शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशका स्थानीय तहद्वारा आइसोलेशन निर्माणको कामलाई तीव्रता

शनिबार, २५ वैशाख २०७८, २१ : ३२
शनिबार, २५ वैशाख २०७८

 कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा सङ्क्रमितको उपचार प्रभावकारी बनाउन लुम्बिनी प्रदेशका स्थानीय तहले आइसोलेशन निर्माणको कामलाई तीव्र बनाएका छन् ।  प्रदेशका अस्पतालमा अक्सिजन अभावका कारण कोरोना भाइरस सङ्क्रमित बिरामीको उपचारमा समस्या हुन थालेपछि स्थानीय तहले आआफ्ना पालिकामा अक्सिजन सिलिन्डर सहितका आइसोलेशन निर्माण गरेका छन् । प्रदेशमा अहिलेसम्म नौ जिल्लाका पालिकाले ६०  आइसोलेशन सेन्टर तयार गरेका छन् । ती आइसोलेशनमा एक हजार ८३ शय्या राखिएका छन् ।

अस्पतालबाहेक रुपन्देहीमा १३, कपिलवस्तुमा सात, दाङमा दश, बाँकेमा १४, गुल्मीमा चार, अर्घाखाँचीमा पाँच, प्युठानमा आठ र रुकुम(पूर्व)मा एक आइसोलेशन सेन्टर सञ्चालनमा छन् । बाँकी जिल्लामा पनि आइसोलेशन निर्माणको तयारी गरिएको छ ।

प्रदेशका  आठ जिल्लाका स्थानीय तहका आइसोलेशन सेण्टरमा मात्रै ३४२  सङ्क्रमितको उपचार भइरहेको छ । यीबाहेक प्रदेशमा चार विशेष कोरोना आइसोलेशन अस्पतालसहित १२  आइसोलेशन अस्पताल छन् । प्रदेशमा होम आइसोलेशनमा १४ हजार ४३६ जना कोरोना सङ्क्रमित छन् ।

रुपन्देहीको बुटवल उपमहानगरपालिकाले कोरोना सङ्क्रमण नियन्त्रण र उपचार प्रक्रियालाई प्रभावकारी बनाउ समुदायस्तरमा कोरोना परीक्षण गर्नाका साथै अक्सिजन बैंक सञ्चालन गरेको छ । नगरपालिकाले अहिलेसम्म अस्पतालमा शय्या नपाएका १२९ जनालाई अक्सिजन सिलिन्डरको व्यवस्था गरेको प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए। अस्पताल बिरामीले भरिएपछि नगरपालिकामा अक्सिजनको माग धेरै भएको उनको भनाइ थियो ।

जिल्ला प्रशासन कार्यालयले अस्पतालका लागि प्राथमिकता दिन ग्यास उद्योगलाई परिपत्र गरेपछि बैंकमा पर्याप्त अक्सिजन नभएको प्रवक्ता रेग्मीले बताउनुभयो । नगरपालिकाले बुटवलको एन्फा एकेडेमीमा आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएको छ भने वडा नं ११ र १३ का भवनमा थप आइसोलेशन सेन्टर बनाउने तयारी गरेको छ ।

तिलोत्तमा नगरपालिकाले शंकरनगरमा ४० शय्या क्षमताको एक तहको अस्पतालको सुविधा रहेको आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएको तथा वडा नं. ९ को केवलानीमा थप ६० शय्याको आइसोलेशन सेन्टर बनाउन तयारी थालेको नगर प्रमुख वासुदेव घिमिरेले जानकारी दिनुभयो ।

तिलोत्तमाले कोरोना सङ्क्रमितको उपचारका लागि आइसोलेशन सेन्टरमा पर्याप्त अक्सिजन सिलिण्डरको व्यवस्था मिलाउन अक्सिजन सिलिण्डर सहजीकरण तथा व्यवस्थापन समिति गठन गरेको छ ।  नगरस्तरीय कोभिड—१९ संकट व्यवस्थापन केन्द्रको बैठकले नगर उपप्रमुख जागेश्वरी चौधरीका संयोजकत्वमा राजनीतिक दल, व्यवसायिक संघसंस्थाका प्रतिनिधि, कर्मचारी सहभागी रहेको समिति गठन गरेको हो ।

नगर प्रमुख घिमिरेका अध्यक्षतामा बसेको सिसिएमसीको सचिवालय बैठकले आइसोलेशन सेन्टरमा पर्याप्त अक्सिजन सिलिण्डरको व्यवस्थापन गर्न नगर क्षेत्रभित्र रहेका उद्योगी, व्यापारी, संघसंगठनलाई संस्थागत हिसाबले अनुरोध गर्ने निर्णय गरेको छ ।

सैनामैना नगरपालिकामा कोरोना भाइरसविरुद्ध कोरोना अस्थायी आइसोलेशन अस्पताल सञ्चालनमा आएको छ । सैनामैना १ स्थित पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयमा कोरोना विशेष अस्थायी आइसोलेशन अस्पताल निर्माण गरी सञ्चालनमा ल्याइएको नगर उपप्रमुख विना रानाले बताउनुभयो । नगरपालिकाले समुदायस्तरमा समेत कोरोना परीक्षण शुरु गरेको छ । यही वैशाख २७ गतेसम्म्म नगरका सबै वडामा स्वाब संकलन र परीक्षणको काम गरिने नगरपालिकाले जनाएको छ ।

यस्तै देवदह नगरपालिकामा अक्सिजनसहितको २० शय्याको आइसोलेशन सेण्टर सञ्चालन गरिएको छ । देवदह –७ मा रहेको मगर समाजका भवनमा आइसोलेशन सेण्टर सञ्चालन गरिएको नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले बताउनुभयो । नगरपालिकाले समस्या देखिएका नगरवासीको निःशुल्क कोरोना परीक्षणसमेत शुरु गरेको उहाँले बताउनुभयो ।

 सिद्धार्थ नगरपालिकाले बसपार्कमै आइसोलेशन सेण्टर सञ्चालनमा ल्याएको छ । सेण्टरमा अक्सिजन सिलिण्डर सहितका २० शय्या रहेको नगर उपप्रमुख उमा काफ्लेले जानकारी दिनुभयो । सिद्धार्थ नगरले सङ्क्रमितको मनोबल बढाउन होम आइसोलेशनमा मनोपरामर्श दिने कामसमेत गरिहेको उहाँले बताउनुभयो ।

लुम्बिनी सांस्कृतिक नगरपालिका १० मा अक्सिजन सहितको २० शय्याको आइसोलेशन सञ्चालन गरिएको छ । नगरमा कोरोना सङ्क्रमण देखिएका बिरामीलाई आसोलेशनमा राख्ने र थप समस्या देखिए अस्पताल पठाउने गरिएको नगर प्रमुख मनमोहन चौधरीले जानकारी दिनुभयो । बिरामीको सेवाका लागि दक्ष स्वास्थ्यकर्मी र एउटा एम्बुलेन्सको समेत व्यवस्था गरिएको उहाँको भनाइ थियो । लुम्बिनीले कोरोनाको रोकथामका लागि आइतबारदेखि समुदायस्तरमा कोरोना परीक्षणसमेत गर्न लागेको छ ।

रोेहिणी गाउँपालिकाले पनि कोरोना सङ्क्रमितको उपचारका लागि पाँच शय्याको आइसोलेशन सञ्चालन गरेको छ । रोहिणी–३ मा रहेको धकधई प्राथमिक स्वास्थ्य केन्द्रमा सङ्घीय सरकारको रु १० लाख सहयोगमा आइसोलेशन तथा कोरोना विशेष अस्पताल सञ्चालमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए ।

शुद्धोधन गाउँपालिकाले पनि मोतीपुर स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी पालिकाका नागरिकलाई सेवा दिएको छ । पाँच शय्याको स्वास्थ्य केन्द्रलाई १० मा पु¥याएर कोरोना सङ्क्रमितको उपचारलाई प्रभावकारी बनाउन लागिएको प्रवक्ता राजेन्द्र कँडेलले जानकारी दिए।

जुटे दाङका स्थानीय तह

दाङमा कोरोना सङ्क्रमितको संख्या दिनहुँ बढेसँगै स्थानीय तहले अक्सिजनसहितको आइसोलेशन कक्ष निर्माण गर्न थालेका छन् । स्थानीय सरकारले १५ देखि २० शय्यासम्मको आइसोलेशन कक्ष निर्माण गरेका छन् ।

घोराही उपमहानगरपालिकाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग समन्वय गरेर कोरोना सङ्क्रमितको उपचार थालेको छ । जिल्ला कोरोना संकट व्यवस्थापन समितिको निर्णयअनुसार  उपमहानगरपालिकाले अक्सिजनसहितको ४० शय्या बनाउने निर्णयअनुसार प्रतिष्ठानसँगको सहकार्यमा बिरामीको उपचार थालेको हो । प्रतिष्ठानमा अहिले २५ शय्या बनिसकेकोे प्रबन्धक राजेन्द्र न्यौपानेले जानकारी दिए ।

तुलसीपुर उपमहानगरपालिकाले वडा नम्वर ८ को अस्वारामा ५० शय्या तयार गरेको छ । उपचारका अभावमा कुनै पनि नागरिकले अनाहकमा ज्यान गुमाउन नपरोस् भनेर हेलीप्याड बनाइएको प्रमुख घनश्याम पाण्डेले बताए । साथै एम्बुलेन्स सेवाका लागि नौ अटोरिक्सालाई एम्बुलेन्सका रुपमा प्रयोगमा ल्याइएको छ ।

लुम्बिनी प्रदेश सरकारले सञ्चालनमा ल्याएको कोरोना विशेष अस्पताल बेलझुण्डीमा एक सय शय्या सञ्चालनमा आएको छ । अस्पतालका व्यवस्थापक द्रोण ओलीका अनुसार यसअघि ४२ शय्या मात्रै सञ्चालनमा थिए । अहिले थप भएर सय शय्या छन् । 

गढवा गाउँपालिकाले पुरानो गाउँपालिकाको भवनमा २० शय्याकोे आइसोलेशन अस्पताल तयार गरेको छ । सामान्य बिरामीलाई आइसोलेशन सेन्टरमा उपचार गर्ने र जटिल प्रकारका बिरामीलाई देउखुरी क्षेत्रका चार पालिकाले लमही अस्पतालमा अक्सिजनसहितको शय्याको व्यवस्था गरेको हुँदा बिरामीलाई लमही रिफर गर्ने गरिएको गढवा स्वास्थ्य शाखा प्रमुख कैलाशचन्द्र चौधरीले जानकारी दिनुभयो ।

राजपुर गाउँपालिकाले अक्सिजनसहितको २५ शय्याको आइसोलेशन अस्पताल सञ्चालन गरेको छ । पाँच सिलिण्डरसहितको उपचार केन्द्रमा अहिले नौ जनाले उपचार सेवा लिइरहेको राजपुर स्वास्थ्य शाखा प्रमुख कमल रोकायले जानकारी दिए ।

बंगलाचुली गाउँपालिकाले २५ शय्याको आइसोलेशन सञ्चालनमा ल्याएको छ । गाउँपलिकामा  नौ  सङ्क्रमितमध्ये दुई जना पालिका बाहिर उपचाररत र  अन्य घरमै आइसोलेसशमा रहेको गाउँपलिका उपाध्यक्ष यमुना थापाले जानकारी दिइन् । 

बबई गाउँपालिकाले अक्सिजनसहितको ३० शय्याको अस्पताल सञ्चालन गरेको छ ।  हापुरे प्राथमिक अस्पतालमा सेवा शुरु गरिएको बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले जानकारी दिए ।

दंगीशरण गाउँपालिकाले १० शय्याको आइसोलेशन सञ्चालनमा ल्याएको छ । श्रीगाउँ प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेशन बनाइएको पालिका अध्यक्ष भागिराम चौधरीले बताउनुभयो । पश्चिम दाङको शान्तिनगर गाउँपालिकाले वडा नं ६ को स्वास्थ्यचौकीमा कोभिड उपचार आइसोलेशन अस्पताल सञ्चालन गरेको छ । २० शय्याको अक्सिजनसहितको उपचार सेवा दिइएको स्वास्थ्य शाखा प्रमुख हरिबहादुर पुन मगरले जानकारी दिए ।

रामपुरले २५ शय्याको आइसोलेशन बनाउँदै

पाल्पाको रामपुर नगरपालिकाले विभिन्न वडामा १५ तथा रामपुर अस्पतालमा १० गरी २५ शययाको आइसोलेशन कक्ष निर्माण गर्ने भएको छ ।  रामपुर अस्पतालको समन्वयमा अक्सिजनसहितको १० शययाको आइसोलेशन कक्ष निर्माण गरिने छ ।  पालिकाका वडा नम्बर १ , ९ र १० नम्बरमा यही वैशाख २६ गतेदेखि  सेवा प्रदान गर्ने गरी अक्सिजनसहितको पाँचपाँच शय्याको आइसोलेसन निर्माण गरिने, प्रत्येक हप्ता बुधबार र शनिबार एन्टीजेन तथा पिसिआर परिक्षणका लागि स्वाब सङ्कलन गरिने नगर प्रवक्ता हुमनाथ न्यौपानेले बताए ।

नगरपालिकाले कोभिड–१९ सङ्क्रमण भएका नागरिकलाई अस्पतालसम्म पु¥याउन निःशुल्क एम्बुलेन्स सेवा दिने तथा कोभिडको कारण ज्यान गुमाउनेको परिवारलाई रु ३० हजार दिने भएको छ ।

अग्रभागमा काम गर्ने स्वास्थ्यकर्मीलाई नेपाल सरकारले तोकबमोजिमको भत्ता उपलब्ध गराउने तथा सञ्चार, स्वास्थ्य र सुरक्षाकर्मीलाई अक्सिजनसहितको निःशुल्क आइसोलेशन कक्ष निर्माण गरिदिने निर्णय भएको छ । विपद्का समयमा हुने कालोबजारी नियन्त्रणका लागि अनुगमन गरी स्वास्थ्य र खाद्य सामग्री तथा दैनिक उपभोग्य वस्तुमा कालोबजारी गरेको पाइएमा कडा कारवाही गरिने नगर प्रमुख रमणबहादुर थापाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप