शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बजारमा नक्कली ‘रेम्डेसिभिर’ को बिगबिगी

९० रुपैयाँ पर्ने ‘स्टासेफ’ नामको इन्जेक्सनमा नयाँ लेबल लगाएर २५ हजारसम्ममा बिक्री
शुक्रबार, २४ वैशाख २०७८, १८ : ३८
शुक्रबार, २४ वैशाख २०७८

कोराना संक्रमितको उपचारका लागि अपनाइँदै आएको ‘रेम्डेसिभिर’ इन्जेक्सनको माग अहिले बजारमा बढेको छ । कोभिड विशेष  अस्पतालमा भर्ना गरिएको कडा लक्षणका संक्रमितलाई उपचारका लागि दिइँदै आएको ‘रेम्डेसिभिर’ बजारमा पाउन मुस्किल भएपछि पूर्वी नेपालमा नक्कली ‘रेम्डेसिभिर’ बनाएर बिक्री गर्ने गरेको पनि खुलेको छ । नक्कली ‘रेम्डेसिभिर’ बनाएर गिरोह नै त्यसको बिक्रीमा सक्रिय देखिएको छ ।

मोरङ प्रहरीले फार्मेसी सञ्चालकसहित दुई जनालाई पक्राउ गरेपछि नक्कली ‘रेम्डेसिभिर’ बनाएर बिक्री गर्ने गरेको रहस्य बाहिरिएको हो । गिरोहले ९० रुपैयाँ पर्ने ‘स्टासेफ’ नामको इन्जेक्सनमा नयाँ लेबल लगाएर ७ हजार देखि २५ हजारसम्म मूल्यमा नक्कली रेम्डेसिभिर बिक्री गर्ने गरेको पाइएको छ । बिरामीको आफन्तलाई उनीहरुले रेम्डेसिभिर भन्दै बिक्री गरी ठगी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरको प्रहरीको विशेष टोली र मोरङ प्रहरीले नक्कली ‘रेम्डेसिभिर’ बनाएर बिक्री गर्ने कार्यका संलग्न विराटनगर–४ नोबेल टिचिङि हस्पिटल अगाडि रहेको ‘साथी फार्मेसीका’ सञ्चालक सोनु आलम र कामदार सरमण यादवलाई पक्राउ गरेको हो । उनीहरूले भण्डारण गरेको नक्कली रेम्डेसिभिर इन्जेक्सन पनि प्रहरीले बरामद गरेको छ । प्रहरीले उनीहरूलाई फार्मेसीदेखि पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।

विराटनगरमा नक्कली रेम्डेसिभिरको विक्री वितरण हुने गरेको सूचना पाएपछि आवश्यक अनुसन्धानपछि फार्मेसीमा छापा मार्दा आवश्यक प्रमाणसहित उनीहरुलाई नियन्त्रणमा लिन सफल भएको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले बताए ।

‘नक्कली रेम्डेसिभिरको बिक्री वितरण हुने गरेको सूचनाको आधारमा केही फार्मेसीमा छापा मर्ने काम भयो,’ एसपी खड्काले भने, ‘हामीले प्रमाणसहित दुई व्यक्तिलाई नियन्त्रणमा लिएका छौँ ।’ आवश्यक अनुसन्धानको काम जारी रहेकाले थप विषयका बारेमा पछि खुल्ने एसपी खड्काले बताए । पक्राउ परेका फार्मेसी सञ्चालक आलमले कति मूल्य नक्कली रेम्डेसिभिर र कहाँबाट नक्कली लेबल बनाएर कतिजनालाई विक्री गरे त्यो भने थप अनुसन्धानपछि खुल्ने एसपी खड्काले बताए । ‘अहिले अनुसन्धान भइरहेको छ,’ उनले भने ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार नक्कली रेम्डेसिभिरको कारोबार गर्ने गिरोहले अहिले विराटनगरमा ९० रूपैयाँमा पाइने ‘स्टासेफ’ इन्जेक्सनमा लेबल लगाएर रेम्डेसिभिर भन्दै चर्को मूल्य लिएर बिरामीका आफन्तलाई बिक्री गर्दै आएका छन् ।

प्रहरी अधिकारीका अनुसार आलम यसअघि फार्मेसीमा कामदारको रुपमा काम गर्दै आएका थिए । फार्मेसीमा काम सिकेपछि केही वर्षअगाडिदेखि उनले आफै नोबेल अगाडि औषधी पसल खोलेका हुन् । उनले स्टासेफ इन्जेक्सन भने विराटनगरको औषधीको होलसेल पसल गणेश ड्रग्स हाउसदेखि खरिद गरेर लैजाने गरेको प्रहरीले जनाएको छ ।

स्टासेफ र रेम्डेसिभिर इन्जेक्सनको बट्टाको साइज पनि एउटै हुने भएकोले नक्कली लेबल लगाएर रेम्डेसिभिर भन्दै उनीहरु बिक्रीमा सलग्न हुने गरेको देखिएको ती प्रहरी अधिकारीले बताए । यसरी अहिले विराटनगरमा नक्कली रेम्डेसिभिर बिक्री वितरण गर्ने गिरोह केही औषधी व्यवसायी रहेका छन् । उनीहरूको सम्पर्कमा आउने विरामीलाई नक्कली रेम्डेसिभिर चर्को मूल्य असुली गरेर विक्री गर्दछन् ।

बिराटनगरस्थित कोशी कोभिड–१९ उपचार केन्द्रका वरिष्ठ फिजिसियन डा दीपक सिग्देलले भारतमा पाइने रेम्डेसिभिर र स्टासेफ इन्जेक्सनको साइज एउटै मिल्दोजुल्दो हुने गरेको बताए । उनले केही लेबलमा फरक पर्ने भएपनि सर्बसाधारणले छुटाउन गाह्रो पर्ने भएकाले बिरामीको आफन्त ठगिने गरेको बताए ।

अस्पतालमा अत्यधिक माग

विराटनगरमा सञ्चालित विभिन्न कोभिड–१९ विशेष अस्पतालहरुमा उपचार गराइरहेका कोरोना संक्रमितले रेम्डेसिभिर नामक औषधि पाउन छाडेका छन् । औषधि व्यवस्था विभागमार्फत केही समय अघिसम्म कोरोना विशेष अस्पतालहरुलाई उपलब्ध हुँदै आएको औषधि रोकिएपछि बिरामीहरुले हैरानी व्यहोर्नु परिरहेको छ ।

विराटनगरस्थित नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालका अनुसार सरकारले औषधि उपलब्ध नगराएपछि बिरामीका आफन्तले ब्ल्याकमा औषधी किन्नुपर्ने अवस्था छ । ब्ल्याकमा किन्दा बिरामीले प्रतिभाइल २० हजार रुपैयाँसम्म तिर्नु परेको गुनासो गरेका छन् । उनले अस्पतालमा भर्ना भएका १ सय ४० जना बिरामी मध्ये २३ जना संक्रमितलाई नियमित रेम्डेसिभिर चलिरहेको छ ।

विराटनगरस्थित विराट अस्पतालमा सञ्चालित कोभिड उपचार केन्द्रमा करिब ३३ जना बिरामीलाई नियमित रेम्डेसिभिर चलाइएको छ । तर, औषधि नपाउँदा समस्या भइरहेको उनीहरुले बताएका छन् । अस्पतालका एकजना चिकित्सकले भने ‘हामीले सप्लायर्ससँग औषधि मगाएका छौँ । तर, भारतमा पनि औषधिको उच्च माग भएका कारण उनीहरुले आपूर्ति गरिरहेका छैनन् ।’

नेपाल सरकारले उपलब्ध गराउँदा बिरामीले प्रतिभाइल ५ हजार ३०० रुपैयाँमा उक्त औषधि खरिद गर्थे । अहिले सरकारले औषधि दिन छोडेकोले समस्या भएको ती चिकित्सकले बताए। चिकित्सकले कतिपय बिरामीलाई रेम्डेसिभिर सिफारिस गर्छन् त्यस्तो बेलामा बाध्य भएर बिरामीले ब्ल्याकमा औषधिको आपूर्ति गर्नुपर्छ ।

नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले भने ‘रेम्डेसिभिर व्यवस्था गरिदिनका लागि बिरामीका आफन्तहरुले हामीलाई धेरै भन्नुहुन्छ तर, हामीले उपलब्ध गराउनसक्ने अवस्था छैन ।’ उनी भन्छन् ‘औषधि व्यवस्था विभागले अहिले औषधि पठाएको छैन र बजारमा किन्न नपाइने भएकोले बिरामीहरुले नै औषधि जुटाउने गरेका छन् ।’

रेम्डेसिभिर चलाउँदा एकजना बिरामीलाई ६ भाइल दिनुपर्छ । ब्ल्याकमा २० हजारका दरले किन्नुपर्दा उक्त औषधिका लागि मात्र एक लाख रुपैयाँभन्दा बढी खर्च गर्नुपर्ने अवस्था छ । जसले गर्दा संक्रमित बिरामीलाई उपचार निकै महंगो पर्ने गरिरहेको छ । नोबेल अस्पतालमा उपचाररत श्वासप्रश्वासमा समस्या भएका अधिकांश बिरामीहरुले रेम्डेसिभिर चलाउन माग गर्ने गरेका छन् ।

कोशी कोभिड अस्पतालमा भने न्यून मात्र रेम्डेसिभिर चलाउने गरिएको छ । चिकित्सकले कसैलाई सिफारिस गरेको अवस्थामा औषधि जुटाउने जिम्मा बिरामीकै हुने अस्पतालका एक स्वास्थ्यकर्मीले बताए ।

‘रेम्डेसिभिर’ तस्करी बढ्यो

‘रेम्डेसिभिर’ को माग उच्च भएपछि तस्करीको बाटो हुँदै ‘रेम्डेसिभिर’ पूर्वी नेपाल भित्रिन शुरु भएको छ । खरिद गरेकोभन्दा तीन गुणा बढी मूल्यमा नेपालमा ल्याएर ‘रेम्डेसिभिर’ इन्जेक्सनको कालोबजारी गरी बिक्री गर्ने भएकोले अहिले यसको तस्करी भारतदेखि अधिक हुने गरेको छ । त्यसका लागि ठूला औषधी व्यवसायी पनि सो कार्यमा संलग्न हुँदै आएका छन् ।

भारतमा प्रतिभाइल भारू २ हजार ८ सयदेखि ४ हजार ५ सयमा पाइने यो इन्जेक्सन नेपालमा ल्याउँदा १५ हजारदेखि २५ हजार रुपैयाँसम्म बिक्री हुने गरेको जानकारहरू बताउँछन् । अहिले नेपालमा कडा लक्षणसहितका संक्रमितको संख्या बढ्न थालेपछि यसको माग पनि बढेको छ । ८ मंसिरमा मोरङ प्रहरीले विराटनगर–१३ सैनिक टोलका ३६ वर्षीय नरेश यादवको घरदेखि तस्करीको औषधी बरामद गर्दा १० भाइल रेम्डेसिभिर इन्जेक्सन नियन्त्रणमा आएपछि यसको तस्करी हुने गरेको पुष्टि भएको थियो ।

प्रहरीले यादवको घरबाट तस्करी गरी ल्याएको रेमडिसिभरसहित औषधी व्यवस्था विभागमा दर्ता नभएका ‘डाकसिसाइवर्गलिन र मिथाइल प्रिडनीसोलोन इन्जेक्सन’ लगायतका अन्य विभिन्न नाम गरेको चार कार्टुन औषधी बरामद गरेको थियो । प्रहरीले त्यसबेला आवश्यक कारवाहीको लागि औषधी व्यवस्था विभाग विराटनगरमा बुझाएको थियो । तर, विभागका राजनैतिक दलका नेता र सांसदहरुले दबाब दिएपछि हाजिर जमानतमा तस्करलाई छोडिदिएको थियो ।

अहिले नेपालमा कम्पनी अनुसार फरक–फरक दुई खालका मूल्य भएको रेम्डेसिभिर इन्जेक्सन आउने गरेको छ । तस्करीको गिरोहसँग मिलेर रेम्डेसिभिर इन्जेक्सनसहित अन्य प्रतिबन्धित औषधीहरू विराटनगर ल्याएपछि विभिन्न क्षेत्रमा पठाउने गरेको प्रहरीको अनुसन्धानबाट नै यसअघि खुलेको थियो ।

फोनबाटै डिलिङ

‘सिकिस्त कोरोना संक्रमितलाई रेमडेसिभर सिफारिस भएपछि कोरोना अस्पतालबाट परिवारलाई फोनमार्फत जानकारी गराइन्छ,’ नाम उल्लेख नगर्ने सर्तमा एक संक्रमितका आफन्तले भने, ‘तपाईंको विरामीलाई इन्जेक्सन चलाउनुपर्दछ । चाँडै जोहो गर्नुहोला ।

फार्मेसी र स्वास्थ्यकर्मीले भनेको मानिसलाई सम्पर्क गर्दा प्रतिभाइलको १५ हजारदेखि २५ हजार रुपैयाँसम्म भन्ने गर्दछन् ।’ धेरै बार्गेनिङ गरेपछि केही कममै उपलब्ध गराउन सक्छौँ भन्ने गरेको ती आफन्तले बताए । ‘महामारीका बेला पैसाको मुख कसले हेर्छ ?,’ संक्रमितका एक जना आफन्तले भने, ‘पैसा भएर मैले पो तिर्न सकें, पैसा नहुनेले चाहिँ यति महँगोमा औषधि कसरी खरिद गर्न सक्छन् ?’

नेपाल औषधि व्यवसायी संघ मोरङका अध्यक्ष लक्ष्मीप्रसाद तिम्सिनाले निजी क्षेत्रले रेम्डेसिभिर बिक्री गर्न नपाउने भएकोले त्यसको आपूर्ति र खपतको बारेमा जानकारी नभएको बताए । उनले ब्ल्याक मार्केटबाट बिरामीहरुले भने आपूर्ति गरिरहेको भएपनि अहिले भारतमै त्यसको ठूलो माग रहेका कारण नेपाली बिरामीहरुले सहजरुपमा नपाउने अवस्था उत्पन्न भएको आफुहरुले पनि सुनेको बताए ।

के हो रेम्डेसिभिर ?

जिलिड फर्मासिटिकल्सले उत्पादन गरेको रेम्डेसिभिरलाई अमेरिकाको फुड एन्ड ड्रग एडमीनिस्ट्रेसनले गत मे मा कोभिड–१९ का बिरामीलाई दिन योग्य रहेको भन्दै प्रयोगका लागि अनुमति दिएको थियो । यसअघि यो औषधिलाई इबोला बिरुद्ध पनि प्रयोग गरिएको थियो

नेपाल मेडिकल काउन्सिलले जारी गरेको ‘इन्टरिम क्लिनिकल गाइडेन्स फर कोभिड–१९’ मा पनि कोरोना संक्रमितको उपचारमा रेम्डेसिभिर प्रयोग गर्न सकिने उल्लेख छ ।

कोशी कोभिड १९ उपचार केन्द्रका संयोजक डा दिपक सिग्देलले कोरोना संक्रमितका लागि प्रभावकारी भए पनि जसले पायो, त्यसले प्रयोग गर्न नहुने बताउँछन् ।

‘रेम्डेसिभिर अचूक औषधि पनि हैन, तर फाइदा गर्ने देखिएको छ । यो इन्जेक्सनबाट दिने औषधि हो, त्यसैले मात्रा मिलाएर दिनुपर्छ, जसले पायो त्यसले दिएर हुँदैन,’ उनले भने ‘कतिपयमा यसको साइड इफेक्ट पनि देखिएको छ। अक्सिजन कम भएका तर दीर्घरोग नभएका बिरामीलाई प्रयोग गर्न सकिन्छ ।’

उनी यस्ता औषधि सबैतिर सहजरुपमा पाउन नहुने भए पनि आवश्यक पर्ने ठाउँमा सहजै उपलब्ध हुनुपर्ने बताउँछन् ।

कोभिड संक्रमितहरुको उपचारमा सलग्न चिकित्सका अनुसार रेम्डेसिभिर चलाउँदा एकजना बिरामीलाई ६ भाइल दिनुपर्छ । ब्लेक मार्केटमा २० हजारका दरले किन्नुपर्दा उक्त औषधिका लागि मात्र एक लाख रुपैयाँभन्दा बढी खर्च गर्नुपर्ने अवस्था छ । जसले गर्दा संक्रमित बिरामीलाई उपचार निकै महंगो पर्ने गरिरहेको छ ।

अनुसन्धानले गर्दा प्रयोग गर्न झन् सकस

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गएको साउन २६ गते रेम्डेसिभिर औषधि प्रयोगका लागि अध्ययन गर्ने निर्णय गरेको थियो । रेम्डेसिभिर सम्बन्धित चिकित्सकको सिफारिस तथा प्रत्यक्ष निगरानी र बिरामीको अनुमतिमा प्रयोग गर्न मिल्ने मन्त्रालयले जनाएको छ । त्यसका लागि तीन भारतीय कम्पनीसँग सरकारले खरिद सम्झौता गरेर ल्याउन थालेको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गएको भदौ ७ गते एउटा अपिल सार्वजनिक गरेको छ । पत्रमा क्लिनिकल ट्रायलका क्रममा रहेको रेम्डेसिभिर सरकारले तोकेका कोभिड अस्पतालमा अध्ययन अनुसन्धानका लागि प्रयोग गर्न सक्ने उल्लेख छ ।

उक्त अपिलमा अध्ययनमा रहेका औषधीहरु बिरामीको आग्रहमा वा चिकित्सकले आफूखुशी प्रेसक्रिप्सन दिएर प्राप्त नहुने, औषधि पसलहरु तथा कम्पनीहरुले अनुमति प्राप्त नगरिकन र औषधि व्यवस्था विभागबाट अनुसन्धानका लागि स्वीकृति नलिई बिक्री वितरण तथा प्रयोग गर्न नपाइने उल्लेख छ ।

आफूखुशी औषधि लेख्ने, बिरामीले माग्ने र औषधि पसलले कालोबजारी गरी बेचविखन गर्ने कुरा कानूनतः हिसाबले दण्डनीय हुने भनिएको छ ।

सरकारले अनुसन्धानमा सहभागी हुँदै रेम्डेसिभिर चलाउन भने पनि र औषधि आयातकर्तालाई औषधि ल्याउन अनुमति दिए पनि बिरामी र तिनका आफन्तले सजिलै औषधि नपाइरहेको अवस्था छ । कोशी कोभिड १९ उपचार केन्दले गएको भदौ ६ गते १ सय थान रेम्डेसिभिर जुटाए ।

चिकित्सकले बिरामीका लागि लेखेपछि कोशी अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्टसँग सिफारिस लिनुपर्ने, त्यसमा जिल्ला प्रशासन कार्यालय मोरङले तोक आदेश लगाएपछि मात्रै रेम्डेसिभिर दिने गरिन्थ्यो । अहिले सय थान रेम्डेसिभिर सकिइसकेको छ । अस्पतालले नेपाली रुपैयाँ ७ हजार ६ सयमा वितरण गरिरहेको थियो ।

अनुमतिपछि भारतीय कम्पनीले रेम्डेसिभिर पठाउँदै

नेपाल सरकारले माइल्यान, सिप्ला, र हिटेरो ड्रग तीन भारतीय कम्पनीलाई नेपालमा रेम्डेसिभिर निर्यात गर्न अनुमति दिएको छ । उनीहरुले आफ्ना वितरक मार्फत नेपालमा रेम्डेसिभिर पठाउन गरेका छन् । नेपाल पठाएको रेम्डेसिभिर स्वास्थ्य अनुसन्धान परिषदले एनएचआरसीसँगको समन्वयमा सरकारले तोकेको लेभल– २ र ३ कोभिड अस्पतालमा औषधि व्यवस्था विभाग मार्फत मात्रै बिक्री वितरण गर्ने गरेको छ ।

औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले अनुसन्धानमा सहभागी तोकिएको अस्पताललाई मात्रै रेम्डेसिभिर उपलब्ध हुने बताए । ‘तीनवटा भारतीय कम्पनीलाई हालका औषधि नेपाल पठाउन अनुमति दिएका छौँ, आवश्यकता अनुसार कोटा थप गर्न पनि सकिन्छ’ उनले भने ‘तीबाहेक अन्य कम्पनीले नेपालमा बिक्री गर्न प्रतिवन्ध छ । प्रतिबन्धित औषधि कुनै पनि अस्पतालले खरिद गरेर प्रयोग गर्छ भने पनि गैरकानुनी हुन्छ ।’अनुसन्धानका क्रममा रहेको औषधि भएकाले रेम्डेसिभिरलाई अन्य सरह बिक्री वितरणमा रोक लगाइएको उनी बताउँछन् ।

पहिलो लहरको कोरोना संक्रमणबाट अवस्था गम्भीर भएपछि विराट मेडिकल कलेज तथा नर्सिङ होमका सञ्चालक डा. ज्ञानेन्द्र कार्कीलाई रेम्डेसिभिर चलाउनुपर्ने भयो । पहिलो पटक नेपालमा भारतको कोलकाताबाट ११ भाईल औषधि ल्याउन विराटनगरसम्म प्लेन चार्टर गरिएको थियो भने त्यहाँबाट हेलिकप्टरमा काठमाडौं लगियो । स्रोत र साधनमा सम्पन्न उनले राज्यले भन्दा अघि रेम्डेसिभिर ल्याएर चलाएका थिए । त्यति गर्न नसकेको भए अहिले यो अवस्था आफू नरहने भन्दै उनी भन्छन्, ‘म मृत्युको मुखबाट बचेर आएको हुँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुव भट्टराई
ध्रुव भट्टराई
लेखकबाट थप