बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

माधव समूहको निष्कर्ष : ओली एकताका लागि तयार भएनन्, अब सामुहिक राजीनामा

शनिबार, २५ वैशाख २०७८, २३ : २४
शनिबार, २५ वैशाख २०७८

नेकपा एमाले माधव–झलनाथ पक्षले केपी ओलीसँग गरिएको एकता प्रयासको समीक्षा गरेको छ । शनिबार राजधानीमा बसेको माधव–खनाल समूहका सांसदहरुको बैठकले केपी ओली पार्टी एकताका लागि तयार नभएको निश्कर्ष निकालेको छ ।

‘आज हाम्रो पक्षका सांसदहरुको बैठक बसेको थियो, जहाँ हामीले ओली पक्षसँग भएका वार्ता र एकताका प्रयासहरूबारे समीक्षा गर्यौं,’ माधव नेपालनिकट एक नेताले रातोपाटीसँग भने, ‘ओलीजी पार्टी एकताका लागि तयार नरहेको हाम्रो निश्कर्ष रह्यो, अब आइतबार साँझ स्थायी कमिटीको बैठक बसेर थप निर्णय गर्छौं ।’

आजको छलफलमा केपी ओलीलाई विश्वासको मत दिनुभन्दा सामुहिक राजीनामा गर्दा उपयुक्त हुने निश्कर्ष निस्किएको ती नेताले बताए ।

तर, यसबारेमा स्थायी कमिटीको बैठकबाटै औपचारिक निर्णय गरिने उनले बताए । ती नेताले भने, ‘आजै राजीनामा पत्र लेखिएको वा हस्ताक्षर गरिएको होइन, यसबारे भोलि स्थायी कमिटीमा छलफल हुन्छ ।’

वैशाख २७ गते विश्वासको मत दिने बेलामा फ्लोर क्रस गर्नु अनुशासन विपरीत हुने भएकाले त्यस अगावै सांसदहरुले राजीनामा दिने सम्भावना बढेको ती नेताले बताए । उनले भने, ‘अब यसको विकल्प देखिएन ।’

यसबीच, तीन दिनको अवधिमा एमालेका दोस्रो तहका नेताहरुले ओली पक्षसँग सहमतिका लागि पटक–पटक छलफल गरेका थिए । तर, ओली आफ्नो अडानमा टसमस नभएको र जेठ २ मा फर्कन त के, कारवाही फिर्ता लिनसम्म तयार नदेखिएकाले ओलीसँग सहमति टरेको माधव पक्षका सांसदहरुको निश्कर्ष छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप