शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौँडा अस्पतालमा थप २ कोरोना संक्रमितको मृत्यु

शुक्रबार, २४ वैशाख २०७८, १९ : ३८
शुक्रबार, २४ वैशाख २०७८

मकवानपुर । मकवानपुरमा थप २ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । शुक्रबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालमा उपचाररत एक महिला र एक पुरुषको मृत्यु भएको अस्पतालका कोभिड वार्ड इन्चार्ज डा.सागर काफ्लेले जानकारी दिए ।

मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नम्वर–४ की ३७ वर्षीय महिला र वडा नम्वर ७ का ४० वर्षका पुरुष रहेका छन् । उच्च रक्तचापबाट पीडित उनीहरुको हेटौंडा अस्पतालको आइसीयु कक्षमा उपचारका क्रममा मृत्यु भएको हो । मृतक महिलाको अपराह्न ४ः ४५ बजे र पुरुषको ५ः ३० बजे मृत्यु भएको डा.काफ्लेले बताए ।

स्वास्थ्यमा समस्या देखिएपछि मृतक महिला शुक्रबार उपचारका लागि अस्पतालको इमर्जेन्सी कक्षमा भर्ना भएको र उनको स्वाबको नमुना परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएलगत्तै मृतक महिलालाई कोभिड वार्डको आइसीयू कक्षमा राखेर उपचार भइरहेको थियो ।

त्यस्तै मृतक पुरुष संक्रमण पुष्टि भएपश्चात उपचारका लागि बिहीबार अस्पतालको कोभिड वार्डमा भर्ना भएका थिए ।  मृतक महिला र पुरुषको शव व्यवस्थापनको तयारी भइरहेको अस्पतालले जनाएको छ । यसअघि हेटौंडा अस्पतालमा ७ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । जसमा मकवानपुरका ६ जना, बाराका २ जना, रौतहटका १ जना र महोत्तरीका १ जनाको मृत्यु भइसकेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप