बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

प्राधिकरणद्वारा खरिपाटी तालिम केन्द्रमा आइसोलेसन केन्द्र बनाउन प्रस्ताव

बिहीबार, २३ वैशाख २०७८, १५ : ०९
बिहीबार, २३ वैशाख २०७८

 नेपाल विद्युत प्राधिकरणले भक्तपुरको खरिपाटीस्थित तालिम केन्द्रमा कोभिड–१९बाट संक्रमितहरुको उपचारका लागि आइसोलेसन केन्द्र निर्माणका लागि सरकार समक्ष प्रस्ताव गरेको छ ।

सरकारले गत वर्ष कोरोना भाइरसको संक्रमण फैलिएको चीनको हुबेई प्रान्तबाट नेपालीहरुलाई स्वदेश फर्काएर प्राधिकरणको खरिपाटीस्थित तालिम केन्द्रलाई क्वारेन्टाइन बनाएर १४ दिनसम्म त्यहाँ राखेको थियो ।
तालिम केन्द्रको पूर्वाधारलाई मुलुकलाई आवश्यक परेको बेला प्रयोग गर्ने सकिने भएकाले आइसोलेसन सेन्टर निर्माणका लागि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमार्फत सरकारसमक्ष प्रस्ताव गरिएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले बताए । 

शाक्यकाअनुसार, प्राधिकरणका कर्मचारी संक्रमित भएमा उनीहरुलाई राख्नका लागि प्राथमिकता दिंदै कोभिड–१९ संकट व्यवस्थापन संचालन केन्द्रले तोकेको निकायलाई तालिम केन्द्रको पूर्वाधार आइसोलेसनको रुपमा प्रयोग गर्न प्रस्ताव गरिएको हो ।

‘तालिम केन्द्र परिसरभित्रका भवनहरुमा रहेका ६६ वटा कोठामा १ सय ३३ वटा बेडहरु राख्न सकिन्छ,गत वर्ष राखिएका बेड पनि त्यहाँ छन्, त्यसमा थप ५० बेड राखी आवश्यक डस्ना, तन्नाजस्ता सामग्रीको जोहो गरे पुग्छ’, उनले भने ‘तालिम केन्द्रमा सिसिटिभी पनि जडान गरिएको छ, बिरामीलाई अक्सिजन आवश्यक परेमा कोठाहरुमा सिलिण्डरसमेत राख्न सकिन्छ, आपत्कालीन विद्युत् आपूर्तिका लागि डिजेल जेनेरेटर चालू अवस्थामा छ ।’
तालिम केन्द्रमा रहेको भवन नं १मा २६ कोठा छन् त्यहाँ २४ वटा वेड राख्न सकिन्छ । भवन नं २मा २६ कोठा छन्,त्यहाँ ७८ वटा वेड राख्न सकिन्छ । स्टाफ क्वाटर भवनमा  ११ कोठा छन् त्यहाँ २८ वटा बेड राख्न सकिन्छ । यसैगरी, क्वाटर भवनका ३ कोठामा ३ वटा वेड राख्न सकिन्छ ।  

नेपाल विद्युत प्राधिकरणले अक्सिजन उत्पादन गर्ने उद्योगहरुलाई निरन्तर विद्युत् आपूर्तिको व्यवस्था गरेको छ । कार्यकारी निर्देशक शाक्यले वत्ति गएमा तत्कालै प्राधिकरणको जनसम्पर्क अधिकृत वा नजिकको शाखामा जानकारी गराउन सबै अक्सिजन उद्योगहरुलाई खबर गरिएको बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप