शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बेनीमा निषेधाज्ञा जारी

बिहीबार, २३ वैशाख २०७८, १३ : ४१
बिहीबार, २३ वैशाख २०७८

बेनी । दोस्रो लहरको कोरोना सङ्क्रमण नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय म्याग्दीले बेनी नगरपालिका क्षेत्रमा आजदेखि निषेधाज्ञा गरेको छ । बेनी नगरपालिका र जिल्ला कोभिड नियन्त्रण सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसको आधारमा वैशाख २२ गते राति १२ बजेदेखि ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लागू गरेको हो । 

प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बेनी नगरपालिका क्षेत्रमा नौ दिन निषेधाज्ञा जारी गरेर अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको बताए । चिकित्सक, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, राजनीतिकर्मी र सङ्घसंस्थाका प्रतिनिधिले कोरोना रोकथामका लागि निषेधाज्ञा गर्न सिफारिस गरेका थिए । म्याग्दीमा हाल १०२ सक्रिय सङ्क्रमित छन् । २३ सङ्क्रमित उपचारपछि निको भएका स्वास्थ्य कार्यालयले जनाएको छ ।

वैशाख १९ गते सङ्कलन गरिएको ४२ वटा स्वाबको नमूना परीक्षण गर्दा मङ्गलबार २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बेनी नगरपालिकाको वडा नं ४ मा पर्ने सिङ्गा तातोपानी बजार पछिल्लो समय कोरोनाको हटस्पट बनेको छ । सदरमुकाम बेनीका साथै ग्रामीण क्षेत्रमा पनि तीव्ररूपमा कोरोनाको सङ्क्रमण फैलिएको छ । 

निषेधाज्ञामा औषधि उपचार, आफ्नै खेतबारीमा कृषिजन्य कार्य गर्ने, तोकिएको समयमा खाद्यवस्तु खरिद गर्नेजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्कन र हिँडडुल गर्न पाउने छैनन् । 

अस्पताल, औषधालय, औषधि एवं स्वास्थ्य सामग्रीका पसल २४ सै घण्टा खुल्नेछन् । तरकारी, फलफूल, डेरी जन्य उत्पादन, ग्यासलगायतका अत्यावश्यक सेवाका पसल स्वास्थ्य सुरक्षाका मापदण्डहरूको पूर्ण पालना गरी बिहान ७ देखि १० बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ । 

यसैगरी म्याग्दीको धवलागिरि गाउँपालिका, वडा र सेवा केन्द्रका कार्यालय अनिश्चितकालका लागि बन्द भएको छ । समुदायस्तरमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि गाउँपालिका, सातवटै वडा र विषयगत सेवा कार्यालयको अति आवश्यकबाहेकका सेवा बन्द गरिएको अध्यक्ष थमसरा पुनद्वारा बुधबार जारी भएको विज्ञप्तिमा उल्लेख छ । 

धवलागिरिको ताकम र लुलाङ कोरोनाको हटस्पट बनेको अध्यक्ष थमसरा पुनले बताइन् । हाल ६ जना सङ्क्रमित गाउँमै होम आइसोलेशनमा छन् । तीन सङ्क्रमित बेनीमा छन् । बुधबार ताकममा एन्टिजेन परीक्षण गर्दा चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

गाउँपालिकाले बैशाख १४ गतेदेखि नै विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन बन्द गराएको छ । मेला, जात्रा, पूजापाठ र भीडभाड जन्य क्रियाकलाप बन्द गरिएको छ । स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गरी कोरोना नियन्त्रणमा सहयोग गर्न अध्यक्ष पुनले पालिकावासीलाई अपिल गर्नुभएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप