शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतद्वारा निर्मित कोरोनाविरुद्धको औषधि 2-DG लाई आपत्कालीन प्रयोगको अनुमति

संक्रमितको अक्सिजनमाथिको निर्भरता घटाइ चाँडो निको बनाउने दाबी
शनिबार, २५ वैशाख २०७८, १८ : २०
शनिबार, २५ वैशाख २०७८

भारतको ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया (डीसीजीआई) ले शनिबार ड्रग २–डीआँकसी–डी ग्लुकोज (२–डीजी) औषधिलाई कोरोनाविरुद्ध आपत्कालीन प्रयोगको अनुमति दिएको छ । कोरोना संक्रमितका लागि यो वैकल्पिक उपचार हुनेछ । यो औषधि प्रयोग गरिएका संक्रमितको आरटी–पीसीआर रिपोर्ट चाँडो नेगेटिभ आएको थियो ।

यो औषधिले संक्रमणको बृद्धि रोकेर संक्रमितलाई चाँडो निको हुन मद्दत गर्ने दाबी गरिएको छ । २–डिजी लाई डिफेन्स रिसर्च एन्ड डेभलपमेन्ट अर्गनाइजेसन (डीआरडीओ) को ल्याब इन्सिटिच्यूट अफ न्यूक्लियर मेडिसिनले डा. रेड्डीज ल्याबरेटोरीको मद्दतले तयार गरेको हो । सुरुवाती परीक्षणमा यसको प्रयोगले संक्रमितमा अक्सिजनको लेभलमा सुधार हुने पाइएको थियो ।

१७ अस्पतालमा ११० संक्रमितमा दोस्रो चरणको ट्रायल

डीजीसीआईले मे २०२० मा कोरोना संक्रमितमाथि २–डीजी को दोस्रो चरणको क्लिनिकल ट्रायल शुरु गरेको थियो । अक्टोबर २०२० सम्म चलेको ट्रायलमा २–डीजी सुरक्षित पाइएको थियो । यसले संक्रमितलाई चाँडो निको हुन मद्दत गरेको पाइएको थियो । दोस्रो चरणको ट्रायल ए र बी फेजमा गरिएको थियो । यसमा ११० जना संक्रमितलाई सामेल गरिएको थियो । फेज २–ए मा ६ अस्पताल सामेल थिए भने फेज २–बीमा ११ अस्पतालका संक्रमित सामेल थिए ।

२२० संक्रमितमा तेस्रो चरणको ट्रायल

त्यसपछि डिसेम्बर २०२० देखि मार्च २०२१ सम्म २२० जना संक्रमितमा तेस्रो चरणको ट्रायल गरिएको थियो । यो परीक्षण दिल्ली, यूपी, पश्चिम बंगाल, गुजरात, राजस्थान, महाराष्ट्र, आन्ध्र प्रदेश, तेलंगाना, कर्नाटक र तमिलनाडुका २७ अस्पतालमा गरिएको थियो । परीक्षणको तेस्रो दिनमा नै संक्रमितको अक्सिजनमाथिको निर्भरता ४२ प्रतिशतबाट घटेर ३१ प्रतिशत भएको थियो । यो औषधिले ६५ वर्षमाथिका बिरामीमा पनि सकारात्मक प्रतिक्रिया दिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

यो औषधी धुलोको रुपमा पाइनेछ जसलाई पानीमा घोलेर संक्रमितलाई पिउन दिइने मिडिया रिपोर्टमा उल्लेख छ । यो औषधि मानिसको कोषिकासम्म पुगेर संक्रमणलाई फैलन रोक्ने बताइएको छ ।

दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप