शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश १ मा रगतको अभाव, बिरामीलाई रगत जुटाउन सकस

रक्तसंचार केन्द्र भन्छ, महामारीले रक्तदान कार्यक्रम भएन, स्टक शून्यमा झर्‍यो
बिहीबार, २३ वैशाख २०७८, १५ : २४
बिहीबार, २३ वैशाख २०७८

सुनसरीको प्रकाशपुरका अशोक कार्कीलाई श्रीमतीको प्रसूतिका लागि डाक्टरले बुधबार रगतको जोहो गर्ने भनेका छन् । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसूति विभागमा भर्ना गरिएकी २६ वर्षीय श्रीमतीको बिहीबार साँझ अप्रेशनको समय छ। तर बिहीबार अपरान्हसम्म उनले श्रीमतीको लागि आवश्यक रगत दुई प्रिन्ट जुटाउन सकेका छैनन् ।

अस्पतालमा सञ्चालित रक्तसंचार केन्द्रमा रगत छैन अशोकले भने, ‘गाँउका साथी भाइलाई भनेर आवश्यक रगतको जोहोमा अहिले जुटाउने प्रयासमा छु । संकटको समयमा रगत पाउन अहिलेको निकै कठिन भएको उनले पीडा सुनाए ।

कोभिडको महामारीको समय भएकाले रगत दिन चाहने रक्तदातापनि यो समयमा अस्पतालसम्म आउन  डराउने गरेकाले थप समस्या भएको उनले बताए । उनीजस्तै मोरङ लेटाङका रमेश लिम्बुको समस्या पनि उस्तै छ। बुबाको खुट्टाको अप्रेशन गर्नु पर्ने भएकाले विराटनगरको कोशी अस्पतालको हाडजोर्नी विभागमा भर्ना उनले बुबालाई भर्ना गरेका छन् ।

६३ बर्षिय बुबाका भोलि शुक्रबार अप्रेशनको तयारी छ, रमेशले बिलौना कस्दै भने,‘अप्रेशनको तयारीका लागि दुई पाउण्ड रगतको जोहो गर्न डाक्टरले भन्नु भएको छ। तर अहिलेसम्म आवश्यक रगतको जोहो गर्न सकेको छैन्।

अहिले प्रदेश १ का ठूला अस्पतालमा भर्ना गरिएका बिरामीका लागि जोहो गर्नुपर्ने रगतको व्यवस्थापनका लागि अशोक र रमेशको जस्तै धेरैले यस्तै समस्या ब्यर्होन बाध्य छन् । पूर्वी पहाडी जिल्लासमेतबाट विराटनगर धरान लगायतका अस्पतालमा बिरामी लिएका आएकाहरुमा अझ समस्या छ ।

कोरोना महामारी नियन्त्रणका लागि भन्दै स्थानीय प्रशासनले झापा, मोरङ र सुनसरीमा निषेधाज्ञा जारी गरेको छ । यस्तो सयममा रक्तदान क्याम्प आयोजना हुन नसकेकाले  रक्तसञ्चार सेवा लगायत धेरैजसो रक्तसञ्चार केन्द्रहरूमा अत्यन्तै न्यून सँख्यामा रगत स्टक रहेको छ ।

वीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानभित्र रहेको  रक्तसञ्चार केन्द्रका इन्चार्ज सुवास सिंहले निषेधाज्ञा जारी भएकाले बुक गरिएका क्याम्पहरू सबै स्थगित भएको बताए ।

अस्पतालमा रहेका बिरामीका लागि अत्याधिक रगतको माग भएपनि केन्द्रमा संचित रगत न्यून रहेकाले बिरामीको आफन्तलाई खाली हाल फर्काउन आफूहरु बाध्य भएको उनले बताए ।

उनले अहिले विभिन्न समूहको १ सय जति मात्र संचित रगत भएकोमा दैनिक ४० देखि ५० पाउण्ड रगतको माग आउने भएकाले आपतकालिन समयको लागि राखिएको रगत दिन नमिल्ने भएकाले बिरामीको आफन्तलाई फर्काउनु परेको बताए ।

सिंहका अनुसार अहिले आपतकालिन अबस्था बाहेका बिरामीको लागि उनीहरुको आफन्तबाट प्राप्त रगत केन्द्रले राखेर उनीहरुलाई आवश्यक ग्रुपको रगत उपलब्ध गराउन थालिएको छ ।

 उनले रगतको माग उच्च रहेपनि आपूति अत्यन्तै कमी रहेकाले बिभिन्न संघ संस्थालाई रक्तदान कार्यक्रमको आयोजना गरी सहयोग गरी दिनपनि आव्हान समेत गरेका छन् ।

विराटनगरस्थित रक्त संचार केन्द्रका प्राविधिक इन्चार्ज शिवनन्द यादवले रक्त संचार केन्द्रमा रगतको अभाव हुँदा निकै समस्या बेहोर्नु परेको बताए ।

उनले केन्द्रमा आपतकालीन अवस्थाका लागि विभिन्न ब्लड ग्रुपको ३० पाउण्ड रगत संचित भएपनि सोही संख्यामा दैनिक रहगको माग हुँदा आपूतिमा निकै समस्या हुने गरेको बताए ।

उनले रगतको अभाव रहेपनि अहिलेसम्म अरगतको अभावमा अप्रिय घटना भने नभएको बताए । तर समस्या भने निकै झेल्नु परेको अनुभव सुनाए ।

विशेषगरी दुर्घटनामा पर्ने, रक्तश्राव भएका, प्रसूति, मुटु, क्यान्सर तथा मिर्गौला बिरामी, थालसेमिया, हेमोफिलिया, आकस्मिक अपरेशन गर्नुपर्ने बिरामीहरूका आफन्त  रक्तसञ्चार केन्द्रमा आइरहेका तर पर्याप्त रगत आपूर्ति गर्न नसकिएको प्राविधिक इन्चार्ज यादवले जानकारी दिए।

केही महिना अघिसम्म पर्याप्त रक्तसंकलन गरेपनि विगत तीन साता यतादेखि कुनै क्याम्प आयोजना नभएकोले त्यहाँपनि अहिले रगतको स्टक समस्यामा परेको उनले बताए।

रगतको माग भइरहेकोले रक्तदाता, संघसंस्था र रेडक्रसका निकायहरूले सानो समूहमा भएपनि स्थानीय पालिका र प्रशासनको सहयोगमा रक्तदानको कार्यक्रम आयोजना गर्न गराउन सके रगत आपूर्ति सहज हुने  प्राविधिक इन्चार्ज यादवले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप