शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

किसान सहकारीले पायो अन्तर्राष्ट्रिय पुरस्कार

शनिबार, २५ वैशाख २०७८, ११ : ५१
शनिबार, २५ वैशाख २०७८

कैलालीको लम्कीस्थित किसान बहुउद्देश्यीय सहकारी संस्था सदस्य सुरक्षणका लागि अब्बल संस्थाको रुपमा पुरस्कृत भएको छ । 
सदस्य सुरक्षणमा विश्वव्यापी सिद्धान्तहरुको पालना गरेको भन्दै संस्था अन्तर्राष्ट्रियस्तरको ‘स्मार्ट सर्टिफिकेट’ (प्रमाणपत्र)सहित पुरस्कृत भएको हो । 

ग्राहक/सदस्य सुरक्षणका सूचकांकहरुको अनुगमन तथा मूल्यांकन गर्ने अन्तराष्ट्रिय सञ्जाल ‘स्मार्ट क्याम्पियन’ ले संस्थालाई ग्राहक÷सदस्य सुरक्षणमा अब्बल संस्था रहेको ठहर गर्दै प्रमाणपत्र  सहित पुरस्कृत भएको संस्थाका प्रोजेक्ट मेनेजर दिपक राज ढुङ्गानाले जानकारी दिए ।​
क्याम्पियनले निर्धारण गरेका ग्राहक सुरक्षणका सिद्धान्त तथा १९२ मानङ्गकहरु किसान सहकारीले पूर्णरुपमा पालना गरेको अन्तर्राष्ट्रिय अभियानले ठहर गरेको छ ।
सिद्धान्तअनुसार सहकारी संस्थाले सदस्यहरु अधिक कर्जाको भार नपारेको, वित्तीय सेवाहरुको निर्माण, परिमार्जन तथा वितरणमा प्रभावकारी प्रक्रिया अवलम्बन गर्ने गरेको, वित्तीय सेवाको मूल्य निर्धारण गर्दा जिम्मेवार हुने गरेको, वित्तीय सेवा प्रवाह गर्दा लाग्ने शुल्क तथा मूल्यबारे पारदर्शिता कायम गर्ने गरेको, सदस्यहरुसँग सम्मानजनक व्यवहार गर्ने गरेको, सदस्यका सूचनाहरु गोप्य राख्ने गरेको र सदस्यका गुनासा सुन्ने चुस्त दुरुस्त संयन्त्र निर्माण गरि प्रभावकारी प्रयोग गरेको अभियानले ठहर गरेको उनले बताए ।

सहकारी संस्था सदस्य सुरक्षणकालागि विभूषित हुने नेपालको पहिलो वित्तीय संस्था बनेको छ ।
यस प्रमाणपत्रको म्याद ४ वर्ष रहनेछ । ४ वर्ष पछि पुनःप्रमाणिकरण प्रक्रियामा गई संस्थाले सिद्धान्तहरुको पालनालाई निरन्तरता दिएको साबित गर्न सक्नु पर्ने प्रमाणपत्र जारी गर्ने निकाय ‘स्मार्ट क्याम्पीयन’को नीति रहेको छ ।
सहकारीले सन् २०१५ मा पहिलो पटक सदस्य सुरक्षणमा समर्थन जनाउँदै अभियानमा जोडिएको थियो ।

अन्तर्राष्ट्रिय स्तरबाट प्रमाणपत्र प्राप्त गरेपछि संस्थाका अध्यक्ष तथा महाप्रबन्धकले संस्थासँग जोडिएका सम्पूर्ण सरोकारवाला व्यक्ति तथा निकायहरुलाई बधाई दिएको उनको भनाइ छ । आगामी दिनमा समेत सदस्य सुरक्षण प्रति सचेत भइरहने थप प्रेरणा प्राप्त भएको महाप्रबन्धक डम्बर बहादुर शाहले प्रतिक्रिया दिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप