बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेश कोरोना संक्रमणको ‘हटस्पट’ बन्दै, एकैदिन थपिए अहिलेसम्मकै धेरै संक्रमित

शुक्रबार, २४ वैशाख २०७८, २२ : ४२
शुक्रबार, २४ वैशाख २०७८

पोखरा । गण्डकी प्रदेश पछिल्लो समय कोरोना संक्रमणको ‘हटस्पट’ बन्दै गएको छ । सुरुका दिनमा प्रदेशमा कोरोना संक्रमण उच्च देखिए पनि क्रमशः संक्रमण हराउँदै गएको थियो । तर, दोस्रो लहरको संक्रमण पुनः शुरु भएपछि प्रदेशमा कोरोना संक्रमण विकराल बन्दै गएको छ । 

शुक्रबार प्रदेशमा एकैदिन थप १ हजार ३९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशमा क्रमिक रुपमा बृद्धि भएको संक्रमण उच्च विन्दुमा पुगेको हो । गण्डकीमा शुक्रबार अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् ।
गण्डकी प्रदेशका संक्रमितको उपचारका लागि राजधानी पोखरामा बनाइएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र सरुवारोग अस्पतालका सवै बेडहरु भरिभराउ भएका छन् । तत्काल गम्भीर खालका संक्रमितलाई बेड चाहिएको अवस्थामा पाउने सम्भावना छैन् । 

गण्डकी प्रदेशमा शुक्रबार अहिलेसम्मकै धेरै १ हजार ३९६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा.विनोदविन्दु शर्माले जानकारी दिए ।  शुक्रबार गण्डकीमा देखिएका १३९७ मध्ये कास्कीमा मात्र ८५६ जना रहेका छन् । संक्रमण देखिएका अधिकांश पोखराका हुन् ।

पछिल्लो समयमा संक्रमितको संख्या तीव्र रुपमा बृद्धि भएपछि कास्की प्रदेशकै ‘हटस्पट’ जिल्लामा परेको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । कास्कीमा ११ हजार ८१५ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ८९४९ जना निको भएका छन् । अहिलेसम्म कास्कीमा सक्रिय संक्रमितको संख्या २७२९ रहेको छ । यस जिल्लामा १३७ जना संक्रमितको मृत्यु भएको छ । 

हालसम्म गण्डकीको नवलपुरमा दोस्रो धेरै २ हजार ७८३ संक्रमित भएका छन् । त्यसमध्ये ३३६ सक्रिय संक्रमित रहेका छन् । त्यसैगरी बागलुङमा ३३२, पर्वतमा २०९, म्याग्दीमा १८४, स्याङजामा २६७, तनहुँमा २०२, गोरखामा २३१, लमजुङ ८३, मुस्ताङमा ३३ र मनाङमा १४ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यसैगरी कास्कीपछि दोस्रो स्थानमा रहेका नवलपरासी पूर्व (नवलपुर)मा २ हजार ७८३ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये २ हजार ४२५ जना निको भइसकेका छन् भने २२ जनाको मृत्यु भएको छ ।  तनहुँमा १ हजार ७३२ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये १ हजार ५०३ जना निको भइसकेका छन् भने २७ जनाको मृत्यु भएको छ । त्यस्तै लमजुङमा ९९७ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ९०९ जना निको भइसकेका छन् भने ५ जनाको मृत्यु भएको छ ।

गोरखामा हालसम्म १०८७ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये ८४४ जना निको भइसकेका छन् भने १२ जनाको मृत्यु भएको छ ।  बागलुङमा हालसम्म १ हजार ५०२ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये १ हजार १६१ जना निको भइसकेका छन् भने ९ जनाको मृत्यु भएको छ । उता स्याङजामा हालसम्म १ हजार १४१ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ८ सय ५४ जना निको भइसकेका छन् भने २० जनाको मृत्यु भएको छ ।

पर्वतमा हालसम्म ६३२ जनामा संक्रमण देखिएको छ भने ४१५ जना निको भइसकेका छन् । त्यहाँ ८ जनाको मृत्यु भएको छ । त्यस्तै म्याग्दीमा ४६७ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये २७६ जना निको भइसकेका छन् भने ७ जनाको मृत्यु भएको छ ।

प्रदेशका हिमाल पारीको जिल्लाका रुपमा चिनिएको मुस्ताङमा ३६ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ३३ जना संक्रमण मुक्त भइसकेका छन् भने १ जनाको मृत्यु भएको छ । हिमाली जिल्ला  मनाङमा ३४ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये २० जना निको भएका छन् भने १४ जना सक्रिय संक्रमित रहेका छन् ।

गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म २४८ जनाको मृत्यु भएको छ भने संक्रमितको कुल संख्या २२ हजार २५६ पुगेको छ । प्रदेशमा हालसम्म १ लाख ५१ हजार ८९६ जनाको परीक्षण गरिएको निर्देशनालयले जनाएको छ । त्यसमध्ये १ लाख २९ हजार ६४० जनाको नेगेटिभ आएको छ । हाल प्रदेशमा ४ हजार ४०८ जना होम आइसोलेसनमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप