बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रियसभा उपनिर्वाचन : अघिअघि देवकोटा, पछिपछि बादल !

शुक्रबार, २४ वैशाख २०७८, २३ : ११
शुक्रबार, २४ वैशाख २०७८

काठमाडौं । वाग्मती प्रदेशअन्तर्गत अन्यतर्फको रिक्त स्थानमा जेठ ६ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारी घोषणादेखि दर्तासम्मै अघि अघि डा. खिमलाल देवकोटा र पछिपछि रामबहादुर थापा बादल भएका छन् ।

उम्मेदवारी घोषणा र मनोनयन मात्रै होइन, परिणामसमेत सोहीअनुसार आउने आँकलन हुन थालेको छ । किनभने, प्रदेशका मतदाता र मतभारका आधारमा निर्वाचन परिणाम पनि अघि अघि देवकोटा र पछिपछि थापा हुने निश्चितजस्तै छ ।

देवकोटालाई विपक्षी गठबन्धनबाट गत बुधबार नै उम्मेदवारका रुपमा अघि सारिएको थियो भने बादलको उम्मेदवारीको टुंगो शुक्रबारमात्रै लागेको थियो । शुक्रबार अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा छलफलपछि बादल त्यहीँबाट हेलिकोप्टर चढेर उम्मेदवारी दिन हेटौंडा पुगेका हुन् । उनको प्रस्तावकमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल छन् भने प्रदेशकी सामाजिक विकास मन्त्री सरस्वती बस्नेत समर्थक रहेकी छिन् ।

त्यसैगरी देवकोटाका प्रस्तावकमा माओवादी प्रदेशसभा संसदीय दलका नेता शालिकराम जम्मरकट्टेल छन् भने समर्थक काँग्रेस सांसद राधा घले छिन् । निर्वाचन आयोगले निर्धारण गरेको चुनावी कार्यतालिका अनुसार शुक्रबार सो पदमा तीनजनाको उम्मेदवारी परेको छ ।

शुक्रबार सबैभन्दा पहिले विपक्षी गठबन्धन (नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा र एमालेको असन्तुष्ट समुह माधव नेपाल समुह ) का तर्फबाट डा. खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गरेका हुन् । डा. देवकोटाले उम्मेदवारी दर्ता गरेको केहीबेरमै सत्तारुढ नेकपा एमालेका तर्फबाट गृहमन्त्री बादलले उम्मेदवारी दर्ता गरे । तेस्रो नम्बरमा नेमकिपाले उम्मेदवारी दर्ता गरेको छ ।

नेमकिपाका तर्फबाट कृष्णबहादुर तामाङले मनोनयन दर्ता गराएका छन् । सांसद सुरेन्द्रराज गोसाईको प्रस्ताव र सांसद  सिर्जना सैंजुको समर्थनमा कृष्णबहादुर तामाङले उम्मेदवारी दर्ता गरेका हुन् । राष्ट्रियसभामा वाग्मती प्रदेशको अन्य समूहबाट निर्वाचित रामबहादुर थापा बादलले आफू निर्वाचित भएको दल नेकपा माओवादी केन्द्र गत चैतमा परित्याग गरेपछि उनको स्थान खाली भएको थियो ।

सोही ठाउँमा निर्वाचन आयोगले जेठ ६ गते उपनिर्वाचन गर्न लागेको हो । यो उप निर्वाचनका लागि नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र राप्रपा र नेमकिपा गरी ५ वटा दलले आयोगमा दल दर्ता गरेका थिए । उम्मेदवारी भने तीनजनाको मात्र परेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप