शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दूतावासका भीआईपीलाई ‘नो क्वारेन्टिन’ गरिबका छोराछोरीलाई ३० हजार शुल्क !

शुक्रबार, २४ वैशाख २०७८, २० : ५२
शुक्रबार, २४ वैशाख २०७८

शुक्रबार एअर इण्डियाको फ्लाइटबाट काठमाडौं उत्रिएका काभ्रेका बिनोद पौडेल १० दिन होटलमा क्वारेन्टिन बसेको पैसा कसरी तिर्ने भनेर चिन्ता गर्दै थिए । शुक्रबार बिहान बैंगलोरबाट दिल्ली हुँदै पौने ३ बजे काठमाडौं आइपुगेका उनले यतिञ्जेलसम्म पानीसमेत खान नपाएको गुनासो पोखे । आफूसँग पैसा नभएको भन्दै उनी होटलको खर्च कसरी तिर्ने भन्ने चिन्तामा छन् ।

शुक्रबार भारतको नयाँ दिल्लीबाट ३६ जना यात्रु बोकेर एअर इण्डियाको जहाज काठमाडौं उत्रिएको थियो । सुरुमा दिल्लीबाट काठमाडौं आउनका लागि ६१ जनाले टिकट काटेका भए पनि दिल्लीस्थित एअरपोर्टबाट २५ जनालाई फर्काइएको थियो । उनीहरुमध्ये कतिको पीसीआर रिपोर्ट शंकास्पद भएको र केही यात्रुको तापक्रम बढी देखिएका कारण फिर्ता पठाइएको हो ।

काठमाडौं उत्रिएका ३७ जनामध्ये २० जनामात्रै होटल क्वारेन्टिनमा पठाइएका छन् । बाँकी १७ जनामध्ये १५ जना नेपाली सेनाका जवान तथा अधिकृतहरु रहेका कारण उनीहरुलाई नेपाली सेनाकै क्वारेन्टिनमा पठाइएको छ ।

तर, सोही विमानमा आएका २ जना भारतीय व्यक्तिलाई भने ‘भीआइपी’ भन्दै क्वारेन्टिनमा पठाइएन ।

नेपाली सेनाका प्रवक्ता सन्तोष वल्लभ पौडेलका अनुसार भारतमा तालिम गर्न गएर फर्किएका १५ जना सेनाका जवान तथा अधिकृतहरूलाई लगनखेलस्थित खेलकुद तालिम केन्द्रमा बनाइएको क्वारेन्टिनमा राखिएको छ । उनीहरुलाई १४ दिनसम्म क्वारेन्टिनमा राखिनेछ र स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरु पूरा गरिनेछ । त्यसपछि मात्रै उनीहरुलाई सेवामा पठाइने छ ।

काठमाडौंस्थित भारतीय दूतावासका वरिष्ठ अधिकारीका अनुसार आज एअर इण्डियाको उडानबाट दुई जना भीआईपीहरु नेपाल आएको सुनेको भए पनि उनीहरु को हुन् भन्ने जानकारी छैन । ती अधिकारीले भने, ‘दुईजना व्यक्ति नेपाल आएको भन्ने सुनेको छु । तर, उनीहरु को हुन् भन्ने मलाई थाहा छैन । मलाई लाग्छ, उनीहरु दूतावासको क्वारेन्टिनमा पनि छैनन् । कुनै होटलमा गएका पनि हुन सक्छन् । उनीहरु को हुन् भन्नेबारे अहिले नै केही भन्न सक्दिनँ ।’

ती अधिकारीका अनुसार यदि दूतावासकै कर्मचारी भए उनीहरु १४ दिन क्वारेन्टिनमा बस्ने पनि ती अधिकारीले बताए । उनले भने, ‘यदि कोही आएको भए उनीहरुलाई १४ दिनसम्म दूतावासकै क्वारेन्टिनमा राखिने छ, बाहिर जान र अन्य व्यक्तिसँग भेटघाट गर्न रोक लगाइने छ । १४ दिनको क्वारेन्टिन अवधि सकिएपछि मात्रै नियमित काममा लगाइनेछ ।’ नेपालमा राजनीतिक संकट बढ्दै गएपछि ‘रअ’ का नेपाल हेर्ने स्थायी कर्मचारी नेपाल आएको स्रोतको दाबी छ ।

तर स्राेतका अनुसार भारतीय खुफिया एजेन्सी ‘रअ’ का नेपाल प्रमुख राघवप्रसाद भट्नागर काठमाडौं आइपुगेका हुन् । शुक्रबार एयर इण्डियाको उडानबाट भट्नागरसहित अर्का एक कर्मचारी काठमाडौं आइपुगेका हुन् । 

भारतमा मजदुरी गर्नेले कसरी तिर्ने होटल खर्च ?

काभ्रेका विनोद पौडेल शुक्रबार आफ्नै देशमा आउन पाउँदा खुशी त देखिन्थे, तर १० दिन महंगो होटलमा कसरी बस्ने होला भनेर चिन्ता गर्दै थिए । बैंगलोरको एक पबमा काम गर्ने बिनोद उता पब बन्द भएर रोजगारी गुमेपछि नेपाल आएका हुन् ।

सरकारले बिहीबारदेखि अन्तर्राष्ट्रिय उडानहरु बन्द गरे पनि एअर बबल सुविधामा उनले भारतबाट नेपाल आउन पाएका हुन् । प्रत्येक बुधबार र शुक्रबार नेपाल र भारतबाट एक÷एक उडान हुने गर्छ, जहाँ दुबै देशका यात्रुले स्वास्थ्य मापदण्ड पूरा गरेर एक अर्को देशमा जान पाउँछन् ।

त्यही सुविधामा महङ्गो टिक काटेर बिनोद नेपाल त आए, तर १० दिन होटलको खर्च ३० हजार कसरी तिर्ने भन्ने चिन्तामा छन् । उनले रातोपाटीसँग भने, ‘भारतमै काम नपाएर नेपाल फर्किएको छु । अब १० दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने भनिएको छ । एक दिनकै ३ हजार रुपैयाँ तिर्नुपर्ने भनेको छ । १० दिनको ३० हजार कसरी तिर्ने ? उतै काम नपाएर फर्किएको मजदुरले अब कसरी त्यति रकम तिर्ने ?’

सरकारले क्वारेन्टिन अनिवार्य गरेको थाहा भए पनि उता बस्न नसक्ने भएपछि नेपाल फर्किएको विनोदले बताए । उनले भने, ‘बिहान २ बजे बैंगलोरबाट हिँडेको । अहिलेसम्म (अपरान्ह ४ बजे) पानी पनि खान पाएको छैन । अब होटलमा लगेर राख्ने भनेको छ । एक दिनकै ३ हजार तिर्ने भनेको छ । मसँग त पैसा पनि छैन । अब कसरी तिर्ने त्यति धेरै रकम ?’

बिनोद होटलको खर्च अत्याधिक महङ्गो भएको गुनासो गर्छन् । उनी भन्छन्, ‘धनीले त तिर्लान्, तर गरीबका छोराछोरीले कसरी तिर्ने ? एक÷दुई दिन भए त ठिकै हो, १० दिनको ३० हजार तिर्न त गाह्रो हुन्छ नि !’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप