शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘नारायण गोपालभन्दा पनि माथि’

चर्चित गीतकारहरुको सम्झनामा प्रेमध्वज प्रधान
बिहीबार, २३ वैशाख २०७८, २० : ५८
बिहीबार, २३ वैशाख २०७८


नेपाली सांगीतिक आकाशका एक नक्षत्र चर्चित गायक तथा संगीतकार प्रेमध्वज प्रधान अब हामीबाट सदाका लागि बिदा भएका छन् । बरिष्ठ गायक प्रेमध्वजको बिहीबार ८३ वर्षको उमेरमा काठमाडाैँको न्यूरो अस्पतालमा निधन भएको हो ।

छातीको दुखाइका कारण सास फेर्न गाह्रो भएकाले बिहान अस्पताल पुर्याइएका प्रधानको उपचारका क्रममा निधन भएको हो ।

प्रेमध्वजले ‘घुम्तीमा नआऊ है’, ‘नमान लाज यसरी’, ‘टाढा नभइदेऊ फेरि’, ‘पर लैजाऊ फूलहरू’ लगायत धेरै कालजयी गीतहरु हामीलाई छाडेर गएका छन् । यी गीत नेपाली सांगीतिक आकाशमा पहिलेझैं अबका दिनमा पनि अवश्य गुन्जिनेछन् । फरक यत्ति हो– प्रेमध्वजलाई अब हामीले सशरीर भेट्न पाउने छैनौं ।

वि.सं.१९९४ सालमा सिन्धुपाल्चोकको चौतारामा जन्मिएका प्रधानको घरमा सांगीतिक माहोल थियो । घरमा दिनहुँजस्तो हुने सांगीतिक कार्यक्रमको प्रभावका कारणले उनको पनि संगीतप्रति रूची बढेको थियो । २००९ सालमा रेडियो नेपालमा स्वर परीक्षा दिएपछि औपचारिक गायन सुरु गरेका प्रधान चर्चित र स्टाइलिस्ट गायकका रुपमा परिचित थिए ।

राष्ट्रिय गीत, नेवारी गीत, भजन  र  फिल्मको गीतमा समेत स्वर दिएका प्रधान नेपालमा पहिलोपटक गितार बजाउने गायकका रुपमा चिनिएका छन् । प्रेमध्वज प्रधानसँग संगत गरेका सांगीतिक क्षेत्रका चर्चित व्यक्तित्वहरु उनलाई यसरी सम्झन्छन् –

प्रेमध्वज नारायण गोपालभन्दा माथि छन्

राजेन्द्र थापा (गीतकार)  

म प्रेमध्वज दाइलाई बच्चैदेखि दाइ भनेर चिन्थे ।  । उहाँले २००९ सालमा रेडियोमा स्वर परीक्षा दिनुभएको थियो । २०१२ सालमा उहाँले कोलकातामा पहिलोपटक लाइभ गाउनु भएको थियो ।

उहाँका नजिकका मानिस मणिकरत्न हुन् । उहाँ र मणिक रत्नसँग मिलेर संगीत गर्नुहुन्थ्यो । त्यो संगीतमा दुबैको नाम मिलाएर प्रेममणिक भनेर राख्थे ।

उहाँले विवाह गरेको मेरो टोलको मेरा साथीकी बहिनी हुन् । पहिले उहाँ असनभित्र बस्नुहुन्थ्यो । पछिल्लो समय बागबजारमा बस्दै आउनुभएको थियो । केही समय लाजिम्पाटमा पनि बस्नुभएको थियो ।

उहाँले मेरो शब्दमा २०२९ सालमा ‘फूलको वयानमा काँडाको नाम आउँछ’, २०३० मा ‘फुर्सद भए आउ छेउ’ गीत गाउनुभएको थियो । त्यसपछि २०३४ मा ‘पर लैजाउ फूलहरु’ गाउनुभयो । उहाँले गाएको यो गीत अहिलेसम्म चलेको प्रेमगीत हो । यो गीत अहिले पनि हिट छ ।

२०३६ सालमा प्रेम दाइलाई अमर गुरुङसँग पहिलोचोटि मैले नै सहकार्य गराएको थिएँ । त्यो समय उहाँले अमर दाइको संगीतमा ‘तारा खसेछ’ गाउनुभएको थियो । उहाँले नेपाल आर्मीका लागि ३० वटा बढी गीत गाउनुभएको छ ।

उहाँ अमेरिकन लाइब्रेरीमा पनि काम गर्नुहुन्थ्यो । ‘माइतीघर’ फिल्ममा काम गर्ने मुम्बईको जयदेव भन्ने संगीतकारले उहाँलाई ‘द गोल्डेन भ्वाइस अफ एसिया’भनेर उपाधि दिएका थिए । त्यतिबेला जयदेवले मुम्बई बस्न दवाब दिए पनि उहाँले मान्नुभएन ।

उहाँले बोलेको आवाज सुन्दा शब्द भासिन्छ भनेर म बिस्तारै बोल्नु भन्थें । उहाँले मेरा धेरै गीतहरु गाउनुभएको छ । रंगशालामा देखाइएको नेपाली सेनाको पहिलो कार्यक्रमको ४० मिनेटको गीति नाटकमा पनि उहाँको स्वर रहेको थियो ।

भन्द्र स्वभाव भएका उहाँ असाधारण ब्यक्तित्वका धनी हुनुहन्थ्यो । मानसम्मान नचाहिने उहाँजतिको लोकप्रिय र सक्षम व्यक्ति नेपालमा कोही थिएन र अहिलेसम्म छैन  पनि ।

उहाँलाई धेरैले बेवास्ता गरे । नारायण गोपाल दाइलाई देउता बनाए । नारायण गोपालभन्दा प्रेमध्वज माथि छन् । उहाँ भर्सटायल गायक पनि हो । उहाँ नेपालको एकमात्र संगीतका तारा हो । उहाँलाई मानसम्मान कहिल्यै पनि दिइएन । उहाँलाई मिडियाले पनि महत्व नदिएको पाएँ ।

उहाँसँग पछिल्लो समय केही अगाडि कुरा भएको थियो । कार्यक्रममा भने तीन महिना पहिले भेट भएको थियो । आफ्नो अपमान पनि सहेर बस्ने ब्यक्ति हुनुहुन्थ्यो उहाँ । देशले उहाँलाई कहिल्यै महत्व नदिएर पहिल्यै गुमाएको थियो । शारीरक रुपमा अहिले गुमाएको हो ।

नेपाली संगीतमा उहाँको स्थान कसैले पनि पूर्ति गर्न सक्दैन । ‘न मान लाज यसरी’ उहाँले गाएको यो गीत भारतीय गायकले पनि उहाँ जसरी आउन नसक्ने मेरो दाबी हो ।

प्रेमध्वजजस्तो अनुशासित मानिस मैले भेटेको छैन

दिनेश अधिकारी (गीतकार)

प्रेमध्वज दाइको निधनको खबर सुनेदेखि दिक्क लागिरहेको छ । उहाँ नेपाली समग्र संगीत र नेपालकै गौरव हो । आज हामीले त्यो गौरव गुमाएका छौं ।

मेरो यादमा भएसम्म गत चैत्रको अन्तिम सातासम्म हामी भेटेका थियांै । त्यो समय एक अवार्डमा उहाँले योगेश दाइलाई ‘लाइफ टाइम अवार्ड’ दिनुभएको थियो । त्यो हिसाबले हेर्दा पनि आफ्नो आजीव संगीतमा समर्पित गर्ने व्यक्तिका रुपमा उहाँलाई हेर्न सकिन्छ । उहाँजस्तो व्यक्ति नेपाली संगीत क्षेत्रले अब कहिल्यै भेट्दैन ।

८० बर्षको उमेरमा उहाँले ‘प्रेम गीत’ भन्ने एल्बम निकाल्नुभएको थियो । गायनमा उहाँले सबै प्रकारको गीत गाउनुभएको छ । मलाई के लाग्छ भने श्रृंगार रसका गीतहरु उहाँको गायनको सबैभन्दा प्रभावकारी पाटो हो ।

उहाँलाई सम्झँदा रेडियो नेपालको त्यो कुरो पनि सम्झनुपर्ने हुन्छ । जुनबेला रेडियो नेपाल भर्खर स्थापना भएको थियो । हिन्दी गीतहरु चल्थ्यो । त्यो बेलामा हिन्दी गीत विस्थापित गरेर नेपाली गीतलाई अगाडि ल्याउन उहाँको क्रियाशीलता रहेको छ ।

२०१३ सालबाट रेडियो नेपालमा टेप रेकर्डिङको सिस्टम सुरु भएको थियो । उहाँले भने २००९सालदेखि रेडियोमा गीत गाउन थाल्नुभएको थियो । त्यतिबेलाको हिन्दी फिल्म ‘नादान’को गीत  ‘सुहानी रात’बाट उहाँले रेडियोमा भ्वाइस टेष्ट दिनुभएको थियो ।

भ्वाइस टेष्टका लागिसमेत हिन्दी गीतको प्रभाव भएको समयदेखि आजको अवस्थासम्म नेपाली गीतसंगीतलाई ल्याउन ठूलो हात भएको संगीतकर्मीको कुरा गर्दा प्रेमध्वज दाइको नाम छुटाउन मिल्दैन ।

व्यक्तिगत रुपमा उहाँ जति सरल, अनुशासित व्यक्तित्व अहिलेसम्म मैले अर्काे भेटेको छैन । संगीतको पाटोमा पनि उहाँका संगीत सशक्त छन् । उहाँ आफैंले पनि धेरै संगीत गर्नु भएको छ । संगीत क्षेत्रमा प्रेमध्वज प्रधान र माणिक रत्नले ‘प्रेममाणिक’ भनेर नाम राखेका थिए । यो नामबाट पनि धेरै नेपाली गीतमा संगीत भएको छ ।

उहाँलाई सम्झनुपर्ने मेरा दुईटा गीतको नाम लिनुपर्दा एउटा ‘घुम्तीमा नआउ है’ हो । यसको संगीत उहाँले आफ्नै गर्नुभएको हो । अर्काे गीत ‘गोरेटो त्यो गाउँको’ भन्ने छ । त्यसको संगीत प्रेममाणिकको हो । संगीतकारका रुपमा पनि म उहाँलाई त्यो रुपमा सम्झन्छु ।

स्वर सम्राट नारायण गोपालले स्वर परीक्षण दिँदा ‘पंक्षीको पंखमा ढल्केको याद थियो’ भन्ने गीत गाउनुभएको थियो । त्यो गीतका संगीतकार प्रेममाणिक हुन् । त्यो हिसावले पनि उहाँलाई धेरै पाटोबाट सम्झनुपर्ने हुन्छ ।

उहाँसँग मेरो २०४० सालदेखिको संगत थियो । केही अगाडिको पछिल्लो भेटसम्म पनि उहाँलाई खानपानको अनुशासनमा देखेको थिएँ । उहाँजस्तो अनुशासित मानिस मैले अहिलेसम्म भेटेको छैन ।

स्वास्थ, हृष्टपुष्ट ब्यक्ति यहाँको अचानक निधनको खबरले म धेरै दुःखी छु । संगीतलाई माया गर्ने हामी सबैको पीडाको क्षण हो उहाँको निधन ।

भौतिकरुपमा उहाँ नरहे पनि नेपाली संगीतमा उहाँको उपस्थितिबिना नेपाली संगीतको इतिहास लेखिँदैन ।

उहाँले मेरा ६ वटा गीत गाउनुभएको छ । पहिलो २०४५ तिर नातिकाजीको संगीतमा एउटा बालगीत गाउनुभएको थियो । त्यसपछि फिल्म ‘जीवन संघर्ष’मा ५ गीत गाउनुभयो ।

त्यतिबेला निर्देशक निर्माता युवराज लामाको एउटा ईच्छा थियो । आफ्नो फिल्ममा प्रेमध्वजको एकल स्वर राख्ने । ‘जीवन संघर्ष’ भन्ने फिल्ममा मैले ५ गीत दिएको थिएँ । ती ५ गीतमा प्रेमध्वज दाइको स्वर रहेको थियो । मलाई लाग्छ, एउटै गायकलाई फिल्मको पूरै गीत दिएको सम्भवतः त्यो नै होला ।

उहाँसँग एउटा गीत गाउने मेरो इच्छा थियो

गायिका देविका बन्दना

करिव २० बर्ष अगाडि होला, एउटा रेकर्डिङ स्टुडियोमा मेरो उहाँसँग पहिलो पटक भेट भएको थियो । त्यो समयदेखि उहाँसँग मेरो चिनजान र उठबस थियो । विभिन्न सांगीतिक कार्यक्रममा उहाँसँग बारम्बार भेट हुन्थ्यो । उहाँको आवाजबाट म प्रभावित थिएँ । उहाँको गीत गाउने शैली गर्नुपथ्र्यो ।

कार्यक्रममा भेट हुँदा मेरो स्वर र गीतको तारिफ गर्नुहुन्थ्यो । देविका तिम्रो गायन राम्रो छ भन्नुहुन्थ्यो । धेरै अगाडि बढ्नुपर्छ, धेरै गर्नुपर्छ भनेर आर्शिवाद दिनुहुन्थ्यो । हामीले १० वटा जति कार्यक्रममा सँगै भाग लिएका थियौं । उहाँसँग एउटा गीत गाउने मेरो इच्छा थियो । त्यो भने पूरा भएन । उहाँभन्दा म धेरै जुनियर थिएँ । सँगै गीत गाऔँ भनेर उहाँलाई कहिल्यै भन्न सकिनँ ।

उहाँ एकदमै राम्रो व्यवहार भएको मानिस हुनुहुन्थ्यो । उहाँको निधन भएको मलाई विश्वास नै लागेको छैन । उहाँ नेपाली सांगीतिक क्षेत्रको एउटा इतिहास हो । उहाँको निधनले देशबाट एउटा इतिहास मेटिएको जस्तो लागेको छ । उहाँको खबर सुनेदेखि गाह्रो भैरहेको छ । केही सोच्न सकिरहेकी छैन ।

प्रेमध्वजका लागि तयार पारेको गीत त्यसै रह्यो

बीबी थापा (गीतकार)

प्रेमध्वज दाइलाई मैले पहिलोपटक चिनेको २०४१÷०४२ सालतिर हो । कामको सिलसिलामा उहाँसँग भेटघाट भइरहन्थ्यो । उहाँले मेरो एउटा मात्र गीत गाउनुभएको छ । धेरै अगाडि चिनजान भए पनि उहाँसँग काम गर्ने अवसर भने २०५७ सालमा मात्र जुरेको थियो ।

‘तिमीलाई प्रेमको रोग लगाइदिउँ कि’ भन्ने एक गजल संगीतकार शक्ति बल्लभको संगीतमा उहाँले गाउनुभएको छ । त्यसपछि उहाँसँग काम गर्ने अवसर जुरेन ।

उहाँको निधन भएको १८ मिनेटमै मैले खबर थाहा पाएको थिएँ । गत वर्ष र यो वर्ष हामीले केही स्रष्टा गुमाएका छौं । उहाँको निधनले नेपाली संगीतले मात्र होइन, हामी सबै नेपालीमा एउटा होनहार व्यक्तित्व गुमाएका छौं । मैले नेपाली संगीतले एउटा अभिभावक गुमाएको महशुस गरेको छु ।

मखमली आवाजका धनी, कहिल्यै रिसाउन नजान्ने, जेन्टलमेन, शालीन व्यक्तित्वका रुपमा उहाँलाई हामी चिन्दछौँ । कुनै कुराको लोभ मोह नभएको र हदै अनुशासनमा बस्ने ब्यक्ति पनि हो उहाँ ।

तीन दिन अगाडि मात्रै कुरा हुँदा मेरो सबै कुरो ठीक छ भन्नुहुन्थ्यो । अति नै शालीन, अति नै भद्र, राम्रो कुरा अरुलाई सिकाउने ब्यक्ति हुनुहुन्थ्यो । उहाँका लागि भनेर अहिले मैले एउटा गीतसमेत तयार पारेको थिएँ । त्यो गीत त्यसै रह्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप