बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अस्पतालको शैयाबाट प्रेमध्वज प्रधानलाई सम्झिँदै मदनकृष्णले भने- आँशुका धारा थाम्न सकिन दाइ !

बिहीबार, २३ वैशाख २०७८, १७ : ५१
बिहीबार, २३ वैशाख २०७८

काठमाडौँ । बिहीबार निधन भएका वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधनप्रति बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले गहिरो दुःख ब्यक्त गरेका छन् । कोरोनाको संक्रमण ठिक भएपनि स्वस्थ्य अवस्थामा राम्रो सुधार नआएका कारण हाल अस्पतालमा उपचारार्थ श्रेष्ठले सामाजिक सञ्जालमा पोष्ट गर्दै प्रधानको निधनमा दुःख व्यक्त गरेका हुन् ।

हाई मेरो प्यारो प्रेमध्वज प्रधान दाई, हार्दिक श्रद्धाञ्जली छ,  तिमीलाई भन्दै सुरु गरेको स्टाटसमा उनले अगाडि लेखेका छन्–‘२०२६ सालमा कवि दुर्गालाल दाईको शब्दलाई तिम्रै संगीतमा गीत गाएर प्रतियोगितामा प्रथम भएर गीत संगीतको क्षेत्रमा पाइला अगाडि बढाएको थिएँ मैले । मैले आफ्नो जीवनलाई तिमी जस्तो प्रेमको ध्वजाको सामिप्यतामा बस्न पाएकोमा आफुलाई पनि भाग्यमानी सम्झेको छु ।’

प्रधानको निधनको खबरमा आफुले आँसुका धारा थाम्न नसकेको समेत स्टाटसमा उल्लेख गरेका श्रेष्ठले प्रधानको तस्बिर हेरेर मन बुझाउनु बाहेकको अहिले अर्काे विकल्प नरहेको समेत बताएका छन् ।
 

यस्तो छ श्रेष्ठको स्टाटस:

हाई मेरो प्यारो प्रेमध्वज प्रधानदाई,

हार्दिक श्रध्दाञ्जलि छ तिमीलाई,

2026 सालमा कबि दुर्गालाल दाईको शब्दलाई तिम्रै संगीत मा गीत गाएर प्रतियोगितामा प्रथम भएर गीत संगीतको क्षेत्रमा पाइला अगाडी बढाएको थिएँ मैले।

कसैको आँखामा पनि नबिझाउने मान्छे तिमी।

मनमा मानबता भएको ब्यक्ति तिमी

कसैको कुभलोको शब्द नबोल्ने हृदयमा भगवान भएको गायक तिमी।

मैले आफ्नु जीवनलाई तिमी जस्तो प्रेमको ध्वजाको सामिप्यतामा बस्न पाएकोमा आफुलाई पनि भाग्यमानी सम्झेकोछु

म फेरि मेडीसिटि हस्पिटलमा भर्ना भएकोछु। कोरोनालाई जित्छु भन्ने आत्मबिश्वास छ ।

चाँडै निकोहुनेछु र निको भएर हस्पिटलमा या बागबजार घरमा तिमीलाई भेट्न आउने सोँचाईमा थिएँ

तर तिमीले त हामी सबैलाई छोडेर पो गईसकेको रहेछौ...!!! मैले मेरा आँसुका धारा थाम्न सकिंन दाई ।

"गोरेटो त्यो गाउँको लौन आज"भन्ने गीत कानमा ठूलो ठूलो आवाजमा गुन्जीरहेकोछ।

माईती घरको " नमान लाज यस्तरी कि झुम्छ जिन्दगी मेरो" गीतमा तिम्रो अद्वितीय स्वर्णिम स्वरको सम्झना भैरहेकोछ।

"घुम्तीमा नआउ है आँखा तिमी जुधाउन " भन्थ्यौ अब तिम्रो तस्बिर हेरेर मन बुझाउनु बाहेक के नै बाँकि रह्यो र ...

तिम्रो आत्मालाई चीर शान्ती मिलोस।

हार्दिक श्रध्दाञ्जलि छ है दाई

तिमीलाई माया गर्ने तिम्रो प्यारो भाई उहि मदनकृष्ण श्रेष्ठ -

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप