निबन्ध

सम्पदा नम्बर एक : मानिस कि धरहरा ?

person explore access_timeबैशाख २४, २०७८ chat_bubble_outline0

‘हामीले साझा संकल्प गर्‍यौँ भने धूलो टकटक्याउँदै फेरि उठ्ने छ धरहरा ।’(११ जेठ २०७२, नयाँ पत्रिका )


यो भनाइको अर्थ लाक्षणिक होला शायद । भग्न धरहरालाई यहाँ एउटा प्रतीकका रुपमा प्रस्तुत गर्न खोजिएको छ । त्यसैले धूलो टक्टक्याउँदै धरहरा उठ्ने प्रसङ्ग भग्नावशेषबाट जीवन उठ्ने कुराको पनि सङ्केत होला शायद ।



नयाँ पत्रिकाको पहिलो पातोमा यो भनाइको छेवैमा धरहराको भव्य तस्बीर छ । यो हिजोको धरहरा हो । भूकम्पले धूलिसात् गर्नुअघिको धरहरा । अनि भोलिको धरहरा ? भोलिको धरहरा नयाँ पत्रिकाको ‘ग¥यौँ भने’ भन्ने अनिश्चियबोधी ‘कल्पना’को गर्भमा छ । यो अनिश्चयको गर्भबाट धरहराको पुनर्जन्म हुन पनि सक्छ, नहुन पनि सक्छ ।



बलशाली भूकम्पले बृद्ध मठ, मन्दिर र स्मारकहरु भत्काएपछि मुखमुखै सुनिँदैछ दिवङ्गत धरहराको चर्चा । त्यो धरहराको चर्चा, जो बनेथ्यो इन्जिनियर, कालिगढ, श्रमिक र कुल्लीहरुको संयुक्त यत्नले । र, जसको छातीमा ठोकिएको थियो भीमसेन थापाका नामको नक्कली छाप ।

यो चौतर्फी चर्चा सुन्दा धरहरा सबै भग्न प्राचीन एवं सांस्कृतिक सम्पदाहरुको प्रतिनिधि पात्रजस्तो लाग्छ । मानौँ ती सबैको नाभिस्थल, मानौँ ती सबैको हंस, मानौँ ती सबैको प्राणवायु । त्यसैले लाग्छ, धरहरा उठ्नु भनेको सबै भग्न सम्पदाहरु उठ्नु हो । र, धरहरा उठ्नु भनेको भूकम्पले धूलामा पछारेको मानव जीवन पनि सँगसँगै उठ्नु हो । मानौँ धरहरा उठ्छ, र त्यो उठाइबाट प्रेरणा लिँदै र त्यसको सिको गर्दै पछारिएका अरु यावत् वस्तुहरु भकाभक उठ्छन् ।

धरहराबारे मेरा केही सम्झनाहरु छन् । धेरै पुराना र अविस्मरणीय सम्झना ।

चौबीस सालमा चौबीसै रुपियाँको टिकट काटेर विराटनगरबाट फलामचरीमा हुइँय उड्दै म काठमाडौँ आएँ । नेपाल खाल्डोको आकाशबाट तल हेर्दा मेरा आँखामा परेको पहिलो चीज थियो — धरहरा  ! आम्मामामा, त्यो गगनमुखी लाँक्रो कति अग्लो !

अलि दिनपछि धरतीबाट अनुहार उत्तानो पारेर धरहरा हेरेँ । आम्मामामा, त्यो गगनमुखी लाँक्रो कति अग्लो † अनि त्यसको अग्लाइसामु मेरो होचाइ कति बामपुड्के ! च्युँडो उचालेर हेर्छु, त्यो कता हो कता माथि छ — साँच्ची नै गगनचुम्बी ! म चाइने तल धूलैनेरको लिलिपुट मानव † त्यसपछि फेदबाट धरहरा हेर्न मलाई कसोकसो धक लाग्यो । हैन, त्यसको उचाइले मेरो होचाइलाई गिज्याएको पो हो कि !

ऊबेला धरहरा आरोहण बन्द थियो । त्यसमा चढेर, त्यसको टुप्पैमा पुगेर तल म उभिने धूलो हेर्न मलाई औधी रहर लागेको थियो, तर मौका मिलेन ।

पछि, धेरै पछि चढेर टुप्पोमा पुग्नलाई धरहराको ढोका खोलियो । बनोटको प्रकृति र आयुको हिसाबले धरहरा जर्जर भइसकेको थियो, अहिले ढलूँ कि भरे ढलूँजस्तो । त्यो बृद्ध र जराजीर्ण लाँक्रोमा चढ्न मलाई कसोकसो डर लाग्यो । वास्तवमा आरोहणका लागि धरहरा खोल्नु सर्वथा अनुचित र अनैतिक कर्म थियो । र, थियो त्यो असंवेदनशील र अमानवीय कर्म पनि ।

तर, के लाग्छ, यस धरतीका लोभी शासकहरुका लागि मानिसहरुका जीउज्यानभन्दा पैसा कतिकति प्यारो † तिनका लागि लोकहितभन्दा आप्mनो तुच्छ स्वार्थ कतिकति प्यारो † तिनले आप्mनो लोभको तिर्खा मेट्न धरहरा आरोहणमा टिकटको व्यापार शुरु गरे । र, अहिले भूकम्पले ढाल्दा पहिल्यै धराप भइसकेको धरहरामा शासकहरुको प्रलोभनको वेदीमा थुप्रो मानिसको ज्यान गयो ।

लुब्ध मनुवाहरुले जीर्ण धरहरामा आरोहणको व्यापार शुरु गर्न लाग्दा संवेदनशील र करुणामयी नागरिकहरु कानमा तेल हालेर मौन बसेका अवश्य होइनन् । यस कुराकोे प्रत्यक्ष सबुत गौतम डंगोलको संघर्षको कथा हो ।

कथा भन्छ— कुरा २०५५ सालको हो । नगरपालिकाका हाकिम भइखाएका राष्ट्रिय गफाडी केशव स्थापितले धरहराको आरोहण गराउने जिम्मा साइड वाकर्सलाई दिए । धरहराको दक्षिण–पश्चिमको भाग नाङ्गा आँखाले छर्लङ्गै देखिने गरी चर्किसकेको थियो । डङ्गोल महोदयले आरोहण रोक्न पुरातत्व विभागलाई गुहारे, अदालतलछेउ बिन्ती बिसाए । तर, तिनको पुकारको कतै सुनुवाइ भएन । त्रूmद्ध डङ्गोल सडकमा निस्के र तिनले थला पर्नेगरी प्रहरीको कुटाइ खाए । नरपीडकहरुको मासिक २ लाख ५० हजारको लोभको जीत भयो, न्यायको संघर्ष हा¥यो । नतिजा जे भयो, त्यसको विद्रूप कथा धरहराको भग्नावशेषले जगत्लाई सुनाइरहेको छ ।

यता धरहरा ढलेर एक सय ५५ जना मानिसको एकबारको जुनी सकियो । उता तिनलाई मार्ने प्रपञ्च रच्नेहरु छाती तन्काएर सडकमा हिँडिरहेका छन् । आखिर जङ्गलको राजमा न्याय सदैव पराजित न हुन्छ !

आयो कुरा अब धूलीसात् भएको धरहराको पुनर्जीवनको ।

 रातोदिन धरहराको महिमा गान गर्ने एकथरी मानिस धरहरा आजै, भोलि नै बनाउन आतुर छन् । मानौँ यो राष्ट्रको प्राणवायु नै धरहराको भग्नावशेषमा अड्किएको छ, जसको उद्धार जति छिटो ग¥यो राष्ट्रको आत्मिक स्वास्थ्यलाई उति नै राम्रो हुन्छ । पुनःनिर्माणको सूचीमा तिनको पहिलो र अनिवार्य प्राथमिकता धरहरा हो र धरहरामात्र हो । काँचका पर्दाहरुमा घरिघरि काठमाडौँ उपत्यकाका मनै भरङ्ग पार्ने प्राचीन महत्वका भग्न वस्तुहरुका दारुण दृश्य देखाइँदा सबैभन्दा पहिले ढलेर बाँकी रहेको धरहराको विरुप ठुटो आउँछ । दृश्यमा धरहराको ठुटोसँग सेल्फी खिचिरहेका आत्ममुग्ध जनहरु देखिन्छन् । धरहराको भग्नावशेषमाथि हाय, हाय धरहरा, ओए, ओए धरहराजस्ता खिन्न स्वरहरु तरङ्गित भइरहन्छन् ।

तर, आश्चर्य, ढल्नलाई उमेर पुगेको धरहराको भग्नावशेषमा पुरिएर अकालमै जीवन गुमाउने १५५ जना मानिसको चर्चा कसैले छिसिक्कसम्म पनि गर्दैन । मानौँ ती सबै भग्नावशेषमा पुरिएर मर्न अभिशप्त धूलीकण हुन् । मानौँ ती सब अर्थहीन र मूल्यहीन जीवहरु हुन् ।

धरहरामा हृदयविदारक कोलाहल र चीत्कारमाझ जसले जीवन बिसाए, तिनका पनि कोही हुँदा हुन् । ती कसैका भविष्यका आशा हुँदा हुन्, कसैका वर्तमानका भरोसा । ती कसैका अभिभावक हुँदा हुन्,  कसैका प्रेमी वा प्रेमिका । अहिले ती सब कहाँ रोइरहेका छन् ? तिनलाई सम्झने कोही छैन, तिनको लेखो राख्ने कोही छैन । जो बोल्दैछन्, ती सबैको चासोमा केवल धरहरा छ । ती सबैको चिन्तामा फगत धरहरा छ । र, ती सबैका जिब्रा–जिब्रामा हाय, हाय धरहरा, ओए, ओए धरहरा, ऐय्या–ऐय्या धरहरा, मरेँ–मरेँ धरहराको अटुट राग रटना छ ।

धरहरामा मर्नेहरुको लाममा अखबारको पहिलो पातोमा फोटो छापिने सामाजिक हैसियत भएको कोही परेन । परेको भए शायद उसको गरिमामय फोटोपछि अरुहरुको नाम पनि आउँदो हो । जो मरे, ती अनाम थिए । जो मरे, ती पहिचानविहीन थिए । जो मरे, ती अकिञ्चन थिए । त्यसैले सत्तापति, धनपति, धाकधक्कुपति र वर्चश्वपतिहरुका दृष्टिमा ती मूल्यहीन धूलीकण ठहरिए, र हिजोको आजै ती बिर्सिइए ।

ल भैगो, धरहरा हाम्रा पुर्खाले छाडिगएको पौरख र गौरवको निशानी हो, मैले मानेँ । धरहरा हाम्रा पुर्खाका कल्पनाशील र सिर्जनशील पदचापको गहिरो छाप हो, मैले मानेँ । धरहरा आँखाको आकर्षण र मनको आनन्द खोजिहिँड्ने पर्यटकहरुलाई आपूmतिर खिच्ने र शासकहरुले तिनबाट द्रव्य दुहुने साधन हो, मैले मानेँ । तर, सामाजिक सम्पदाको महत्ताक्रममा पहिले आउने चीज के हो, मान्यवर ? मानिस कि धरहरा ? पुनःनिर्माणको सूचीमा नम्बर एकमा पर्नुपर्ने मानिस हो कि धरहरा ? मानिसले धरहरा बनाउँछ, धरहराले मानिस बनाउँदैन । मानिस धरहराका लागि होइन, धरहरा मानिसका लागि हो ।

भग्न धरहरा छेवैको टुँडिखेलमा घरविहीन सुत्केरी प्mयालप्mयाले पालमुनि चाउचाउ खाएर प्राण धानिरहेकी होलिन् । तिनको सुकसुकाउँदो शिशु आमाको दूध नपुगेर रोइरहेको होला । पहिले कसको जीवनलाई उठाउने हो, मान्यवर ? ती जीवित सुत्केरी नारी र त्यो अवोध शिशुको कि निर्जीव धरहराको ? दुर्गम पहाडका विकट वस्तीहरुमा मुन्टो लुकाउने घर, पेट भर्ने अन्न र आङ ढाक्ने लुगा गुमाएका नरनारीहरु मरेका प्रियजनहरुलाई सम्झेर रुँदै राहत र सहाराको बाटो हेरिबसेका होलान् । पहिले कसलाई राहत र सहारा दिने हो, मान्यवर ? ती जीवित नारीहरुलाई कि निर्जीव धरहरालाई ?

हामीसँग साधन सीमित छ, श्रम सीमित छ । त्यसैले म त भन्छु— भग्न धरहराको जगबाट अहिले हत्तपत्त धरहराको पुरानैजति अग्लो लाँक्रो नउठाए पनि हुन्छ । अतीतको सम्झना र सम्मानका लागि धरहराको सानो प्रतिरुप बनाए पुग्छ । त्यो प्रतिरुपको वरिपरि एउटा पुष्पवाटिका होस्, र त्यसको छेवैमा एउटा ठूलो पाटीमा धरहरा ढल्दा जीवन गुमाउने १५५ जना मानिसका तस्बिर र नामहरु कुँदिऊन् । भावी पुस्ताले अनुकूल र आर्थिक समृिद्धको समयमा मन लागे उत्रै धरहरा बनाऊलान्, मन नलागे धरहराको त्यही प्रारुपमा चित्त बुझाउलान् । धरहरा कविता, गीत र गजलमा त यसै पनि अमर रहने छ नै ।

–१२ जेठ २०७२  

( संग्रौलाको निबन्ध संग्रह उत्तरआधुनिक अन्तरेपथबाट साभार)

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।