नेपाल बेलायतको यात्रा प्रतिबन्धको ‘रेड लिस्ट’ मा

बेलायतको यात्रा प्रतिबन्धको ‘रेड लिस्ट’ मा नेपाल पनि थपिएको छ ।
नेपालसहित टर्की र माल्दिभ्सलाई समेत आउँदो मे १२ तारिख बिहान ४ बजेबाट लागू हुने गरि बेलायतको रेड लिस्ट’ मा समावेश गरिएको बेलायती यातायात मन्त्री ग्रान्ट श्याप्सले जानकारी दिए।
यसअघि बेलायतले भारत, कतार लगायतका मुलुकलाई ‘रेडलिस्ट’मा राखेको थियो । पछिल्लो समय टर्कीमा कोरोना संक्रमण दैनिक २७ हजार भन्दा हुन थालेपछि राष्ट्रिय लकडाउनको घोषणा गरिएको छ ।
यसैगरी नेपालमा पनि कोरोना संक्रमण दर र मृतक संख्यामा अत्यधिक वृद्धि भएपछि बेलायत सरकारले यात्रा प्रतिबन्ध लगाएको हो ।
बेलायती नागरिक वा बेलायतको 'रेसिडेन्स पर्मिट' हुनेहरूलाई यात्रा बन्देजको नियम लागू हुनेछैन । तर, उनीहरुले पनि अनिवार्य रुपमा १० दिन होटेल क्वारेन्टिन बस्नुपर्नेछ ।
होटेल क्वारेन्टिनका लागि लाग्ने साढे १७ सय पाउन्डको खर्च समेत यात्रु आफैंले व्यहोर्नुपर्ने । त्यस अवधिमा दुई पटक पिसिआर टेस्ट गराउनु पर्नेछ । तर, नतिजा नेगेटिभ आएपनि १० दिनको पूरै अवधि होटेल क्वारेन्टिनमै बिताउनुपर्नेछ ।
कोरोना संक्रमणको उच्च दर रहेका र नयाँ भेरियन्ट देखिएका मुलुकहरूबाट भित्रिने यात्रुलाई विशेष निगरानीमा राख्ने प्रयासमा ल्याइएको ‘रेड लिस्ट’मा करिब ४३ वटा देश समावेश छन् ।
१२ वटा मुलुक बेलायतको ग्रीन लिस्टमा
बेलायतले रेड लिस्टको संख्या थपिएसँगै यसअघि रेड लिस्टमा रहेका विभिन्न १२ मुलुकलाई भने अब ग्रीन लिस्टमा सारेको छ । सोमबारदेखि लागू हुने गरी पोर्चुगल, इजरायल, सिंगापुर, अष्ट्रेलिया, न्यूजिल्यान्ड, ब्रुनाइ, आइसल्यान्ड, जिब्रलटार, फकल्यान्ड आइल्यान्ड, फारोइ आइल्यान्ड, साउथ जर्जिया एण्ड स्यान्डविच आइल्यान्ड र सेन्ट हेलेना, ट्रिष्टान डि कुन्हा एण्ड एस्सेनसन आइल्याण्डलाई ‘ग्रीन लिस्ट’ मा राखिएको छ । ग्रीन लिस्टमा पर्ने मुलुकबाट आउने यात्रुहरुलाई क्वारेन्टिन बस्न पर्नेछैन । आउँदो मे १७ तारिखबाट हाल जारी लकडाउन सहज गरिने र उक्त मितिबाट यात्रा प्रतिबन्ध सम्बन्धि नयाँ नियम लागू गरिनेछ ।
बेलायतमा भने पछिल्लो समयमा कोरोना संक्रमण दर र मृतक संख्यामा उल्लेखनीय कमी आएको छ । कोरोनाविरुद्धको खोपलाई दिइएको तीव्रता र लकडाउनका कारण कोरोना भाइरस संक्रमणमा कमी आएको सरकारको दावी छ । शनिबार सार्वजनिक तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा ५ जना मात्र संक्रमितको मृत्यु भएको छ । यसैगरी दुई हजार ४७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । बेलायतमा हालसम्म एक लाख २७ हजार ६०३ संक्रमितको मृत्यु भएको छ भने ४४ लाख ३३ हजार बढी संक्रमित भएका छन् । बेलायतमा हालसम्म ५ करोड २४ लाख भन्दा बढी मात्रा खोप वितरण गरिएको छ । जसमध्ये ३ करोड ५१ लाख ८८ हजार ९८१ ले खोपको पहिलो र एक करोड ७२ लाख १४ हजार ४३६ ले खोपको दोस्रो मात्रा लिएको सरकारी तथ्यांकमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीके राउतको सम्बन्धविच्छेद मुद्दा अदालतले मिलापत्रमा पठायो
-
माओवादीको तराई मधेस जागरण अभियान १७ गते महेन्द्रनगरमा समापन हुने
-
‘यूथ सेलिब्रेशन’का लागि भृकुटीमण्डपमा भेला हुन थाले युवा, तस्बिरहरू
-
बुढ्यौलीलाई रोकेर निरोगी रहन चाहनुहुन्छ ?
-
इलाका प्रहरी कार्यालयमा पुस्तकालय
-
एक वर्षमा प्रेस स्वतन्त्रता हननका ६४ घटना