शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महन्थको हस्ताक्षर अभियानमा राजेन्द्र महतोको अवरोध

शरतसिंह भण्डारी र निर्जला राउतले पनि हस्ताक्षर गरेनन्
बिहीबार, २३ वैशाख २०७८, ०८ : ०४
बिहीबार, २३ वैशाख २०७८

काठमाडौँ  । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघाउनका लागि सुरु गरेको हस्ताक्षर अभियान आफ्नै गुटभित्र अल्पमतमा पर्ने संकेत देखिएको छ । महन्थ ठाकुर पक्षकै नेताहरुमा अन्तरविरोध देखिएपछि ठाकुरको अभियानमा ‘ब्रेक’ लागेको छ ।

प्रधानमन्त्री ओलीलाई विश्वासको मतमा सघाउनुपर्ने अध्यक्ष ठाकुरको अभियानमा साथ दिइरहेका जसपाका वरिष्ठ नेता राजेन्द्र महतोका साथै कार्यकारिणी सदस्यहरु शरतसिंह भण्डारी र निर्जला राउतले हस्ताक्षर गरेका छैनन् ।

जसपाका अध्यक्ष ठाकुरले त्यो हस्ताक्षरलाई दुरुपयोग गर्ने सम्भावना नेता महतोले देखेपछि हस्ताक्षर गर्न इन्कार गरेको महतो निकट एक नेताले बताए । जसपाका अध्यक्ष ठाकुरले दुईटा पत्रमा हस्ताक्षर गराइरहेका छन् ।

एउटा पत्रमा लुम्बिनीमा पार्टीका प्रदेश सांसद तथा पार्टीका नेतामाथि गरेको कारवाही फिर्ता र प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने विषयमा निर्णय लिन हस्ताक्षर गराएका छन् भने अर्को पत्रमा अध्यक्ष ठाकुरले पार्टीमा एकल अधिकार लिनका लागि हस्ताक्षर गराएका छन् ।

एकल अधिकारका लागि हस्ताक्षर गराउँदा वरिष्ठ नेता महतो झस्केका छन् । अध्यक्ष ठाकुरले पार्टीमा एकल अधिकार लिएपछि त्यसको दुरुपयोग गर्न सक्ने आशंका महतोको छ । एकल अधिकारको प्रयोग गर्दै महन्थ ठाकुर संसदीय दलको नेता पनि बन्न सक्ने नेता महतोको बुझाइ रहेको उनी निकट नेताले बताए ।

जसपामा महतो संसदीय दलका नेता बन्न चाहेका छन् । प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने अभियानमा सघाउनका लागि महतोले आफूलाई संसदीय दलको नेता बनाइदिन शर्त राखेको ठाकुर निकट एक नेताले दाबी गरे ।

जसपामा महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतो संसदीय दलका नेताका दाबेदार छन् । संसदीय दलको नेता बनाउनका लागि महतोले महन्थ ठाकुरको साथ खोजेका छन् । तर, ठाकुरले हालसम्म साथ दिने प्रतिवद्धता जनाएका छैनन् । संसदीय दलको नेता बनाउने निश्चित नभएसम्म हस्ताक्षर नगर्ने अडानमा महतो रहेको बताइएको छ ।

उता, शरतसिंह भण्डारी पनि हस्ताक्षर अभियानको विपक्षमा रहेको पाइएको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुरले चलाएको हस्ताक्षर अभियान नै गलत हो र यसले पार्टीलाई एक रहन दिँदैन र जनतामा पनि गलत सन्देश जान्छ भन्दै भण्डारीले हस्ताक्षर गर्न नमानेको स्रोतले बतायो ।

भण्डारीले केही दिन पहिले रातोपाटीसँग कुरा गर्दै भनेका थिए, ‘जसपा नेपाल तटस्थ बस्नुपर्छ, न प्रधानमन्त्री ओलीको पक्षमा, न माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पक्षमा समर्थन जनाउनुपर्छ । जसले जसपा नेपालको माग पूरा गर्छ, उसका बारेमा के गर्ने विषयमा पार्टीमा छलफल गर्नुपर्छ, छलफलबाट जे निर्णय हुन्छ, त्यसका आधारमा अगाडि बढ्नुपर्छ । अहिले पार्टीमा जे भइरहेको छ, त्यो गलत भइरहेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप