शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना नियन्त्रणमा प्रभावकारी कदम चाल्न काँग्रेसको माग

बिहीबार, २३ वैशाख २०७८, १७ : २९
बिहीबार, २३ वैशाख २०७८

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोभिड–१९ महामारीको दोस्रो लहर तीव्र रुपमा फैलिरहेकाले रोकथाम र नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेको छ ।

काँग्रेस केन्द्रीय संगठन विभागले सरकारले रोकथाम र नियन्त्रणमा आवश्यक कदम चाल्नुको  साटो विद्यमान स्वास्थ्य प्रणालीले कोराना नियन्त्रण गर्न नसक्ने औपचारिक घोषणा गरेको, सत्तामा केन्द्रित रहेको तथा मूल्यवृद्धि र कालोबजारी गर्ने कार्यलाई रोक्न नसकेको आरोप लगाएको छ ।  

भारतसँग सीमा जोडिएका सबै नाकामा स्वास्थ्य कक्ष स्थापना गरी सबैको कोरोनाको परीक्षण गर्न, संक्रमण देखिएकालाई आइसोलेशनमा राखी उचित व्यवस्थापन गर्न र सबै स्थानीय तहसँगको समन्वयमा कन्टयाक ट्रेसिङलाई निरन्तरता दिन विभाग प्रमुख गोपालमान श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

स्थानीय र प्रदेश तहसँगको समन्वयमा सबै स्थानीय तहमा आवश्यक आधारभूत संरचना, अस्पताल शय्या, सघन उपचार कक्ष शय्या, आइसोलेशन केन्द्र, क्वारेन्टिन र  होर्डिङ सेन्टरको व्यवस्थापन, सञ्चालन र अनुगमन गर्न विभागको सुझाव छ । 

साथै केन्द्र र प्रदेशमा रहेका ठूला अस्पताल, मेडिकल कलेजलाई कोभिड–१९ र साना अस्पताललाई ननकोभिड–१९ अस्पतालका रुपमा विकसित गरी आवश्यक उपचार र जीवन रक्षक औषधिको प्रबन्ध गर्न माग गरिएको छ ।

स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन यथाशीघ्र संघ, प्रदेश र स्थानीय तहका समन्वयमा आवश्यक चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई करारमा भर्ना गर्ने प्रक्रिया अगाडि बढाउन श्रेष्ठको आग्रह छ ।


महामारीको कठिन घडीमा अग्रपंक्तिमा रहेर संक्रमितको उपचार र व्यवस्थापनमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, चालक, सफाइकर्मी, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मीलगायत सबैलाई बीमा तथा जोखिम भत्ताको व्यवस्था तत्काल गर्न विभागले माग गरेको छ ।

प्रेस विज्ञप्ति

 नेपाल कम्युनिस्ट पार्टी (एमाले )को नेतृत्वमा रहेको वर्तमान  सरकारको चरम  लापरवाही, गैर जिम्मेवारपूर्ण रवैया र असंवेदनशील कार्यका कारण एकातिर देशको राजनीति अनिश्चित ,अन्योल र संकटग्रस्त  देखिन्छ भने अर्को तिर कोरोना -१९ महामारीको दोश्रो लहर संगै मानवीय जीवनको रक्षा गर्न सरकार असक्षम रहेको छ। कोभिड—१९ को नया स्वरुपमा देखापरेको कोराना भाइरसको विश्वव्यापी असर अब विस्तारै  छिमेकी मुलुक भारत हुँदै नेपालमा पनि द्रुतगतिमा  देखापरिसकेको छ।  कोभिड १९ को पहिलो लहरको तुलनामा  यो नया स्वरूपको कोरोनाको असर सक्रमण र मृत्युदरको आधारमा  अत्यन्त घातक रुपमा फैलिएको देख्न सकिन्छ  ।

पिसीआर परिक्षण गरिएका करिव ४७ प्रतिशतमा कोरोनाको सक्रमण पुष्टि भएको पाइएवाट पनि कोभिड–१९को महामारीको असर व्यापक र सघन  हुने प्रस्ट छ। तर सरकार यस महामारी विरुद्धको लडाइलाई प्रभावकारी बनाउनुको साटो सत्ताको  झिना झपट मै अलमलिएको देखिन्छ।  कोभिड–१९को रोकथाम र नियन्त्रण गर्न आवश्यक  कदम चाल्नुको साटो विधान स्वास्थ्य प्रणालीले कोराना नियन्त्रण गर्न नसक्ने औपचारिक घोषणा गरि  जनतामा ढाडस होइन सन्त्रास फैलाउन  र आफ्नो जिम्मेवारीबाट भाग्ने प्रयास गर्दैछ। 

बढदो  संक्रमण नियन्त्रण गर्न संघ , प्रदेश र स्थानीय तह विच समन्वय गरि आईसोलेसन केन्द्र, क्वारेन्टाइन र होल्डिङ सेन्टरको निर्माण गर्न सरकार असफल भएको छ । दिन प्रती दिन वृद्धि भैरहेका  संक्रमितहरुको उपचारका लागि आवश्यक    अस्पताल वेड,आइसु वेड, भेन्टिलेटर लगायतका स्वास्थ्य पुर्वाधार  , अक्सिजन र अत्यावश्यक स्वास्थ्य सामाग्रीको जोहो गर्न समेत सरकार असफल देखिन्छ। त्यस्तै  कोरोना महामारीको मौका छोपेर वजारमा आवश्यक बस्तुहरुको अभाव सृजना गरि मुल्य बृद्वी र कालोबजारी गर्ने कार्यलाई रोक्न सरकारले आवश्यक पहल कदमी लिन नसकेको देखिन्छ ।

 सरकारले भारतसंग सिमा जोडिएका नाकामा हेल्थ डेस्क स्थापना गरि कोरोनाको एन्टिजेन परिक्षण गर्ने गरेको दावी गरे पनि नेपाल प्रवेश गर्नेहरुमध्ये  शंकास्पद व्यक्तिको मात्र एन्टिजेन परिक्षण गर्ने  , होडीङ्ग सेन्टरमा राख्दै नराखी सम्बन्धित ठाउँ पुर्याउने कार्यबाट देश को कुना -कुना कोरानाको संक्रमण फैलिएको रहेको छ भने सबै स्थानीय तहसङ्गको समन्वयमा कन्ट्रयाक ट्रेसिङ्ग गर्ने काम पनि यसपटक ठप्प देखिन्छ।

 अघिल्लो वर्ष २०७६ सालको पुस महिनामा नै शुरू भएको कोरोना महामारीले व्यापक रूपमा जनधनमा पुर्याएको क्षति र मुलुकको अर्थतन्त्रमा पारेको नकारात्मक असरलाई यो सरकार नजरअन्दाज गरेको , पार्टीको आन्तरिक द्वन्द्वलाई मात्र महत्व दिएर  विभिन्न स्थानहरूमा आमसभा, भेला गर्ने , शिलान्यास र उद्घाटन को नाममा प्रधानमन्त्री आफै भिड जम्मा गर्न उद्धत रहेको कारण पनि कोराना संक्रमण वढाउन सरकार आफै जिम्मेवार रहेको देखिन्छ । 

 सरकारको यो गैर जिम्मेवारपूर्ण रवैया ,चरम लापरबाही र स्वास्थ्य असंवेदनशीलताको भर्त्सना गर्दै स्थानीय तह र प्रदेश सङ्गको समन्वय मा सबै स्थानीय तहमा आवश्यक आधारभूत संरचना, अस्पताल वेड, आइसीयु वेड, आइसोलेसन केन्द्र, क्वारेन्टाइन र  होडिङ्ग सेन्टरको व्यवस्थापन ,संचालन र अनुगमन गर्नका साथै केन्द्र र प्रदेशमा रहेका ठुला अस्पताल , मेडिकल कलेजलाई कोभिड र साना अस्पताललाई ननकोभिड अस्पतालको रुपमा विकसित गरि आवश्यक  वेड, आइसियु वेड र भेन्टीलेटरको संख्या वृद्धि गर्न, अक्सिजन प्लान्टको स्थापना गर्न र कोभिडको उपचारमा प्रयोग हुने एन्टीभाइरल औषधी तथा अन्य जीवन रक्षक औषधीको यथोचित प्रबन्ध गर्न नेपाल सरकार समक्ष माग गर्दछ। साथै स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन यथाशीघ्र संघ ,प्रदेश र स्थानीय तहको समन्वयमा आवश्यक चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई करारमा भर्ना गर्ने प्रक्रिया अगाडि वढाउन आग्रह गर्दछ।

यस महामारीको कठिन घडीमा अग्रपंक्तिमा रहेर संक्रमितहरुको उपचार र व्यवस्थापनमा कार्यरत चिकित्सक , स्वास्थ्यकर्मी, चालक, सफाईकर्मी सहित सबै तह र तप्काका  राष्ट्र सेवक कर्मचारी ,सुरक्षाकर्मीहरुको विमा तथा जोखिम भत्ताको व्यवस्था  तत्काल गर्न जोडदार माग गर्दछ।

त्यसैगरि सिमा नाकावाट स्वदेश भित्रिरहेका नागरिकहरुलाई अनिवार्य पिसिआर परिक्षण गर्ने, परिक्षणको नतिजा नआउन्जेल होडिङ्ग सेन्टरमा राख्ने व्यवस्था गर्न र संक्रमण देखिएका व्यक्तिहरुलाई स्थानीय तहको समन्वयमा आईसोलेसन केन्द्रमा राख्ने व्यवस्था गर्नका साथ सवै तहमा नेपाल वाहिरवाट आउने व्यक्तिहरुको अभिलेख अध्यावधिक राख्न, संक्रमितहरुको पहिचान र कन्ट्राक्ट ट्रेसिङ्ग कार्यलाई प्रभावकारीरुपमा कार्यान्वयनमा ल्याउन संबन्धित सबै निकायलाई आग्रह गर्दछ।

अन्त्यमा ,कोभिड १९ महामारीका नियन्त्रण गर्न लगाइएको लकडाउनको कारण सम्पुर्ण व्यापार ,व्यवसाय बन्दको अवस्थामा छन्। लकडाउनका कारण रोजगार गुमाएको आम नागरिक , श्रमिक र साना व्यवसायीहरुले भोग्नुपरेको पीडालाई मध्यनजर गर्दै आवश्यक राहतको प्याकेज यथाशीघ्र  ल्याउन माग गर्दै संकटको यस वेला कोभिड १९ महामारी विरुद्ध एकवद्ध भै लड्न नेपाली कांग्रेसका सबै तह र तप्काका साथीहरुलाई संक्रमितहरुको पहिचान , उपचार र व्यवस्थापनमा खटिन हार्दिक आव्हान गर्दछु।

साथै स्वास्थ्य पुर्वाधार र स्वास्थ्य सामग्रीको अभावमा भोग्नुपरेको कठिनाइलाई ख्याल गर्दै सबै प्रकारका सार्वजनिक र सामुदायिक स्थल,सभाहल,रंगशालालाई क्वारेन्टाइन ,आइसोलेसन केन्द्र र होडिङ्ग सेन्टरको रुपमा उपयोग गर्ने कार्यमा अगुवाइ गर्न तथा आवश्यकता अनुसार  पार्टीकै संरचनालाई समेत सो कार्यको प्रयोजनका लागी उपयोग गर्न आवश्यक पहलकदमी गर्न समेत आग्रह गर्दछु। 

 जय नेपाल!
गोपालमान श्रेष्ठ 
प्रमुख 
संगठन विभाग , नेपाली कांग्रेस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप