शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

होम आइसोलेशनमा बस्ने संक्रमितले यस्ता आयुर्वेदिक औषधि सेवन गरौँ

बिहीबार, २३ वैशाख २०७८, १२ : १०
बिहीबार, २३ वैशाख २०७८


काठमाडौं । नेपालमा कोरोनाभाइरस (कोभिड—१९) का सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ छ । जसमध्ये धेरैजसो होम आइसोलेशनमा छन् । कोरोनाभाइरस संक्रमित बिरामीका लागि औषधिको विकास भइसकेको छैन । होम आइसोलेशनमा बस्नेहरु कोठामा सीमित हुँदा कसरी कोरोना मुक्त हुने भन्ने चिन्ताले धेरैजसोलाई सताइरहेको हुन्छ ।

कोरोनाभाइरस विरुद्धको खोप बने पनि सबैको पहुँचमा पुगेको छैन । तसर्थ संक्रमितले लक्षण अनुसारको औषधि सेवन गर्दै आइरहेका छन् । होम आइसोलेशन वा आइसोलेसन वार्डमा बस्ने संक्रमितले घरकै भान्सामा पाइने आयुर्वेदिक जडीबुटी सेवन गरेमा रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिने आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. बासुदेव उपाध्याय बताउँछन् ।

कतिपय व्यक्तिले आयुर्वेदिक औषधिले नै कोरोना निको पर्न सक्ने भनेर भ्रमसमेत फैलाएको उनी बताउँछन् । यद्यपि, होम आइसोलेशनमा बसेका संक्रमितले भान्सामा पाइने विभिन्न किसिमका जडीबुटीलाई मिलाएर सेवन गरेको खण्डमा रोग प्रतिरोधात्मक क्षमता भने बढाउन सक्ने डा.उपाध्यायको भनाइ छ ।

रोग प्रतिरोधात्मक क्षमता शरीरमा विकास भएपछि हत्तपत्त शरीरमा भाइरसहरूले आक्रमण गर्न सक्दैनन् । कोरोना महामारीको बेलामा जनस्वास्थ्यका मापदण्ड अपनाउँदै होम आइसोलेशनमा बसेका संक्रमितमा रोग प्रतिरोधात्मक क्षमता क्रमशः विकास गर्न सकिने उनको भनाइ छ ।

आयुर्वेद भन्ने बित्तिकै धेरै मानिसले आयुर्वेद औषधिलाई बुझ्छन् । तर, आयुर्वेदको ८० प्रतिशत भाग स्वस्थ जीवनशैली हो । आयुर्वेदको अर्थ पनि जीवन विज्ञान हो ।  महानिर्देशक डा. उपाध्यायका अनुसार एकान्तवास वा आइसोलेशनमा बस्नेहरुले यस्तो जीवनशैली अपनाएका कोरोना संक्रमण मुक्त हुनबाट सहयोग गर्ने छ–

— मनलाई शान्त बताउनु पर्छ । मन शान्त बनाउनका लागि बिहान उठ्ने बित्तिकै प्रणायाम गरौं । लामो सास लिने, जतिसक्दो रोक्ने, त्यसपछि सास फाल्ने क्रम कम्तीमा १५ मिनेट गर्नुपर्छ ।

— कोरोना पोजेटिभ भएकाहरुले दुई घण्टाको अन्तरमा ५ देखि १० मिनेट प्राणायाम गर्नुपर्छ । शरीरमा अक्सिजनको मात्रामा बढाउन पनि प्राणायाम अभ्यासले सहयोग गर्छ । कोभिड मुक्त भएर आइसियू, भेन्टिलेटरबाट निस्किएकाहरुले पनि यो गर्दा राम्रो हुन्छ ।

 — प्राणायाम गर्दा म कोरोना मुक्त हुँदैछु÷ठिक हुँदैछ । मेरो छाती एकदम ठिक छ भन्दै आफैलाई मोटिभेट गर्ने ।

— १ लिटर पानीमा ३÷४ वटा पुदिना र तुलसीको पात र ३ देखि ५ ग्राम बेसार हालेर उमालेर त्यसको बाफ ५ देखि १० मिनेटसम्म दिनको एक वा दुई पटकसम्म लिने ।

— झोल कुरा प्रशस्त खाने, दुई लिटरमा पानीमा आधा ग्राम पिपला राख्ने, सुठो, अदुवा, तुलसीका पाँच वटा पातलाई थिचेर पानीमा उमालेपछि पिउने ।

— मनतातो पानीमा नून हालेर दिनको ४ देखि ६ पटकसम्म कुल्ला गर्ने ।

— सुख्खा खोकी वा घाँटी खसखस भएको खण्डमा १ ग्राम ल्वाङ्गको धूलोलाई मह वा मिश्रीसँग मिसाएर २ देखि ३ पटक सेवन गर्ने ।

— मुगको दाल बनाएर प्रशस्त मात्रामा सेवन गर्ने । दाल, भात, तरकारी खाने तर, भातभन्दा बढी  गहुँको रोटीलाई खानामा समावेस गर्ने ।

— अहिलेको अवस्थामा कुनै पनि फलफुल प्रशस्तमात्रामा खाने, भिटाभिन सी  प्राप्त गर्नका लागि अमला सेवन गर्ने, कागती निचोरेर पानी राखेर नियमित रुपमा पिउने ।

— चित्रक हरितकी १ चम्चा (३ देखि ६) ग्राम बिहान बेलुका मनतातो पानी वा मनतातो दूधसँग सेवन गर्र्ने ।

— यष्टीमुध चूर्ण १ चम्चा (२ दुई देखि ४) ग्राम मनतातो पानीसँग दिनको दुई पटक सेवन गर्ने ।

— महासुदर्शन चूर्ण (३ देखि ६) ग्राम वा काढा पकाएर ४० एमएल बिहान बेलुका, बिशेष गरेर ज्वरो आएकोमा पिउने ।

जथाभावी आयुर्वेदिक औषधि सेवन गर्दा स्वास्थ्यमा जटिल समस्या पनि हुन सक्छ । धेरै मानिसलाई आयुर्वेदिक औषधि जति सेवन गरे पनि समस्या हुँदैन भन्ने एक किसिमको भ्रम छ । काठको औषधि बाहेक रस औषधिको जथाभावी सेवन गर्दा मिर्गौला, मुटु, कलेजो लगायतका अंगहरुलाई नोक्सान पु¥याउन सक्ने भएकाले विषेशज्ञको सल्लाह बेगर त्यस्ता औषधि सेवन गर्नु हुँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप