शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

विराटनगरमा समुदाय स्तरमा कोराना सङ्क्रमण

महानगरसँग होम आइसोलेसनमा बस्नेको समेत तथ्याङ्क छैन
शुक्रबार, २४ वैशाख २०७८, १४ : ३६
शुक्रबार, २४ वैशाख २०७८

पछिल्लो समय विराटनगर दोस्रो लहरको कारोना सङ्क्रमणको हटस्पट बन्दै गएको छ । विराटनगरमा मात्रै कोराना सङ्क्रमित हुनेको सङ्ख्या २ हजार नाघेको छ । सङ्क्रमितको सङ्ख्या पछिल्ला केही दिन यता दैनिक दुई सयको हाराहारीमा थपिने क्रम बढिरहेको छ । जसका कारण विराटनगर कारोना सङ्क्रमणको हटस्पट बन्ने देखिएको हो ।

विराटनगर महानगरपालिकाका कोभिड संयोजक हैदर अलीले बिहीबारसम्म विराटनगरमा २ हजार १ सय ८४ जना कोराना सङ्क्रमित रहेको बताए । अहिले दैनिकजसो विराटनगरमा २ सयभन्दा बढी सङ्क्रमित भेटिन थालेका छन् । बिहीबार पनि विराटनगरमा २ सय ८३ जना सङ्क्रमित थपिएका छन् । यो क्रम पछिल्लो पाँच दिनदेखि लगातार दैनिक २ सयजनाभन्दा बढी सङ्ख्यामा थपिँदै आएका छन् ।

परीक्षणको दायरा अत्यन्तै न्यून भएका कारण पनि ५० प्रतिशतको हाराहारीमा सङ्क्रमण पुष्टि हुन थालेको स्वास्थ्यकर्मीहरूले बताएका छन् । सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेपछि घरमै आइसोलेसनमा बस्नेहरुको सङ्ख्या पनि बढ्न थालेको छ ।

विराटनगर महानगरपालिकाका १९ वटा वडामा कति जना घरमै आइसोलेसनमा बसेका छन् भन्ने यकिन तथ्याङ्क अझै पनि महानगरसँग छैन । त्यसरी होम आइसोलेसनमा बसेका सङ्क्रमितहरुको निगरानी गर्ने कुनै संयन्त्र नै महानगरपालिकामा बनेको छैन ।

महानगरपालिको स्वास्थ्य शाखामा होम आइसोलेसनमा रहेका सङ्क्रमितको अभिलेख पनि राखिएको छैन । महानगरले बुधबारबाट बल्ल स्वाब सङ्कलनका लागि केन्द्र तोकेर स्वाब सङ्कलनको काम अघि बढाएको छ । तर सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने र स्वाब सङ्कलन गर्ने काम भने अझै सुरु हुन सकेको छैन ।

जनस्वास्थ्यविद् डा नवराज सुब्बाले विराटनगरमा पछिल्ला दिनमा थपिएका सङ्क्रमितको तथ्याङ्कले कोराना समुदाय स्तरमा पुगेको देखाएको बताए ।

‘कोराना सङ्क्रमणको फैलावट जुन दरले बढिरहेको छ त्यसले विराटनगर हटस्पट बन्ने खतरा बढाएको छ,’ सुब्बाले भने, ‘अवस्था भयावह बन्दै गएको छ ।’ तर सो अनुसारको कोराना रोकथाम, नियन्त्रण र निदानको तयारी भने फितलो देखिएको उनले बताए ।

विराटनगरमा कोरानाको दर उच्च बढे पनि महानगरले समयमै सङ्क्रमण फैलिन नदिन कन्ट्याक्ट ट्रेसिङमा जुट्नु भए पनि प्रभावकारी  रूपमा हुन नसकेको सुब्बाले बताए ।

जनस्वास्थ्यविद् सुब्बाले भने जस्तै विराटनगरभित्र भयावह रूपमा सङ्क्रमण फैलिँदै गए पनि नियन्त्रण तथा रोकथामका लागि महानगरपालिकाको काम सुस्त देखिएको छ ।

पहिलो चरणमा एक जनामा सङ्क्रमण देखिनुअघि नै महानगरपालिकाले नियन्त्रण तथा सङ्क्रमण फैलन नदिन ‘होल्डिङ सेन्टर’ र होम आइसोलेसनमा रहेका व्यक्तिको निगरानीको व्यवस्था गरेको थियो । त्यस्तै भारतका विभिन्न राज्यबाट फर्केका नेपालीहरूलाई महानगरपालिकाले होम आइसोलेसनमा राख्ने र तिनीहरूको निगरानी गर्ने तथा अभिलेख राख्ने जिम्मेवारी वडाका प्रतिनिधिहरूलाई दिइएको थियो । तर दोस्रो लहरको सङ्क्रमण फैलिँदा विराटनगर महानगरपालिका सुस्त देखियो ।

क्वारेन्टाइन, आइसोलेसनको निर्माण तथा व्यवस्थापन गर्नुपर्ने, सङ्क्रमण फैलिन नदिन कन्ट्याक्ट ट्रेसिङमा जुट्नुपर्नेमा त्यो पनि खासै प्रभावकारी हुन नसकेको अधिकारकर्मी उत्तम ढुङ्गेलले बताए ।

उनले महामारी नियन्त्रणका लागि महानगरले जुन प्रकारले कदम चाल्नुपर्ने हो त्यसमा चुकेकाले भोलिको दिनमा समस्या भयावह हुनसक्ने बताए ।

‘समय रहँदै गरेको भए महामारी रोकथाम तथा नियन्त्रणका धेरै काम गर्न सकिन्थ्यो,’ ढुङ्गेलले भने, ‘महानगर त्यो कार्यमा चुकेको छ ।’ यसको परिणाम भोलि नगरवासीले बेहोर्नुपर्ने अवस्था आउने उनले सङ्केत गरे ।

उनले कुनै पनि ट्राभल हिस्ट्री नभएका सङ्क्रमितको मृत्यु हुन थालेकाले थप चिन्ता बढाइदिएको बताए । बिहीबारसम्म विराटनगरमा मात्र २१ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । महामारी नियन्त्रणका लागि अग्रसरता नलिँदा विराटनगरमा सङ्क्रमणको अवस्था भयावह हुन थालेको भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ ।

विराटनगर महानगरपालिकाका कोभिड संयोजक हैदर अलीले महानगरपालिकाले सीमा नाकामा कोरोना पोजिटिभ पुष्टि भएका व्यक्तिहरूलाई आइसोलेसन सेन्टरसम्म पु¥याउन एम्बुलेन्स र महानगरपालिकाभित्र स्वाब सङ्कलन गर्न थालिएको बताए ।

‘महानगरपालिकाको कोभिड हेर्ने जिम्मेवारी भर्खर पाएको छु । केही दिनभित्र महानगरपालिकाभित्र रहेका सबै सङ्क्रमितको अभिलेखीकरण हुनेछ,’ संयोजक अलीले भने, ‘त्यसका लागि केही दिन समय लाग्छ ।’

‘होम आइसोलेसनमा बसेका सङ्क्रमितलाई  स्वास्थ्य अवस्थाबारे परामर्श लिन र दिन हामीले विराटनगरका चिकित्सकको नाम र फोन नम्बर उपलब्ध गराएका छौँ । कसैलाई स्वास्थ्य परामर्श लिनुपर्दा सीधै डाक्टरसँग सम्पर्क गरी परामर्श गर्ने वातावरण बनाएका छौँ,’ उनले भने । यो वर्ष स्थानीय तहले कोरोना नियन्त्रणका लागि प्रयाप्त बजेट नहुँदा प्रभावकारी काम नभएको महानगरपालिकाले जनाएको छ ।

महानगरमा २३ दिनमा २१ सय ६९ सङ्क्रमित थपिए

विराटनगर महानगरपालिकामा गएको २३ दिनमा २ हजार १ सय ६८ जना सङ्क्रमित थपिएका छन् । गएको वैशाख १ गते महानगरमा जम्मा १६ जना मात्र सङ्क्रमित रहेका थिए । तर बिहीबारसम्मको अवधिमा आइपुग्दा सङ्क्रमितको सङ्ख्या बढेर कुल २ हजार १ सय ८४ पुगेको छ । यो सङ्ख्या हेर्दा ६२ प्रतिशतले नयाँ सङ्क्रमित थपिने गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले प्रदेशभित्रका कुल सङ्क्रमितमध्ये ४९ प्रतिशत विराटनगरमा रहेको जनाएको छ ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयले दोस्रो लहर सुरु भएयता (चैत २८ गतेदेखि) औपचारिक रूपमा सङ्क्रमितको विवरण अध्यावधिक गर्दै आएको छ ।

वैशाख १ यताको सङ्क्रमण दर हेर्दा विराटनगरमै प्रदेश १ को आधाभन्दा बढी सङ्क्रमित रहेका छन् । खुला सिमाना र जोगवनी बजारका कारण नेपाल भारत दोहोरो आवतजावत रोक्न नसक्दा पछिल्ला दिनमा प्रदेश १ का राजधानीसमेत रहेको विराटनगरमा सङ्क्रमण दर उच्च बन्दै गएको छ ।

मन्त्रालयका अनुसार वैशाख १ मा प्रदेशभरी कुल २० जना हुँदा विराटनगरका मात्र १६ जना सङ्क्रमित भेटिएका थिए । प्रदेश १ मा बिहीबारसम्म कुल सङ्क्रमित सङ्ख्या ५ हजारभन्दा माथि पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुव भट्टराई
ध्रुव भट्टराई
लेखकबाट थप