मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेश प्रमुखबाट कार्यकर्ताको जस्तै अभिव्यक्ति आयो : दलहरु

बुधबार, २२ वैशाख २०७८, २१ : ०५
बुधबार, २२ वैशाख २०७८

गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सीता पौडेलले संवैधानिक मर्यादा नाघेर अभिव्यक्ति दिएको भन्दै दलहरुले आलोचना गरेका छन् । पदभार ग्रहण गरेलगत्तै प्रदेश प्रमुख पौडेलले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावको औचित्य सकिएको र सभामुख नेत्रनाथ अधिकारीको राजीनामा माग्नुपर्ने समय आएको बताएकी थिइन् । पदभार ग्रहणकै दिन उनी आफ्नो अभिव्यक्तिलाई लिएर विवादमा तानिएकी हुन् । 

उनले तल्लोस्तरका कार्यकर्तालेसमेत व्यक्त गर्न नसुहाउने खालको अभिव्यक्ति दिएको भन्दै दलहरुले आपत्ति जनाएका छन् ।

काँग्रेस संसदीय दलका नेता कृष्णचन्द नेपाली पोखरेलले नवनियुक्त प्रदेश प्रमुख पौडेलले सभामुख र संसदीय कार्यसूचीमाथि गलत अभिव्यक्ति दिएको बताए । उनले प्रदेश प्रमुखजस्तो गरिमामय पदमा आसिन व्यक्तिले सामान्य कार्यकर्ताले समेत भन्न नसुहाउने अभिव्यक्ति दिएको टिप्पणी गरे ।

‘प्रदेश प्रमुखजस्तो सम्मानित र गरिमामय पदमा नियुक्त भएको व्यक्तिले यस्तो तल्लोस्तरमा झरेर अभिव्यक्ति दिनुभयो, यो पटक्कै सुहाउने कुरा होइन,’ उनले भने, ‘उहाँले दिएको अभिव्यक्तिले प्रदेश प्रमुखको मर्यादा र गरिमालाई घटाएको छ ।’

नेता पोखरेलले संविधानको धज्जी उडाउँदै आफ्नो क्षेत्राधिकार बाहिर गएर प्रदेश प्रमुखले अभिव्यक्ति दिएको आरोप लगाए ।

राष्ट्रिय जनमोर्चा, गण्डकी प्रदेशका अध्यक्ष शंकर बरालले नवनियुक्त गण्डकी प्रदेश प्रमुखले पार्टी कार्यकर्ताको जस्तो व्यवहार देखाएको आरोप लगाए । उनले प्रदेश प्रमुख स्वतन्त्र र तटस्थ बन्नु पर्ने भूमिकालाई बिर्सिएर एउटा पार्टीको कार्यकर्ता बनेर संविधान विपरीत अभिव्यक्ति दिएको बताए ।

​बरालले प्रदेश प्रमुख पौडेलले सभामुख नेत्रनाथ अधिकारीको राजीनामा र मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध प्रस्तुत अविश्वासको प्रस्ताव निस्क्रिय भएको भनी दिएको अभिव्यक्तिले संविधानको धज्जी उडाएको बताए ।

‘उहाँले सभामुख र प्रदेश सभामा विचाराधीन अविश्वासको प्रस्तावका बारेमा जुन अभिव्यक्ति दिनुभयो, त्यो संवैधानिक व्यवस्थाका विरुद्ध छ,’ उनले भने, ‘संवैधानिक रुपमा प्रदेश प्रमुखले राष्ट्रपतिको प्रतिनिधिका रुपमा संविधानको रक्षा तथा कार्यान्वयनका लागि तटस्थ भूमिका खेल्नुपर्ने उल्लेख छ तर, उहाँले त्यो हेक्का नराखी कार्यकर्ता बन्नु भयो ।’

नेकपा माओवादी केन्द्रका सांसद दिपक कोइरालाले संवैधानिक मर्यादामा बस्न प्रदेश प्रमुख पौडेललाई चेतावनी दिए । उनले संविधान र कानुनले निर्देशित गरे अनुसार सबै आ–आफ्नो मर्यादामा बस्नुपर्ने बताए । ‘उहाँले जसरी बक्सिसमा पद पाउनुभयो, सभामुख त्यसरी बक्सिसमा पाएको पद होइन,’ उनले भने, ‘आफ्नो पदीय गरिमा कायम राख्नु होला, सभामुखको पद तपाइँको जस्तो सेरेमोनियल होइन ।’

उनले प्रदेश प्रमुख पौडेलको अभिव्यक्ति एउटा सामान्य कार्यकर्ताको भन्दा तल्लो स्तरको भएको आरोप लगाए ।

जनता समाजवादी पार्टीका संसदीय दलका नेता हरिशरण आचार्यले प्रदेश प्रमुखजस्तो जिम्मेवार व्यक्तिले यस्तो तुच्छ खालको अभिव्यक्ति दिन नसुहाउने बताए । उनले प्रदेश प्रमुखको यस अभिव्यक्तिले संविधानमा व्यवस्था गरिएको अभिभावकीय गरिमा घटाएको बताए । ‘तपाइँलाई संविधानमा कानुनको रक्षा गर्ने अभिभावक मानेको छ, चौबिस घण्टा पनि आफ्नो पदीय मर्यादामा बस्न नसक्नेलाई हामी कसरी अभिभावक मानौं ?’ उनले भने ।

आचार्यले प्रदेश प्रमुखको यसखालको अभिव्यक्तिले भोलिका दिनमा कस्तो भूमिका निर्वाह हुन्छ भन्ने प्रष्ट्याइएको बताए ।

एमाले पार्टीमा लामो समयसम्म रहेर विभिन्न जिम्मेवारी निर्वाह गर्दै आएकी पौडेलले नयाँ जिम्मेवारीको आँकलन नै नगरी सत्तारुढ दलकै भाषा बोलेपछि विवादमा परेकी हुन् । सभामुखले ठूलो दलसँग छलफल नै नगरी बैठक स्थगित गरेको भन्दै एमालेका सांसदले सभामुखको राजीनामा माग्दै आएका छन् । सभामुख अधिकारीले भने आफू प्रदेशसभाको जिम्मेवार व्यक्ति भएकाले निर्णायक भनिएका सांसद हराएको उजूरी परेपछि बाध्य भएर आफूले उक्त कदम चालेको बताउँदै आएका छन् ।

मुख्यमन्त्री गुरुङ विरुद्ध संसदमा पेस भएको अविश्वास प्रस्तावमाथि मतदान हुने दिन वैशाख १५ गते राष्ट्रिय जनमोर्चाका एक सांसद सम्पर्कविहीन भएका थिए । आफ्नो एक सांसद सम्पर्कविहीन भएको भन्दै जनमोर्चाकी सचेतक पियारी थापाले अवस्था सार्वजनिक नहुँदासम्म संसद् रोक्न माग गर्दै सभामुख समक्ष निवेदन दिएकी थिइन् । त्यसपछि सभामुख नेत्रनाथ अधिकारीले अनिश्चितकालका लागि संसद् स्थगित गरेका थिए ।

सभामुखले संसदको बैठक रोकेपछि प्रदेशमा सत्तारुढ दल एमाले उनीसँग चिढिएको छ ।

यसैबीच विपक्षी दलका नेताहरुले विज्ञप्ति समेत  निकालेर प्रदेश प्रमुखको आलोचना गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरहरि पौड्याल
नरहरि पौड्याल
लेखकबाट थप