शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाविरुद्धको लडाइँका कमाण्डर जसले सम्हालेका छन् हेटौँडा अस्पताल

शुक्रबार, २४ वैशाख २०७८, ०९ : ५२
शुक्रबार, २४ वैशाख २०७८

मकवानपुरमा कोरोना संक्रमणको दर बढ्दो छ । दैनिक एक सय जनाको हाराहारीमा जिल्लामा कोरोना संक्रमित थपिइरहेका छन् भने सक्रिय संक्रमितको संख्या ८ सय नाघिसकेको छ ।

कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै हेटौँडा अस्पतालको कोभिड वार्डमा ७ जनाको मृत्यु भइसकेको छ । मकवानपुरको ग्रामिण भेगमा भन्दा शहरी क्षेत्रमा संक्रमणको दर उच्च छ । 

हेटौँडा उपमहानगरपालिकाका वडा नम्बर ४ र ५ मा समुदायस्तरमै संक्रमण फैलिइसकेको छ । हेटौँडामा कोरोना संक्रमितको उपचारका लागि हेटौँडा अस्पतालले कोभिड–१९ उपचार कक्ष तयार गरेको छ ।
भनिन्छ, कोरोनाविरुद्धको अभियानका मुख्य कमाण्डर स्वास्थ्यकर्मी हुन् । आफ्नै ज्यान जोखिममा राखेर दैनिक उपचारमा खटिने स्वास्थ्यकर्मीकै कारण कोरोना संक्रमितको मनोबल उच्च हुने गरेको छ र उनीहरुलाई रोगसँग लड्ने हौसला प्राप्त हुन्छ ।

हेटौँडा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु घरबार छाडेर २४ सै घण्टा बिरामीको सेवामा खटिइरहेका छन् । कोरोनाको दोस्रो लहर सुरु भएपछि सेवामा तल्लीन स्वास्थ्यकर्मीमध्ये ६ जना त संक्रमणको सिकारसमेत भए ।
ती मध्ये २ जना विशेषज्ञ डाक्टर छन् । आफैँ संक्रमित भइरहँदा पनि संक्रमित बिरामीको उपचारमा उनीहरु सक्रिय रुपमा लागिरहेका छन् । ती मेहनती स्वास्थ्यकर्मीहरुको कमाण्डर हुन् डाक्टर सागर काफ्ले ।
आठौँ तहका चिकित्सक काफ्ले दैनिक २० घण्टासम्म संक्रमितको उपचारको व्यवस्थापनमा खटिएका हुन्छन् । काभ्रे स्थायी घर भएका डा. काफ्लेले युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा छात्रवृत्ति कोटामा मेडिकल विषय अध्ययन गरेका हुन् । 

भैरहवामा एमबीबीएस गरेपश्चात् २ बर्ष सरकारले खटाएको अस्पतालमा सेवा गर्नुपर्ने व्यवस्था अनुसार उनी २०७६ वैशाख २३ गते हेटौँडा अस्पतालमा करारमा नियुक्त भएका थिए । काफ्लेलाई कोभिड वार्डको इन्चार्जको जिम्मेवारी लिएर काम गर्न सानो चुनौती थिएन । करारमा आएका उनलाई आफूभन्दा उच्च दर्जाका चिकित्सकहरुलाई काम लगाउनुपर्ने भएकोले निकै अप्ठेरो महशुस हुन्थ्यो । उनलाई व्यवस्थापनको पक्ष सम्हाल्न फलामको चिउरा चपाए झैँ थियो । 

हेटौँडा अस्पतालमा उपलब्ध स्रोत साधनबाट बिरामीको उपचार गर्नु अर्को प्रमुख चुनौती थियो । त्यसको व्यवस्थापन उनका लागि जटिल थियो । तर उनको अथक मेहनत र उच्च मनोबलको कारण उनले अस्पतालको कोभिड वार्ड व्यवस्थित रुपमा संचालन गरेका छन् । 

यसअघि हेटौँडा उपमहानगरपालिका वडा नम्बर–६ स्थित गौरीटार आइसोलेशनको संयोजकका रुपमा जिम्मेवारी पाएका उनको उच्च मनोबल कार्यकुशलताबाट प्रभावित भएर उनलाई हेटौँडा अस्पतालको कोभिड वार्डको इन्चार्जको जिम्मेवारी थमाइएको हो । 

उनले जिल्लामा कोरोना संक्रमितको उपचारको लागि ८ जनाको कोर टिम बनाएका छन् । जसमा मेडिसिनतर्फ डा.कमल दवाडी छन् । दवाडीको नेतृत्वमा बिरामीको उपचारका हरेक गतिविधि संचालन हुने गरेको छ । त्यस्तै डा. राजु सेढाई, डा. निशा राई, डा. सुभास बाबु लामिछाने, डा. लोकेश भुजेल, डा. प्रशान्त बिडारी, डा. निश्चलभद्र खनाल र डा. सुजता पन्त उनको टिममा छन् ।

उनले जिल्लामा कोरोना नियन्त्रणमा व्यवस्थापनको कामको लागि छुट्टै टिम बनाएका छन् । कर्मचारी, स्वास्थ्यकर्मी र सहयोगी समेतको अभाव हुन नदिन हेटौँडा अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रविण श्रेष्ठको नेतृत्वमा मानव स्रोत साधन व्यवस्थापन टिम बनाइएको छ । उक्त टिमले आवश्यक कर्मचारी र सहयोगी नियुक्त गर्ने काम गर्दै आइरहेको छ । 

उनको नेतृत्वमा प्रत्येक दिन बिहान सबै टिमको बैठक बस्ने गरेको छ । गुनासो सुन्ने, नीति निर्देशन दिने जस्ता काम बैठकमै गरिन्छ र सोही निर्देशन अनुसार आवश्यक कदम चाल्ने गरिन्छ । कोरोना संक्रमित बिरामी बढ्दै गएपछि स्वास्थ्यकर्मीहरुलाई पनि उत्तिकै जोखिम छ । जोखिमका बीच पनि डा. काफ्ले नेतृत्वको टिम सक्रियतापूर्वक कोरोना विरुद्धको अभियानमा अहोरात्र खटिइरहेको छ । 

स्वास्थ्यकर्मीहरुको कामको प्रेसर कम गर्न उनले ८ घण्टाको ड्युटी सेड्युल बनाएका छन् । डाक्टरसहितका स्वास्थ्यकर्मीहरुको सहायताका लागि सहयोगी कर्मचारीहरुलाई पनि आलोपालोमा ड्युटी खटाइएको छ ।
कसैलाई कुनै समस्या परेमा विकल्पमा अर्को स्वास्थ्यकर्मीको व्यवस्थापन तत्काल हुने गरेको छ । वैकल्पिक स्वास्थ्यकर्मीको छुट्टै व्यवस्थापन गरिएको छ ।  

संक्रमित बिरामी अस्पतालमा प्रवेश गर्ने बित्तिकै कोभिडको संक्रमण हो वा होइन भन्ने पत्ता लगाउन विभिन्न जाँचहरू गरिन्छ । त्यसपछि स्वास्थ्य परीक्षण गरेर कोरोनाका संक्रमित र तिनका आफन्तहरुको मानसिक तनाव व्यवस्थापनको कार्यमा स्वास्थ्यकर्मीको टिमले काम गर्छ भने संक्रमित बिरामीको उपचारका लागि अर्को टिमले काम गर्छ । 

लक्षण देखा परेका बिरामीको पिसिआर परीक्षणपछि उनीहरुको अवस्था अनुसार उपचारको प्रक्रिया अघि बढाइन्छ । आवश्यकता अनुसार संक्रमितलाई होम आइसोलेशनमा पठाउने वा संस्थागत आइसोलेशनमा राख्ने गरिन्छ । गम्भीर प्रकृतिका संक्रमित बिरामीहरुलाई तीन तहको उपचार कक्षमा राखेर उपचार प्रक्रिया अघि बढाइन्छ । गम्भीर अवस्थाका संक्रमितहरुलाई भेन्टिलेटर, आइसियु र एचडियु कक्षमा डाक्टरसहितको सेवा प्रदान गरिँदै आएको छ । 

संक्रमितको उपचारमा मात्र होइन, डा. काफ्ले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको बैठकमा पुगी दैनिक रुपमा रिर्पोटिङ गर्न पनि भ्याउँछन् । उनी संक्रमितको वास्तविक अवस्था र आगामी रणनीति निर्माणको लागि जिल्ला प्रशासन कार्यालय मकवानपुर र स्थानीय तहहरूसँग छलफल गरी योजना बनाउँछन् र कार्यान्वयनतर्फ अग्रसर हुन्छन् । 

हरेक दिन संक्रमितको तथ्याङ्क सार्वजनिक गर्छन् र नागरिक तथा सञ्चारकर्मीहरुको जिज्ञासालाई मेटाउने प्रयासमा जुटिरहेका हुन्छन् । त्यस्तै ल्याबको परीक्षण दायरा बढाउनुको साथै व्यवस्थापनको काममा उनी व्यस्त रहन्छन् । संक्रमणको उच्च जोखिमको संभावना रहँदा पनि स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर उनी निरन्तर काममा लागिपरेका छन् । 

हेटौँडा अस्पतालले कोरोना संक्रमितको उपचारको लागि संचालन गरेको २० बेड क्षमताको उक्त वार्डलाई क्षमता बढाउँदै ३० बेडको बनाइएको छ । संक्रमितको चाप बढ्दै गएपछि थप ७ वटा बेडको व्यवस्थापन गर्नेतर्फ डा. काफ्लेको टिम लागिपरेको छ । कूल ३७ वटा बेड तयारी अवस्थामा हुँदा पनि आवश्यकता परिपूर्ति नहुने भन्दै काफ्ले चिन्ता व्यक्त गर्छन् । 
अस्पतालमा आइसियु, भेन्टिलेटर र एचडियु सेवा पनि संचालनमा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप