्यवस्था गर्न  तथा आवश्यक मात्रामा अक्सिजनको सुनिश्चिता गर्न सरकारसंग माग गरे । उनले महामारी नियन्त्रणका लागि सरकारले चालेका हर कदमलाई नेपाली काँग्रेसले साथ दिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप