बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

खनाल–नेपाल पक्षको रणनीति : अन्तिम उपाय सामूहिक राजीनामा !

बिहीबार, २३ वैशाख २०७८, १४ : ५७
बिहीबार, २३ वैशाख २०७८

काठमाडौं । औपचारिक विभाजनको संघारमा पुगेको नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने समय नजिकिँदै गर्दा एमालेभित्रको दुई खेमा आ–आफ्नो रणनीति बनाउन व्यस्त छ ।

प्रधानमन्त्री ओलीले औपचारिकरुपमा दलहरूसँग विश्वासको मत माग्नेदेखि आन्तरिकरुपमा विश्वासको मत नपाए के गर्ने भन्ने रणनीति बनाइरहेका छन् । उता ओलीसँग असन्तुष्ट रहेको खनाल नेपाल समूह ओलीलाई विश्वासको मत दिने/नदिने अन्तिम निष्कर्षमा पुग्न सकेको छैन । यद्यपि सो समूहले पनि आन्तरिक छलफल तीव्र बनाएको छ ।

अर्कोतिर वैशाख २७ पार्टी विभाजनका लागि औपचारिक दिन हुन सक्ने भन्दै एमालेलाई विभाजनबाट रोक्न दुवै पक्षका केही नेताहरुले  मध्यमार्गी प्रयाससमेत जारी राखेका छन् ।

विभाजन रोक्न ओली पक्षका नेताहरु विष्णु पौडेल, सुवास नेम्वाङ र खनाल–नेपाल पक्षका सुरेन्द्र पाण्डे, योगेश भट्टराई घनश्याम भुसाल लगायतले सुरुदेखि नै पहल गर्दै आएका थिए ।

पौडेल, नेम्वाङ, भट्टराई, र भुसालहरुले पछिल्लो समय पनि विभिन्न माध्यमबाट पार्टी विभाजन रोक्न वार्ता र छलफललाई जारी राखे पनि प्रयास सफल हुन सकेको छैन ।

बुधबारमात्र माधव पक्षका युवा नेता भट्टराई र अर्का गणेश पहाडीसँग ओली पक्षका नेता तथा एमाले महासचिव समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले यसबारेमा छलफल गरेका छन् ।

उनीहरुबीच पार्टी विभाजन रोक्ने अन्तिम उपायका बारेमा छलफल भएको बुझिएको छ ।

उक्त छलफलमा पोखरेलले पार्टी विभाजन रोक्ने अन्तिम उपाय के हुनसक्छ ? भनेर सोधेका थिए । जवाफमा भट्टराईले फागुन २३ पछि ओलीले गरेका सबै निर्णय खारेज गर्नुपर्ने बटमलाइन नै अन्तिम भएको जवाफ दिएका थिए । भट्टराईको भनाइप्रति पोखरेल कुनै जवाफ नदिई पछि कुरा गराैँला भन्दै बूढानीलकण्ठ जानुपर्ने भयो भन्दै हिँडेका थिए ।

‘ईश्वर कमरेडसँग हिजो थोरै कुराकानी भयो, हामीले हाम्रातर्फबाट आफ्ना कुराहरु राख्यौं, तर उहाँलाई त्यसबेला नै बूढानीलकण्ठ जानुपर्ने भनेर खबर आयो र हिँड्नुभयो’, पोखरेलसँगको छलफलमा सहभागी पहाडीले भने, ‘फेरि कुरा गर्ने भने पनि कहिले, कसरी भन्ने निश्चित छैन ।’

अध्यक्ष ओली फागुन २३ पछिका आफूले गरेका निर्णय सच्याउन तयार छैनन् भन्ने उनका बारम्बारका अभिव्यक्तिबाटै पनि बुझ्न सकिन्छ । त्यतिमात्रै होइन, ओली र माधवकुमार नेपालबीच होटल मेरियटमा तीन साताअघि भएको छलफलमा पनि ओली माधव पक्षको मागमा सहमत हुन तयार भएका थिएनन् ।

यसरी हेर्दा ओली र झलनाथ खनाल–नेपाल समूह एकले अर्कालाई गलाउने, नभए पार्टी नै फुटाउने अन्तिम रणनीतिमा लागेको दुवै पक्षका नेताहरुले विश्लेषण गर्दै आएका छन् ।

सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपाको एकतालाई मान्यता नदिएपछि एमाले र माओवादी केन्द्र २०७५ जेठ २ गतेको अवस्थामा फर्किएका थिए । तर, सर्वोच्चको फैसलापछि फागुन २८ गते आफुपक्षीय बैठक राखेर अध्यक्ष ओलीले विधान परिवर्तन गर्नेदेखि खनाल नेपाल समूहका नेताहरुलाई जिम्मेवारीबाट हटाएर फरक पार्टीबाट आएकालाई जिम्मेवारी दिने निर्णय गरेका थिए ।

त्यसपछि पनि ओलीले खनाल नेपाल समूहका नेताहरुलाई स्पष्टीकरण सोध्ने र कारवाही गर्ने क्रम जारी राख्यो भने खनाल नेपाल समूहले देशैभर समानान्तर गतिविधि अघि बढायो । खनाल नेपाल समूहका गतिविधिबाट थप चिढिएका ओलीले गुटसँग कुनै छलफल नगर्ने भन्दै व्यक्ति विशेषलाई फकाउने रणनीतिलाई कायमै राखेका छन् ।

यही विवादका वीच प्रधानमन्त्री ओलीले आगामी बैशाख २७ गते संसदबाट विश्वासको मत लिँदैछन् । ओलीलाई काँग्रेस र नेकपा माओवादीले विश्वासको मत नदिने प्रष्ट पारिसके पनि ओलीले खनाल नेपालसँग कुनै छलफल गरेका छैनन् ।

जनता समाजवादी पार्टी (जसपा) लाई फकाएर विश्वासको मत लिने ओलीको चाहना पनि पूरा हुने सम्भावना देखिइसकेको छैन । किनभने, जसपाभित्रै ओलीको विपक्षमा उभिनुपर्ने धार क्रियाशील छ, जसको नेतृत्व डा. बाबुराम  भट्टराई र उपेन्द्र यादवले गरेका छन् । ओलीको पक्षमा रहेका महन्त ठाकुर र राजेन्द्र महतोबीच पनि फाटो आइसकेको छ । यसले गर्दा हस्ताक्षर अभियान नै रोकिन पुगेको समाचार आइरहेको छ ।

संसदमा १२१ संख्या रहेको खनाल–नेपाल पक्षसँग ३७ सांसद रहेको नेपाल पक्षको दावी छ । तीमध्ये २१ जना प्रत्यक्ष निर्वाचित छन् । यो संख्या मतदानका बेला महत्वपूर्ण हुने देखिन्छ । जसपाका आधा सांसदले ओलीलाई साथ दिए पनि माधव पक्षका सांसदहरुले फ्लोर क्रस गर्न सक्ने सम्भावना बुझेका ओलीले आफूले विश्वासको मत नपाए नयाँ सरकार गठन गर्नसमेत नहुने बहानामा पुनः संसद विघटन गर्ने तयारी गरिरहेको आशंका भइरहेको छ ।

बैशाख २७ नजिकिँदै जाँदा एमालेभित्रको खनाल–नेपाल समुहले फ्लोर क्रस गर्ला, सामुहिक राजीनामा देला या ओलीलाई विनाशर्त मत देला भन्ने चासो बढ्दै गएको छ । यो चासोका बीच कसरी अघि बढ्ने भन्नेमा सो समूहले छलफल तीव्र पारेको छ ।

आन्तरिकरुपमा भएको छलफलमा खासगरी दुई विषयमा विश्लेषण भएको सहभागी नेताहरुको भनाइ छ । ती नेताका अनुसार ओली अन्तिम समयसम्म पनि फागुन २८ का निर्णय सच्याउन तयार भएनन् र उनलाई मत नदिने बरु फ्लोर क्रस गर्ने वा त्योभन्दा अघि नै आफ्नो समूहका सबै सांसदले राजीनामा गर्ने भन्नेमा छलफल अघि बढेको छ । यद्यपि त्यसबारे निर्णय भने भैनसकेको सो पक्षको भनाइ छ ।

‘ओलीले विश्वासको मत लिने घोषणा गरेपछि हामीले खासगरी दुईवटा विषयमा छलफल गरेका छौं । त्यो भनेको मतदानमा फ्लोर क्रस गर्ने कि राजीनामा दिने भन्ने नै हो’, माधव पक्षका एक नेताले रातोपाटीसँग भने, ‘फ्लोर क्रस गर्दा राम्रो सन्देश जाँदैन भनेर बरु सामुहिक राजीनामा नै ठीक भन्ने मत बलियो छ ।’

प्रधानमन्त्री ओलीले आफूहरुलाई विश्वासको मतमा प्रयोग गर्ने र त्यसपछि पार्टीबाट निष्कासन गर्ने रणनीति रहेकाले त्यो निष्कर्षमा पुग्नुपरेको खनाल नेपाल पक्षको बुझाइ छ । तर पनि सो समुहले अन्तिमसम्म एकताको प्रयास गर्ने जनाएको छ ।

‘हामी अन्तिमसम्म प्रयास जारी राख्छांै । यदि हुँदै भएन भने २७ गते मतदान हुनु केही घण्टाअघि सामुहिक राजीनामा गर्नु हाम्रो बाध्यता हुन्छ’, नेपाल समूहका अर्का नेता भन्छन्, ‘त्यसपछि राजनीतिक कोर्स अर्कै ढंगले अघि बढ्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप