शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाको युद्धमोर्चामा स्वास्थ्यकर्मीहरु ‘गोली सकिएका सिपाही’जस्ता

बिहीबार, २३ वैशाख २०७८, १७ : ४०
बिहीबार, २३ वैशाख २०७८

बुटवल । कोरोना संक्रमणको दोस्रो लहरले मुलुकलाई नराम्ररी प्रभावित तुल्याउँदै गएको छ । अस्पतालहरू भरिभराउ हुन थालेका छन् भने गम्भीर प्रकृतिका संक्रमितहरुका लागि स्वास्थ्योपचारको प्रवन्ध गर्न निकै सकस हुन थालेको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका प्रवक्ता डा. विष्णु गौतम कोरोना संक्रमितको संख्या लगातार बढ्दै गएका कारण देशको स्वास्थ्य प्रणाली नै चर्मराउने अवस्थामा पुगेको बताउँछन् । भौतिक संरचना, जनशक्ति, स्वास्थ्य सामग्रीको अभावका कारण यतिबेला दक्ष स्वास्थ्यकर्मीहरु पनि कोरोनाविरुद्धको लडाइँमा हतियारको गोली सकिएर निरीह भएको सिपाहीजस्तै हुनु परेको उनको भनाइ छ । रातोपाटीसँग कुरा गर्दै उनले रुपन्देहीमा मेडिकल अफिसर, फिजिसियनहरुको अभाव महसुस भइरहेको बताए । अक्सिजनको आपूर्ति र मागमा पनि ठुलो अन्तर हुँदै गएको उनले बताए ।

अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा रहेको प्लान्टबाट दैनिक २० वटा सिलिन्डर अक्सिजन उत्पादन गर्न सकेमा मात्र पनि अक्सिजन सप्लाइमा केही राहत पाउन सकिने उनी बताउँछन् । यसका लागि प्राविधिकहरूले पहल गरिरहेको उनले बताए ।

‘स्थिति अत्यन्तै दयनीय छ,’ उनले भने, ‘अहिले प्रादेशिक अस्पतालमा बेडको अभाव छ, ५२ जना बिरामी भुईँमा सुतेर उपचार गराइरहेका छन् ।’ अस्पतालको आईसीयुमा १५ जना सिरियस बिरामी रहेको उनले सुनाए । एचडियुमा भेन्टिलेटर चाहिने बिरामीको अवस्था पनि दयनीय रहेको उनले बताए । ‘जम्मा चार वटामात्र भेन्टिलेटर छ, जबकि अहिलेको स्थितिमा यो अस्पतालमा मात्र सयभन्दा बढी भेन्टिलेटरको खाँचो देखिन्छ,’ उनले भने, ‘त्यही भएर स्थिति यति नाजुक छ कि मैले शब्दमा ब्यक्त गर्नै सक्दिनँ ।’

डा. गौतमका अनुसार कोरोना संक्रमणको दोस्रो लहरले नेपालको ‘हेल्थ सिस्टम’ लाई नै फेल गरिसक्यो भन्दा पनि हुन्छ । ‘हामीले हाम्रो क्षमताले भ्याएसम्म काम गरेका छौं,’ उनले भने, ‘तर त्यति कामले मात्रै हाम्रो हेल्थ सिस्टम सफल हुन सक्दैन ।’

उपकरणहरु, बेड, अक्सिजनदेखि लिएर जनशक्तिको समेत अभाव हुन थालेको उनले बताए । प्रति हजार मानिसमा २.३ चिकित्सक हुनुपर्ने विश्वव्यापी मान्यता रहे पनि नेपालमा तुलनात्मक रुपमा निकै कम स्वास्थ्यकर्मी रहेको उनको भनाइ छ ।

अस्पतालमा उपचारको आशमा आइपुगेका बिरामीलाई फर्काउने मन नहुँदा नहुँदै पनि बेड तथा उपकरणको अभावमा फर्काउनुपर्ने बाध्यता आइपरेको उनले बताए । कतिपयले भुइँमै बसेर अक्सिजन लिइरहेको जानकारी दिँदै उनले भने, ‘यसरी बिरामीलाई यसरी भुइँमा राख्न नहुने हो तर अन्त कतै बेड खाली भएमा लैजानुस् भनेका छौं, त्यतिन्जेलसम्म अक्सिजनसहित उहाँहरुलाई बस्न दिएका छौं ।’ आफूहरुसँग योबाहेक अरु उपाय नभएको उनको गुनासो छ ।

अहिले हामी निरीह अवस्थामा छौं, युद्धमा गएको सिपाहीसँग बन्दुक छ तर ऊसँग गोली छैन भने कस्तो अवस्था होला ?’ उनले भने, ‘हामी अहिले त्यही अवस्थामा छौं ।’ अक्सिजन अभाव, भेन्टिलेटर अभाव देशकै समस्याका रुपमा रहेको भन्दै उनले अगाडि भने, ‘काठमाडौंमा नभएको भेन्टिलेटर बुटवललाई दिन सक्ने कुरा पनि भएन । इन्डियाको स्थिति देखिरहनु भएकै छ । त्यही भएर अहिलेको विषम परिस्थिति स्वास्थ्यकर्मीको मात्र बसमा छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप