कर्णाली प्रदेश अस्पतालमा तत्कालका लागि अक्सिजन अभाव टर्यो
केहीदिन अघिसम्म कर्णाली प्रदेश अस्पताल कालागाउँमा अक्सिजनको चरम अभाव थियो । जसका कारण आफ्ना बिरामीलाई बचाउनका लागि आफन्तले नेपालगञ्जदेखि आएको अक्सिजन सिलिण्डर खोसाखोस गर्नुपर्ने अवस्था थियो ।
तर, प्रदेश अस्पतालमा अब भने अक्सिजन उत्पादन सुरु गरिएको छ । केहीदिन अघि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अग्रसरतामा अस्पतालमा थन्किएको अक्सिजन प्लान्ट सञ्चालनमा ल्याईएसँगै अक्सिजन उत्पादन सुरु गरिएको हो ।
अहिले प्लान्टबाट अक्सिजन उत्पादन सुरु भएपछि कोरोना संक्रमितको उपचारमा केही राहत मिलेको अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेल बताउँछन् ।
पौडेलले अक्सिजनको अभावमा मरिन्छ कि भन्ने डर, चिन्ता नलिन सबैलाई आग्रह गरेका छन् । उनले भने, ‘हाललाई कोरोना संक्रमितको उपचारमा केही सहज भएको छ ।’
नयाँ अक्सिजन प्लान्टबाट दैनिक एकसय सिलिन्डर उत्पादन हुन्छ भने पुरानो प्लान्टले दैनिक पाँचदेखि दश वटा सिलिन्डरसम्म अक्सिजन उत्पादन गर्छ ।
‘तत्कालका लागि पर्याप्त अक्सिजन छ,’ डा. पौडेलले भने, ‘अक्सिजन पाइँदैन कि भनेर नआत्तिन सबैलाई म आग्रह गर्दछु ।’
दुई प्लान्टबाट अक्सिजन उत्पादन र दैनिक एक सयवटा अक्सिजन सिलिण्डर नेपालगञ्जदेखि नियमित आयात हुने गर्दा उपचारमा सहजता भएको बताए ।
उनले भने, ‘अहिले अक्सिजन चाहिने बिरामी भनेको कुल संक्रमितको ४ प्रतिशतलाई मात्र हो । बाँकी ९६ प्रतिशतलाई सामान्य लक्षणमात्र देखिएको पाइएको छ ।’
डा. पौडेलले कोराना संक्रमण हुँदैमा हत्तोत्साहित नहुन पनि सर्वसाधारणलाई आग्रह गरेका छन् ।
संक्रमित बढे उत्पादित अक्सिजनले पुग्दैन
अस्पतालमै अक्सिजन उत्पादन हुन थालेपछि तत्कालका लागि अभाव त टरे पनि संक्रमण बढ्दै गएमा भने चुनौती थपिने देखिन्छ । किनकी उत्पादित अक्सिजनले ५०÷६० जना संक्रमितलाई मात्र पुग्छ । पछिल्लो समय दिन प्रतिदिन कोरोना संक्रमितको संख्या निकै बढेको छ ।
डा. पौडेलले भने, ‘वीरेन्द्रनगरमा कोरोना संक्रमित प्रतिदिन बढिरहेको छ, संक्रमित दर अनुसार अझै दैनिक एक सय सिलिण्डर नेपालगञ्जबाट आपूर्ति गर्नुपर्छ । बढ्दो संक्रमणको दर र अन्य बिरामीको उपचारका लागि नेपालगञ्जबाट अक्सिजन आपूर्ति कायमै रहने सम्भावना देखिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोदावरीमा एमालेको कुम्भ मेला : विकसित पार्टी निर्माणमा स्पष्ट दिशानिर्देशको अपेक्षा
-
डर्ट टेम्पलले सुरु गर्यो डिटी९७७ एमएक्स च्याम्पियनसिप
-
तीन जना मृत अवस्थामा फेला
-
दाइको हत्या गरेको अभियोगमा पक्राउ
-
खड्काल्याण्डले प्रयोग गरेको स्काउटको जग्गा र भवनमा सिल गरेर सरकारले आतङ्क फैल्यायो : सांसद खड्का
-
महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान शुभारम्भ