केन्द्रीय संस्करण
प्रेरक प्रसंग

बालक पिप्पलाद : बदलाको भावना छाडी जब कठोर तपस्यामा लागे

person explore access_timeबैशाख २३, २०७८ chat_bubble_outline0

‘वनदेवता ! एउटा कुरा सोधौँ है ?’ एक दिन साँझ वालक पिप्पलादले पीपल वृक्षसित भने ।

‘भनन बाबु ! सोध्न पनि अनुमति चाहिन्छ र ? सन्तान जत्तिकै प्रिय छौ, आफूलाई लागेको ढुक्क भन्न सक्छौ ।’ पीपल वृक्षले स्नेह जताए ।

‘न को हुँ भन्ने थाहा थाहा छ, न किन यहाँ बसेको हुँ भन्ने नै । होस समालेदेखि तपाईँको साथमा छु । तपाईँकै काखपोल्टामा हुर्कँदै आएको छु । मेरा बाबाआमा को हुन्, कहाँ छन्, मलाई छाडेर किन गएका हुन्, कहिले आउँछन् केही जान्दिन । थाहा छ भने बताई दिनुभए ज्यादै गुन मान्ने थिएँ ।’ पिप्पलादले सविनय अनुरोध गरे ।

‘हजारौँ वर्षदेखि यहीँ खडा छु । तिम्रा बाबाआमालाई देखेको मात्र होइन राम्रैसँग चिनेको पनि छु । ऊ त्यो (नजिकै देखाउँदै) नदी किनारको आश्रममा बस्थे । उपकारी थिए, ज्ञानी थिए, गुणी थिए । सकेसम्म सहयोग गर्ने, नसके पनि असहयोग चाहिँ नगर्ने बाजे, बराजुको गुण उनमा भरपूर थियो ।’ पीपलले विगत सम्झाए ।

‘आश्रयदाता ! कुरा सुन्दा खुसी र आश्चर्य दुुवै लाग्यो । खुसी यस अर्थमा कि मेरा बाबाआमालाई देख्नुभएको रहेछ, आश्चर्य यस अर्थमा कि हजारौँ वर्षदेखि जीवित हुनुहुँदो रहेछ । यस्तो कसरी सम्भव हुन्छ ? हजारौँ वर्ष बाँच्न हामी पनि सक्छौँ कि तपाईँहरू मात्रै ? पहिले यसैलाई प्रष्ट पार्न आग्रह गर्छु ।’ पिप्पलादले थप जिज्ञासा पोखे ।  

‘मानिसहरू त्यति लामो बाँच्न सक्दैनन् । उनीहरूको अधिकतम आयृ भनेकै सय वर्ष हो । ठूलै भाग्यले साथ दिए मात्र त्योभन्दा बढी बाँच्न सक्छन् तर हामी चाहिँ कसैले अल्पायुमै हत्या गरेनन् भने हजारौँ वर्षसम्म बाँच्न सक्छौँ । तिमीलाई लागेको होला यस्तो यस्तो किन भन्ने । त्यसो हो भने सुन त्यसको पनि कारण बताइदिन्छु । हामी कसैलार्ई केही भन्दैनौँ । न गाली गर्छौ, न घृणा तिरस्कार नै । रिस, राग पनि छैन, घमण्ड र अहङ्कार पनि छैन । घाम, पानी, सर्दी, गर्मी सबै सहन्छौँ, सकेको सहयोग गर्छौँ । कसैसँग केही आशा पनि गर्दैनौँ, माग्दा पनि माग्दैनौँ । आफैमाथि झटारो हान्नेलाई समेत मीठो फल दिएर पठाउने गर्छौँ ।

कोही घाउ लगाउँछन्, कोही हाँगा छिमल्छन्, कोही त फेदमै बञ्चरो लगाउन पनि बेर लगाउन्नन् । तैपनि एक शब्द बोल्दैनौँ, उल्टै सबैलाई छाहारी दिएर शीतलता प्रदान गर्ने प्रयास गर्छौँ । सायद त्यसै भएर हुनुपर्छ माता पृथिवीले हामीलाई यति बढी माया गर्नुभएको छ कि हाम्रा जराहरूलाई निकै तलसम्म पु¥याई दिनुभएको छ, निकै परसम्म पुग्ने ठाउँ दिनुभएको छ । तिनै जराहरूले हामीलाई टिकाउने र बचाउने गर्दै आएका छन् ।’ पीपल वृक्षले दीर्घ जीवनको रहस्य प्रष्ट्याए ।

‘यसको अर्थ दीर्घजीवी हुन उपकारी र सहनशिल हुनुपर्छ भन्ने हो ?’

‘हो बाबु ! ठीक भन्यौ ।’

‘त्यसो भए त्यस्तै गुणी र विवेकी मानिस कोही भए उनीहरूले पनि हजारौँ वर्षसम्म बाँच्न सक्नुपर्ने होइन र ?’

‘हुन त हो तर सक्दैनन् ।’

‘किन र ?’

‘किनकि मानिस जन्मदै काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य छवटा शत्रुले घेरिएका हुन्छन्, जसलाई तोडेर मरिकाटे बाहिर आउन सक्दैनन् । जति नै प्रयास गरे पनि कहीँ न कहीँ त्रुटी भइहाल्छ । यसको मार जीवनमा पर्छ र चाँडै नै संसारबाट बिदा हुन्छन् ।’ पीपलले मानवीय कमजोरी देखाए ।  

‘आभारी छु यसका लागि । अब मेरा बाबाआमाका बारेमा जान्न चाहन्छु । उहाँहरू कहाँ जानुभयो, कहिले जानुभयो, किन जानुभयो, कहिले आउनुहुन्छ यसबारेमा पनि केही बताई दिनुभए थप आभारी हुने थिएँ ।’ पिप्पलादले थप जिज्ञासा राखे ।

‘कहानी निकै मार्मिक छ बाबु ! सुन्नकै लागि पनि मन दह्रो पार्नुपर्छ तिमिले । तिम्रा बाबाको नाम दधिचि हो । आमालाई गभस्तिनी भन्थे । निकै उपकारी थिए उनीहरू । कसैले केही मागे सम्भव भएसम्म जे पनि दिएर पठाउँथे । एकपटक देवताका राजा इन्द्रलाई उनीहरूकै कारण वृत्रासुर नामक दानवले स्वर्गबाट निकालिदिका थिए । उसलाई जित्न तिम्रा बाबुको हाडबाट बनेको बज्र हान्नुपर्छ भन्ने कसैले सुनाइदिएकाले इन्द्र हाड माग्न आए तिम्रा बाबुसँग । इन्द्रको कुरा सुन्नासाथ चुपचाप प्राण त्यगिदिए तिम्रा बाबुले । त्यतिबेला तिमी आमा गर्भिणी थिइन् । उनको गर्भमा तिमी हुर्किरहेका थियौ । असमयमै पतिको मृत्यु भएको सहन सकिनन् र आफैँले पेट चिरेर तिमीलाई निकाली मेरो जिम्मामा छाडेर प्राण त्याग गरिन् । त्यतिबेलादेखि नै तिमी मेरै साथमा छौ । आफ्नै फल खुवाएर बचाएका हुँ तिमीलाई । पीपलको फल खाएर बाँचेकाले तिम्रो नाम पिप्पलाद रहेको हो ।’ विगत प्रष्ट पारी पीपल चुप भए । 

कहाली लाग्दो कहानी सुनेपछि पिप्पलादलाई साह्रै नरमाइलो लाग्यो । त्यहीँ बसेर निकै बेर रोए । बिस्तारै घुक्कघुक्क रोकियो तर सुक्कसुक्क धेरैबेरसम्म चलिरह्यो । सायद घाउ लगाउने र  निको पार्ने काम समयले नै गर्दो रहेछ क्यारे । पिप्पलादलाई यस्तै भयो । उनले बिस्तारै आफूलाई समाले र राताराता आँखा पार्दै मुड्की कसेर इन्द्रसित बदला लिने विचार गरे तर पीपल वृक्षले सम्झाई बुझाई गरी बदला लिनुभन्दा तपस्याको मार्ग लाग्न उत्तम हुने सल्लाह दिए । उनलाई पनि पीपलको सल्लाह ठीकै लाग्यो र बदलाको भावना छाडी कठोर तपस्या गर्न लागे, जसका कारण पछि गएर वेदमन्त्र द्रष्टा महर्षि बन्न सफल भए । अथर्ववेदको पिप्पलाद शाखाका द्रष्टा ऋषि उनै मानिएका छन् । हाल उनी त छैनन् तर कीर्ति पताका भने अनन्तमा अहिलेसम्म पनि फरफराई रहेको छ उनको ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.