बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

तीन चरणमा कार्यान्वयन हुँदै नागरिक एप, ६ महिनाभित्र थप ८० वटा नयाँ सेवा थप हुने

आइतबार, २६ वैशाख २०७८, १४ : ३३
आइतबार, २६ वैशाख २०७८

काठमाडौं । आईसीटी डे २०२१ को दिन पुरा भर्सनका रुपमा सार्वजनिक भएको नागरिक एपमा ६ महिनाभित्र थप ८० वटा नयाँ सेवा थप हुने भएका छन् । सरकारले अब ६ महिना भित्र अधिकांश सरकारी भुक्तानी यही एपबाट गर्न लागिएको जनाएको छ । 

शनिबार भएको दोस्रो चरणको डिजिटल संवाद कार्यक्रममा बोल्दै प्रधानमन्त्रीका आइटी सल्लाहकार अस्गर अलीले विभिन्न तीन चरणमा नागरिक एपमा सेवा सुविधाहरु थप गर्दै जाने बनाए । केही समयमा नै बागमती प्रदेश अन्तर्गत यातायातको कर तिर्ने व्यवस्था सुरु गर्न लागेको जानकारी दिँदै उनले खानेपानीदेखि चौमासिक, अर्थ वार्षिक, वार्षिक कर तिर्ने र अन्य सरकारी सेवाहरु लिने सबै सुविधा यसै एप मार्फत उपलब्ध गराउन लागेको पनि उनले बताए । त्यस्तै, विद्यार्थीको सुविधाको लागि त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्व विद्यालय पनि यस एपमा चाडै नै जोडिन लागेको उनले जानकारी गराए । 

तीन महिनामा नेपालमा पहिलोपटक बिना कुनै कागजात १० हजार जनाले प्यान नम्बर लिएर यसको सफल उदाहरण पेश भएको भन्दै अहिले नागरिक एपबाट बैंक खाता खोल्ने व्यवस्था पनि गरिएको छ ।

त्यस्तै, संचार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव तथा आइटी महाशाखा प्रमुख अनिल दत्तले मन्त्रालयले नागरिक एपलाई डिजिटल नेपालसँगै जोडेर प्राथमिकताको साथ आगाडि बढाइरहेको बताए । उनले नागरिक एपको निर्देशिका पारित हुने क्रममा रहेको पनि जानकारी गराए । त्यस्तै, एपको सुरक्षाको लागि अडिट र हरेक सेवा थप्दा सेक्युरिटी परीक्षण गरिरहेको बताए । डेटा क्लिनको लागि गृह मन्त्रालयमा सिस्टम विकास भएको र त्यसमा सुधारको काम भइरहेको बताए । आजसम्म ६ लाख २५ हजारले यो एप डाउनलोड गरेको र २ लाख बढिको भेरिफाई भएको दत्तले बताए ।

क्यान महासंघका अध्यक्ष नवराज कुँवरले नागरिक एप कार्यान्वयनमा मुख्य तीन कुरामा ध्यान दिनु पर्ने बताए । पहिलो सूचना तथा सञ्चार प्रविधिको पूर्वाधार ग्रामिण भेगसम्म पुग्नु पर्ने बताए । 

युवा प्रतिनिधी सेलिसा क्षेत्री नागरिक एप आफूले सोचेभन्दा धेरै राम्रो पाएको बताइन । राम्रो हुँदाहुँदै पनि यसमा धेरै जनाको गुनासो रहेको भन्दै त्यो सम्बोधन गर्न राम्रो समन्वय गर्नुपर्ने उनले बताइन। 

कार्यक्रमलाई संवोधन गर्दै पूर्वमन्त्री गणेश शाहले नागरिक एप डिजिटल नेपालको लागि एक महत्वपूर्ण प्लेटफर्मको रुपमा विकास भइरहको हुँदा सरकारले उच्च प्राथमिकतामा राख्दै काम गर्नुपर्ने बताए । जनताले यसबाट लाभ लिन सक्नुपर्छ अनिमात्र नतिजा देखिने शाहको भनाई थियो । कार्यक्रममा सहभागीले नागरिक एपको प्राविधिक पक्ष, डेटा सुरक्षा र नागरिकताबाट तथ्यांक उपलब्ध नभएको गुनासो गरेका थिए । 

नागरिक एप नेपाल सरकारले प्रविधिमार्फत हातहातमा सरकारी सेवा दिने उदेश्य सहित सुरु गरेको एप्लिकेशन हो । एपको वेटा भर्सन केहि महिनाअघि सार्वजनिक भएपनि गत बैशाख १९ गते प्रधानमन्त्रीले यसको पुरा भर्सन सार्वजनिक गरेका थिए । अबको ३ वर्षमा एपमा अधिकांश सुविधाहरु उपलब्ध हुनेगरी काम भइरहेको सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले जनाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप