शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ मा एकै दिन ११ संक्रमितको मृत्यु

बिहीबार, २३ वैशाख २०७८, १९ : ०२
बिहीबार, २३ वैशाख २०७८

प्रदेश १ मा  कोरोना सङ्क्रमणका कारण आज एकै दिन ११ जनाको मृत्यु भएको छ । विराटनगरमा सात जना र धरानमा तिन जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
 विराटनगरको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा चार,नोबेल मेडिकल कलेजमा २, न्यूरो अस्पतालमा एक र धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप तिन जनाको गरी कुल ११ जनाको कोराना संक्रमणका कारण मृत्यु भएको हो ।

विराटनगर महानगरपालिका–१० का ५७ वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीले जानकारी दिए ।
उनका अनुसार कोसीमा उपचाररत मोरङको जहदा गाउँपालिका–५ का २५ वर्षीय युवकको पनि मृत्यु भएको छ । कोरोना सङ्क्रमण देखिएपछि उनलाई उपचारका लागि वैशाख १९ गते अस्पताल भर्ना गरिएको थियो ।
सुनसरीको कोसी गाउँपालिका–४ का ६५ वर्षीय वृद्ध पुरुषको पनि बिहीबार बिहान मृत्यु भएको छ । 
उनी बुधबार अस्पताल भर्ना भएका थिए। 

विराटनगर महानगरपालिका–१३ का ५० वर्षीय पुरुषको पनि कोसीमै मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि वैशाख २० गते भर्ना गरिएको थियो ।
विराटनगरको नोबेल शिक्षण अस्पतालमा विराटनगर–५ कोचाखालकी ३७ वर्षीया महिलाको बिहिबार बिहान  मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । उनका अनुसार महिलालाई उपचारका लागि बुधबार दिउँसो ४ः२० बजेतिर अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।

नोबेलमै उपचारका लागि भर्ना गरिएका विराटनगर महानगरपालिका–१९ का ६४ वर्षीय वृद्ध पुरुषको पनि मृत्यु भएको हो । श्वासप्रश्वास र मुटुको समस्या देखिएपछि वृद्धलाई उपचारका लागि बुधबार अस्पताल भर्ना गरिएको थियो ।
विराटनगरको न्युरो अस्पतालमा मोरङको रंगेली नगरपालिका–३ का २६ वर्षीय युवाको मृत्यु भएको छ । दुर्घटनामा परेर घाइते भएपछि १७ दिनदेखि उपचाररत उनको बुधबारसाँझ स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको थियो ।

 बिहीबार बिहान ८ बजेतिर मृत्यु भएको अस्पतालका डाइरेक्टर रञ्जितराज बस्नेतले जानकारी दिए । 
उता बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड(१९ अस्पतालमा तीन जनाको मृत्यु भएको छ।

प्रतिष्ठानका सह प्रवक्ता डा  चूडामणि पोखरेल अनुसार मोरङको मिक्लाजुङ २ का ७५ वर्षीय पुरुषको उपचारको क्रममा आज दिउसो १ः०५ बजे मृत्यु भएको हो । 
दिर्घरोगी रहेका उनलाई आज मात्रै अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

त्यसैगरी सिराहा गोलबजारका २९ वर्षीय पुरुष, र धरान ३ का ५३ वर्षीय पुरुष पनि मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

यसैगरी प्रदेश १ मा आज ७९१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३३७, झापामा १७८, सुनसरीमा १४५, ताप्लेजुङमा ४९, संखुवासभामा १४, इलाममा ११, उदयपुरमा ८, तेह्रथुममा ५, धनकुटा र पाँचथरमा २–२, भोजपुरमा १ र प्रदेश १ बाहिर ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप